२१ दिनपछि अनशन तोडे तिवारीले

राजविराज, ५ वैशाख । भ्रष्टाचार अन्त्य, मधेसमा लोकसेवा आयोगका शाखा कार्यालय स्थापनालगायत १० बुँदे मागसहित सिडिओ कार्यालय, सप्तरीअघि २१ दिनदेखि आमरण अनशन बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास कुमार तिवारीले बुधबार अनशन तोडेका छन् । सिँचाइ तथा ऊर्जा मन्त्री उमाकान्त झासँगको वार्तापछि तिवारीले अनशन तोडेका हुन् ।

वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मन्त्री झाले जुस खुवाएर तिवारीको अनशन तोडाएका हुन् । मन्त्रीसँग मात्र वार्ता गर्ने अडान लिएपछि मन्त्री झा बुधबार सप्तरी आएका हुन् । मन्त्री झाले तिवारीका मागप्रति सरकार सकारात्मक भएको जनाउँदै केही माग तत्काल पूरा गर्ने आश्वासन दिए । बाँकी माग पूरा गर्न आवश्यक प्रक्रिया आरम्भ गर्ने जनाएपछि अनशन तोड्न तिवारी सहमत भएको सिडिओ हरिराज पन्तले जानकारी दिए ।
वार्तामा सरकारका तर्फबाट मन्त्री झा, क्षेत्रीय प्रशासक नेपाल, सिडिओ पन्त, एसपी सञ्जयसिंह बस्नेत आदि सहभागी थिए भने तिवारीका तर्फशाट अधिवक्ता अशोक चौधरी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, मानवअधिकारकर्मी जंगबहादुर सिंह, महिला अधिकारकर्मी आभासेतु सिंह, पत्रकार तथा अधिवक्ता विष्णु मण्डललगायत उपस्थित थिए । यसअघि बुधबार क्षेत्रीय प्रशासक जनार्दन नेपाल नेतृत्वको सरकारी वार्ता टोली तिवारीले मन्त्रीसँग मात्रै वार्ता गर्ने अडान राखेपछि फिर्ता भएको थियो ।

प्रतिक्रिया