सुरेन्द्र र जमुनालाई रूपक स्मृति अवार्ड

काठमाडौं २७, चैत । अखिल नेपाल फुटबल संघले सोमबार १० फुटबल व्यक्तित्वलाई रूपक स्मृति अवार्डबाट सम्मानित गरेको छ । सम्मानित हुनेमा राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर सुरेन्द्र तामाङ र महिला राष्ट्रिय टोलीकी कप्तान जमुना गुरुङ रहेका छन् । अन्य व्यक्तित्वमा पूर्व फिफा रेफ्री सुरेन्द्र सिंखाकार, पूर्वसहायक फिफा रेफ्री विनोद केसी र किरण गिरी तथा रेफ्री कल्पना शर्पा रहेका छन् । यस्तै, पदम कृष्ण श्रेष्ठ, भीम थापा, शिवभक्त जोशी र धनबहादुर बस्नेत छन् । प्रत्येकले १ लाख रुपियाँ र मोटरसाइकल पुरस्कार पाए । एमाले नेता खड्ग ओलीले पुरस्कार प्रदान गरे ।

५० को दशकको अन्त्यदेखि नेपाली फुटबलमा उदाएका सुरेन्द्र तामाङले क्लब जीवनको महत्त्वपूर्ण समय थ्री–स्टारमा बिताए । दायाँ भागबाट तीव्र गतिमा बल अघि बढाउने र साँघुरो कोणबाट पनि गोल गर्न सक्ने सुरेन्द्रका विशेष खुबी थिए । उनको यसै खुबीका कारण थ्री–स्टार क्लबले २०६१ मा लिग उपाधि जितेको थियो ।
राष्ट्रिय टोलीमा १३ वर्ष बिताएकी मोरंगकी जमुना ढाकामा तीन वर्ष अघि भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिताबाट स्टारका रूपमा उदाएकी थिइन् । जमुनाको नेतृत्वमा नेपाल उपविजेता बनेको थियो । त्यसपछि उनकै नेतृत्वमा नेपाल दुईपटक साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता भइसकेको छ । फिटनेस, परिपक्वता र क्लिन फिनिसिङ उनका विशेषता रहे ।

प्रतिक्रिया