राष्ट्रव्यापी प्रथम खुला पुरुष भलिबल सुरु

Bhaktapur-Vollyblभक्तपुर, ८ वैशाख । नयाँवर्षको अवसरमा मध्यपुर खेलकुद समूहले शनिबारदेखि मध्यपुरथिमिमा राष्ट्रब्यापी प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको पहिलो खेल विश्वविद्यालय खेलकूद महासंघ र सशस्त्र प्रहरी बल गुहेश्वरी गणबीच भएकोमा महासंघले गणलाई २५—१५ र २५—१८ को सोझो सेटले पराजित गरेको छ । प्रतियोगितामा महासंघका खेलाडी नरेन्द्र महतो म्यान अफ द म्याच घोषित भएका छन् । शनिबारै हुने भनिएको दोस्रो खेल आयोजक मध्यपुर खेलकुद समूह नीलो र भक्तपुर बहुमुखी क्याम्पसबीचको खेल भने भारी वर्षाका कारण स्थगित भएको प्रतियोगिताको सहआयोजक बोडे स्पोर्टस् क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतीले जानकारी दिए ।

राष्ट्रव्यापी प्रतियोगितामा देशभरका विभिन्न नौ वटा समूहले भाग लिएका छन् । यसमा मध्यपुर खेलकुद समूह रातो, शंकरदेव क्याम्पस, चित्रपुर युवा क्बल, पद्म उच्च मावि, सशस्त्र प्रहरी गण गुह्येश्वरी, विश्व विद्यालय खेलकुद महासंघ, मध्यपुर खेलकुद समूह नीलो, जनप्रेमी उच्च मावि र भक्तपुर बहुमुखी क्याम्पसको सहभागिता रहेको प्रचारप्रसार समितिका संयोजक एवं मध्यपुर पत्रकार मञ्चका अध्यक्ष रामकृष्ण शंखदेवले बताए । वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूहलाई क्रमश: नगद रु. २५ हजार, रु. १५ हजार, रु. १० हजार र रु. ५ हजारसहित ट्रफी, मेडल र प्रशंसापत्र प्रदान गरिने भएको छ ।

प्रतिक्रिया