पाँच दिने सडक महोत्सव सुरु

Ilamइलाम, १ बैशाख । महिला उद्यमीको अगुवाइमा इलाममा पाँच दिने सडक महोत्सव सुरु भएको छ । स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरी गरिबी न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले महिला उद्यमी विकास इलामले महोत्सव आयोजना गरेको हो । शनिबारदेखि सुरु भएको यो महोत्सव पाँच दिनसम्म चल्ने आयोजकले बताएका छन् ।

महोत्सवमा विभिन्न ३० वटा स्टल राखिएको छ । महोत्सवमा महिला उद्यमीले तयार गरेको विभिन्न वस्तु, मौलिक तथा आधुनिक खानाका परिकार, हस्तकलाका सामग्री तथा स्थानीय उत्पादनको प्रदर्शनी रहेको आयोजक समितिका संयोजक दिव्य भट्टराईले जानकारी दिइन् । स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गरी आयआर्जनमा वृद्धि गराई महिलाहरूको क्षमतालाई विकास गर्ने, पर्यटन उद्योग विकासमा सहयोग गर्न, धार्मिक, सांस्कृतिक तथा पर्यटनक्षेत्रको प्रचार–प्रसारमा समेत जोड दिएको छ । महोत्सवको ३५ हजार स्थानीय तथा वाह्य पर्यटकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवमा ६० लाख रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
इलाममा अघिल्लो वर्षसमेत महिलाले सडक महोत्सव आयोजना गरेका थिए । सो महोत्सव नेपालकै नमुना भएको महिला उद्यमी, उद्योग वाणिज्य संघ इलामका अध्यक्ष सुशीला सापकोटाले बताइन् । तीन दिनसम्म चलेको सो महोत्सवमा ३० लाखको कारोबार भएको थियो । उक्त महोत्सवको २५ हजार पर्यटकले अवलोकन गरेका थिए ।

प्रतिक्रिया