‘एमाओवादी चुनाव चाहँदैन’

Sun-Umlकाठाडमौं, २७ चैत । एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी लगायत केही शक्तिहरु एकल जातीय प्रदेश बनाउने सुनिश्चितता विना संविधानसभाको चुनाव हुन नदिन सक्रिय भएको वताएका छन् । चुनावी योजना लगायतका विषयमा छलफल गर्न सोमवार पार्टी मुख्यालयमा सुरु भएको पोलिटब्युरो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै खनालले एकलजातीय राज्य निश्चित हुने अवस्था बाहेक चुनाव हुन नदिने षडयन्त्र भइरहेकाले चुनाव गर्न चुनौतीपूर्ण रहेको वताए ।

खनालले जातीय संबेदना भड्काएर संविधान बन्न नदिने शक्तिहरु नै चुनावको पक्षमा ओठेभक्ति देखाएर चुनाव हुन नदिने षडयन्त्रमा लागेको खनालको दावी थियो । बैठकमा मौखिक रुपमा प्रतिवेदन प्रस्तुत गर्दै खनालले अघिल्लो संविधानसभा चुनावअघि दिएका आश्वासनवाट जनता आक्रोशित भएपछि एमाओवादीले जातीय संबेदना भड्काउने र मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता धरापमा पारेर पनि त्यसवाट लाभ लिने ध्याउन्नमा लागेको वताएका हुन् । ‘बाहिर शीघ्र चुनाव चाहेजस्तो देखाउने र भित्र भित्रै जातीय भड्काउ उपयोग गर्ने सुनिश्चित वातावरण नबनेसम्म चुनाव हुनै नदिने षडयन्त्र भइरहेको छ’ खनालको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो । उनले चुनाव हुन नदिने षडयन्त्र असफल पार्न अहिले चुनावको विरोधमा रहेका दलहरुसँग सार्थक संवाद गरेर उनीहरुलाई पनि चुनावमा सामेल गर्नु पर्ने, चुनावका प्राविधिक र कानुनी तयारीका लागि निर्वाचन आयोगलाई सहयोग गर्ने पार्टीलाई चुनावमा एकतावद्ध बनाएर होम्ने योजना बनाउने र लोकतन्त्र, अग्रगमन र राष्ट्रिय एकताका पक्षधर शक्तिहरुसँग सहकार्य गर्नु पर्ने वताएका थिए ।
अघिल्लो चुनावमा एमाले कमजोर भएकैले हिंसा र अधिनायकवादी शक्ति हावी भएको र त्यसैले संविधान बन्न नदिएको वताउँदै खनालले उग्रवामपन्थी र उग्रराष्ट्रवादी आवरण बोकेकै शक्तिले राष्ट्रियतालाई गम्भीर अवस्थामा पुर्‍याएको खनालको भनाई थियो । ‘अव एमालेलाई शक्तिसाली बनाएर लोकतन्त्र, सामाजिक आर्थिक परिवर्तन र राष्ट्रिय एकता सुनिश्चित गरी संविधान निर्माणको दायित्व पुरा गर्नु पर्छ र राष्ट्रिय एकतामा वाधक देखिएका मुलुकको सार्वभौम अस्तित्व समाप्त पार्न गर्न खोज्ने शक्तिलाई परास्त गर्नु पर्छ’ खनालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । चुनाव हुन नदिने षडयन्त्र असफल पार्न एमालेले अहिले विरोधमा रहेका दलहरुसँग पनि सार्थक संवाद गरेर चुनावका पक्षमा ल्याउनु पर्ने वताएका थिए ।
चुनावका लागि तीन महत्वपूर्ण तयारी आवश्यक रहेको खनालको भनाई थियो । ‘प्राविधिक र कानुनी तयारीका लागि निर्वाचन आयोगलाई सघाउनु पर्छ, चुनाव सम्पन्न गर्न पार्टीलाई एकतावद्ध बनाउनु पर्छ, चुनाव हुन नदिने षडयन्त्र असफल पार्न विरोधमा रहेका नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाल लगायतका दलहरुसँग पनि सार्थक संवाद गर्नु पर्छ । त्यो एमालेले नै गर्नु पर्छ ।’ एमाओवादीले जातीय संकिर्णतावादी र क्षेत्रीयतावादी वितण्डावाट लाभ लिंदै आएका शक्तिहरुलाई उपयोग गरेर राष्ट्रिय एकतालाई खण्डित बनाउने र त्यसैलाई अग्रगमनको भ्रम दिने वाटो समातेको खनालको भनाई थियो । ‘विगतमा एमाओवादीले के के नारा दियो, त्यो के के पुरा गर्‍यो र ऊ कुन बाटो हिंड्यो भन्ने कुरा पर्दाफास भएको छ’ खनालले अन्य शक्तिहरुप्रतिको विश्लेषण गर्दै भने, ‘अव त्यसले नचल्ने भएपछि जसरी जनताको जातीय संबेदना भड्काएर संविधानन बन्न दिएको थिएन त्यसैगरी जातीय भड्काउमा मुलुकलाई नपुर्‍याउन्जेल चुनाव हुन नदिने वाटोमा ऊ हिंडेको छ ।’ प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार खनालले चुनाव सुनिश्चित गर्न गर्नु पर्ने तयारीवारे खनालले प्रतिवेदनमा उल्लेख गरेका थिए । ‘चुनाव अपरिहार्य छ, अवरोधहरु पन्छाएर हामी त्यसैमा केन्द्रित हुनु पर्छ भन्ने खालको राजनीतिक प्रतिवेदन आएको छ’ ज्ञवालीले भने, ‘चुनाव सजिलो छैन तर, त्यसलाई सफल बनाउन गर्नु पर्ने तयारीवारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।’
खनालले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको पृष्ठभूमीवारे पनि चर्चा गरेका थिए । कहिल्यै सत्ता नछोड्ने र अधिनायकवादी योजना पुरा गर्ने वाटोमा हिंडेको एमाओवादीलाई सरकारवाट हटाएर राजनीतिक गतिरोधको गाठो फुकाउन र सहकार्यको राजनीति पुनस्र्थापना गर्न सरकार गठनले सहयोग पुर्‍याएको खनालको भनाई थियो । खनालले प्रस्तुत गरेको प्रतिवेदनमाथि सोमवार करिव एक दर्जन नेताहरुले धारणा राखेका थिए । उनीहरुले चुनावमा विचार मिल्ने अन्य शक्तिहरुसँगको सहकार्य गर्नु ठीक भए पनि त्यसअघि पार्टीको आन्तरिक एकता दरिलो बनाउनु पर्ने वताएका थिए । सोमवार प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, विष्णु रिमाल लगायतका नेताहरुले सुझाव दिएका थिए ।
छाडेकालाई फर्कन आह्वान

काठमाडौं । एमालेले विगतमा पार्टी छोडेका नेता/कार्यकर्तालाई ‘घर फर्कन’ आह्वान गरेको छ । पुराना कार्यकर्तालाई पार्टीमा फर्काउन तथा वामपन्थी दलहरुसँग एकताको पहल गर्न गठित कार्यदलले सोमबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी पुराना नेता कार्यकर्तालाई पार्टीमा फर्कन औपचारिक आग्रह गरेको हो ।
जनआन्दोलनका उपलब्धीहरु धरापमा पर्दै गएको र राष्ट्रियतासमेत जोखिममा पर्दै गएको भन्दै एमालेले सबैखाले हिंसा र अधिनायकवादको विरोध गर्ने समाजको शान्तिपूर्ण रुपान्तरण, लोकतान्त्रिक मुल्यमान्यता, सामाजिक आर्थिक रुपान्तरण, अग्रगामी परिवर्तन, सामाजिक सद्भाव र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिहरुको प्रभावशाली नेतृत्व निर्माण गर्न आव्हान गरेको छ ।
उसले विगतको संविधानसभामा हिंसा, अधिनायकवाद र निषेधको मान्यता बोकेको एमाओवादी पहिलो शक्तिका रुपमा अगाडी आउनु र नवउदारवादी तथा यथास्थितिवादी मान्यता बोकेको कांग्रेसबाट माओवादी अतिवादको सही प्रतिवाद हुन नसकेको वताउँदै शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको प्रयासले बाञ्छित सफलता पाउन नसकेको वताएको छ ।
राष्ट्रले सही बिचार बोकेको प्रभावशाली नेतृत्व खोजेको एमालेको अपिलमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष बामदेव गौतमले मुलुकलाई जातीय बिखण्डनमा लगेर समाप्त पार्न खोजिएका बेला देश बचाउन एमालेमा फर्कन आफुहरुले आग्रह गरेको वताए । ‘देशलाई जातीय लडाईंमा लगेर, विदेशी सामु आफ्ना स्वार्थको मोलमोलाइ भइरहेको बेला देश बचाउन मिलेर लागौं भनेर आव्हान गरेका हौं’ गौतमले भने, ‘एमाले कमजोर हुँदा देश कस्तो हुँदोरहेछ देखियो अव मिलेर देश बचाउँ भन्न खोजेका हौं ।’
एमाले कमजोर हुँदा हिंसा र अधिनायकवादी, परिवर्तन विरोधी र बिखण्डनवादी शक्तिहरु बलियो हुने समयक्रमले पुष्टि गरेको उल्लेख गर्दै परिवर्तन संस्थागत गर्न, राष्ट्रिय एकता र स्वधीनता सुनिश्चित गर्न एमालेलाई बैचारिक मात्रै होइन भौतिक र संगठनात्मक हिसावले पनि पहिलो शक्तिको रुपमा स्थापित गर्नु पर्ने उल्लेख गरिएको छ । ‘आउनुहोस्, आफ्नै पुरानो घर नेकपा (एमाले) मा फर्कनुहोस् र पार्टीलाई बलियो बनाउादै राष्ट्र, जनता र परिवर्तनको प्रवाहलाई सुनिश्चित बनाउन सक्रिय भूमिका खेल्नुहोस्’ एमालेले अपिल गरेको छ । यस्तै अन्य पार्टीमा आवद्धलाई पनि एमालेले एमालेमा आवद्ध हुन अपिल गरेको छ । ‘नेकपा (एमाले)मा आवद्ध भएर शान्ति, लोकतन्त्र, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियता सम्वद्र्धनको यो अभियानमा महत्वपूर्ण भूमिका खेल्नुहोस् । आजसम्म कुनै दलसाग आवद्ध नरहेका तर आफ्नो निष्ठा, विशेषज्ञता र भूमिकाद्वारा समाजमा सकारात्मक योगदान दिइरहनुभएका स्वतन्त्र व्यक्तित्वहरूलाई पनि समाज परिवर्तनका लागि सङ्गठित शक्ति र सामूहिक क्रियाशीलता आवश्यक छ भन्ने यथार्थ वोध गर्दै नेकपा (एमाले)मा आवद्ध हुन हामी आह्वान गर्दछौं’ एमालेले भनेको छ, ‘पार्टी यहाँहरूलाई न्यानो स्वागत गर्न र योग्यताअनुसारको जिम्मेवारी दिन तत्पर रहेको व्यहोरा समेत जानकारी गराउँछौं ।’
यस्तै लोकतन्त्र र परिवर्तनका पक्षधर बामपन्थी समुहहरुलाई पनि पार्टी एकीकरणको प्रक्रियामा सहभागि हुन एमालेले आमन्त्रण गरेको छ । यसअघि एमालेले विगतमा पार्टी छोडेका र महत्वपूर्ण जिम्मेवारी सम्हालेका पुराना नेता कार्यकर्तालाई पार्टीमा फर्काउन र बामपन्थी समुहहरुसँग संवाद गरी एकता गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा शंकर पोखरेल र युवराज ज्ञवाली सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरेको थियो । सोमवार बसेको पोलिटब्युरो बैठकले कार्यदलमा पोलिटब्युरो सदस्य पृत्वीसुब्बा गुरुङ र धर्मनाथ प्रसाद साहलाई थप गरी ५ सदस्यीय बनाएको छ ।
स्रोतका अनुसार कार्यदलले एमाओवादीमा लागेका आफ्ना पूर्व नेता तथा कार्यकर्ताहरुसँग एकसरो परामर्श सकेको छ । एमाओवादीमा महत्वपूर्ण जिम्मेवारीमा रहेका र स्वतन्त्र रहेका केहीसँग एक चरणको वार्ता सकारात्मक भएपछि पत्रकार सम्मेलन गरेर औपचारिक आव्हान गरेको हो । यस्तै केही साता भित्र केही बामपन्थी समुहसँग एकता गर्ने तयारी एमालेले गरेको स्रोतले वताएको छ ।

प्रतिक्रिया