दाहालद्वारा चिनियाँ लगानीकर्तालाई निम्तो

काठमाडौं : चीन भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यहाँका उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
चीनको सेन्जेन सहरका उद्योगी–व्यवसायीसँग शुक्रबार भएको भेटमा दाहालले नेपालको जलविद्युत्, कृषि, विमानस्थल, सडक र अन्य उद्योग तथा व्यवसायमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालको सरकार तथा राजनीतिक दल लगानीको वातावरण बनाउन तत्पर रहेको दाहालले बताएका थिए । अध्यक्ष दाहालले नेपालको आर्थिक क्षेत्रको विकासमा सहयोग गर्न विशेष आग्रह गरेको दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।
यसअघिको एमाओवादी नेतृत्वको सरकारले वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्ड गठन गरेको उल्लेख गर्दै उनले लगानीको वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । दाहालको आग्रहलाई चिनियाँँ उद्योगी तथा व्यवसायीले सकारात्मक रूपमा लिएको र नेपालमा लगानी गर्न आफूहरू तयार रहेको बताएका थिए ।
चीनले द्रुतगतिमा आर्थिक विकास गरेको सहर सेन्जेन सहर पछिल्लो समय चीनको प्रमुख औद्योगिक सहरका रूपमा विकसित छ । चिनियाँँ जनवादी क्रान्तिका नेता माओ त्सेतुङको निधनपछि तत्कालीन नेता देङ सियाओ पिङले खुला अर्थतन्त्रको घोषणा गरेपछि आर्थिक विकासको दृष्टिले सेन्जेन सहरलाई नमुना सहरका रूपमा लिने गरिन्छ । (सौस)

प्रतिक्रिया