कमलरी मृत्युसम्बन्धी अनुसन्धान माग गर्दै बन्द

Dang-Lamahiदेउखुरी, ४ वैशाख । कमलरी बसेकी सृजना चौधरीको हत्या गरिएको भन्दै अधिकारवादी संघसंस्थाले घटनाको अनुसन्धानगरी दोषीमाथि कारबाही माग गर्दै मंगलबार र बुधबार दाङसहित पश्चिमका पाँच जिल्ला बन्द आह्वान गरेका छन् । बन्दको पहिलो दिन मंगलबार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भयो ।

यी चार जिल्लाअन्तर्गतको पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि सवारीसाधन चलेनन् । पूर्वबाट हिँडेका सवारीसाधन भालुवाङभन्दा पूर्व नै रोकिएका छन् । बजार, शिक्षण संस्था पनि बन्द छन् ।
२० भन्दा बढी अधिकारवादी संघसंस्थाले सृजनाको मृत्युसम्बन्धी घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग राख्दै आन्दोलनको पहिलो चरणअन्तर्गत पाँच जिल्लामा बन्द घोषणा गरिएको संयुक्त संघर्ष समितिका अध्यक्ष एवं थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष तेजमान चौधरीले बताए । ‘घटनाको अनुसन्धान फितलो भयो, हामीले घटनाको सत्यतथ्य छानबिनको माग राख्दै बन्द गरेका छौँ,’ उनले भने, ‘आरोपीलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गर्न नसक्नु विडम्बनापूर्ण हो ।’
ललितपुर, चाकुपथस्थित इन्जिनियर युवराज पौडेलको घरमा दुई वर्षदेखि कमलरी बस्दै आएकी सृजनाको आगो लगाएर हत्या गरिएको आरोप आन्दोलनकारीले लगाएका छन् । उनीहरूले सातबुँदे माग अघि सारेका छन् । सृजनाको हत्यामा संलग्नको पहिचान गरी हदैसम्म कारबाही गर्नुपर्ने, घटनालाई ढाकछोप गर्न भइरहेको राजनीतिक रोकिनुपर्ने, कमलरी बालश्रम ऐन तुरुन्त घोषणा गरिनुपर्ने, बेपत्ता कमलरीको खोजबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्नेलगायत माग राखिएको छ ।
बन्द सफल पार्न दाङ देउखुरीका मुक्त कमलरी सडकमा उत्रिएका छन् । बन्दको पूर्वसन्ध्यामा सोमबार बेलुका उनीहरूले लमही बजारमा प्रदर्शन गरेका थिए । कमलरी ओसारपसारमा संलग्नलाई कानुनबमोजिम कारबाही माग गर्दै मुक्त कमलरी विकास मञ्चले चैत १८ गते पाँच जनाविरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिएको थियो ।
कमलरी पठाउने सृजनाकी आमा द्रौपदी, बुबा गंगु, स्थानीय सहयोगी पार्वती गिरी, लालमणि शर्मा र कमलरी राख्ने युवराज पौडेलविरुद्ध जाहेरी दर्ता गरे पनि हालसम्म कारबाही नथालिएको मुक्त कमलरी विकास मञ्चका प्रबन्धक फकला थारूले बताए । ‘हामीले जाहेरी त दियौँ तर प्रहरीले कारबाही अघि बढाएको छैन,’ थारूले भने । पूर्व कमलरीको साझा संस्था मुक्त कमलरी विकास मञ्चका अनुसार हालसम्म पश्चिम तराईका पाँचजना कमलरीको यस्तै तरिकाले मृत्यु भएको छ । उनीहरूको हत्या भएको आशंका गरिए पनि घटना दबाउने गरिएको मञ्चकी केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले बताइन् । हालसम्म पश्चिम तराईका २६ कमलरी बेपत्ता छन् भने २८ जना यौन शोषणमा परेको उनले बताए । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अझै पनि ६ सय ४२ कमलरी रहेको र उनीहरू कुनै न कुनै प्रकारको शोषणमा रहेको मञ्चले जनाएको छ ।
सृजना चौधरीको जलेर मृत्यु भएको विषयमा जिल्ला स्तरमा घटनाको अध्ययन गर्न गठित अध्ययन समितिले अध्ययन पूरा गरेको छ । केही दिनमै प्रतिवेदन सार्वजनिक गरिने अध्ययन समितिकी संयोजक उर्मिला चौधरीले जानकारी दिइन् । घटनाको अध्ययन गर्न टोली घटनास्थल पुगेको थियो ।
कमलरी मृत्युको शृंखला
– २०६९ चैत १४ गते दाङको लालमटिया–८ निवासी १२ वर्षीया सृजना चौधरीको ललितपुर चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा कमलरी बसेको अवस्थामा शरीरमा आगो लागेर मृत्यु ।
-२०६८ भदौ १ गते कैलालीको चौमाला–८ ददबारी मुक्तकमैया शिविरकी २० वर्षीया मेघी चौधरीको काठमाडौंस्थित बालकृष्ण शाहको घरमा आफैँ शरीरमा आगो लगाएर मृत्यु ।
-२०६७ वैशाख १८ गते कैलालीकी १५ वर्षीया उर्मिला राना थारुको धनगढीस्थित दीपक विष्टको घरमा झुन्डिएर आत्महत्या ।
-२०६५ वैशाख २ गते टीकापुर–९ वनगाउँ कैलालीकी १५ वर्षीया सरिता चौधरी दाङ लमहीका इन्द्रमणि खनालको घरमा झुन्डिएर आत्महत्या ।
– २०६४ पुस ३० गते दाङ रामपुरकी सीमा होजा मगरको दाङ लमहीस्थित दंगाली होटलमा झुन्डिएर आत्महत्या ।

प्रतिक्रिया