सहमतीय सरकारपछि मात्रै निर्वाचन मिति : विप्लव

Netrabikram chandपाल्पा, २८ चैत । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संविधानसभा विघटनको समीक्षा गरेर मात्रै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमतिविना बनेको सरकारले गराउने निर्वाचनको कुनै अर्थ नरहने उनको भनाइ छ ।

मंगलबार आयोजित क्रान्तिकारी पत्रकार महासंघ मगरात प्रथम राज्य सम्मेलन समारोहमा नेता विप्लवले नेतालाई जनताले कुकुरले झम्टेझैँ झम्टने वातावरण बन्दै गएको जिकिर गर्दै यसप्रति गम्भीर बन्न सचेत गराए । ‘जनताले जसलाई नेता ठानेको छ, उसैले सही नेतृत्व गर्न नसक्दा समस्या थपिँदै गएको छ । अहिले नेताबीच मात्र लडाइँ छ, यदि सहमतिविनै निर्वाचनतर्फ होमिने हो भने जनताबीच पनि लडाइँ सुरु हुन्छ,’ उनले भने । संविधानसभा विघटन हुनुको कारणबारे समीक्षा गरेर मात्रै सहमतीय सरकार गठन गरी निर्वाचन मिति तोक्न उनले माग गरे । ‘चुनाव मात्रै समाधानको विकल्प हुँदै होइन, उच्चस्तरीय सहमति समस्या समाधानको प्रमुख विकल्प हो,’ नेता विप्लवले भने ।
कार्यक्रममा माओवादी मगरात समिति संयोजक सन्तोष बुढामगरले देश जतिबेला संकटतर्फ धकेलिन्छ, त्यो समय पत्रकारहरूको अहम् भूमिका रहने बताए । कार्यक्रममा पाल्पा, रोल्पा, प्युठानसहित मगरात राज्य समितिका ९ जिल्लाका नेकपा–माओवादी निकट झन्डै १ सय प्रतिनिधि पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया