गहुँ उत्पादनमा कमी

सप्तरी : वर्षा आभावमा धान उत्पादनमा ह्रास आएको सप्तरीमा यो वर्ष गहुँ उत्पादनमा कमी आएको छ । धान उत्पादनमा आएको कमीलाई गहुँबालीले पूर्ति गर्ने अनुमान गरिए पनि समयमा वर्षा नहँुदा गहुँ उत्पादनमा समेत कमी आएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
यो वर्ष कुल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा २७ हजार मेट्रिकटन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । गत वर्ष २२ हजार हेक्टर क्षेत्रफलमा ४८ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो ।
समयमै वर्षा नभएको र रोग कीराको प्रकोपसमेत बढी भएकाले गहुँ उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले जानकारी दिए । त्यसैगरी वर्षाको आभावमा अधिकांश खेतीयोग्य जग्गाहरू बाँझै रहे पनि सप्तरीमा यस वर्ष धानबाली उत्पादनमा समेत उल्लेख्य कमी आएको छ ।
धानका लागि खेतीयोग्य ७० हजार २ सय १९ हेक्टर क्षेत्रफलमध्ये यो वर्ष ३० हजार हेक्टर क्षेत्रफलमा मात्र धानखेती गरिएको र ५५ हजार मेट्रिकटन धानमात्र उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष ६३ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएकामा दुई लाख ४९ हजार ३७५ मेट्रिकटन धान उत्पादन भएको थियो ।
धान र गहुँ दुबै बालीको उत्पादनमा उल्लेखनीय रूपमा कमी आएकाले सप्तरीमा खाद्यान्न सङ्कट उत्पन्न हुनसक्ने आसंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया