कारागार घटनामा सिडिओ दोषी

राजविराज, २४ चैत । सप्तरी शान्ति समितिका संयोजक हरि मण्डलले २० चैतमा सप्तरी कारागारमा भएको झडप सिडिओ हरिराज पन्तको कमजोरीका कारण भएको आरोप लगाएका छन् । कारागारभित्र भएको चन्दा, मदिरा र गाँजाको आतंकका विषयमा जानकार हुँदाहुँदै पनि सिडिओले चासो नदिएकै कारण घटना भएको मण्डलको आरोप छ ।

मण्डलले शुक्रबार जारी गरेको प्रेसविज्ञप्तिमा कारगारभित्रका कैदीबन्दीले २१ मंसिरमै पत्रमार्फत कारागारमा रहेको विकृतिका विषयमा जानकारी गराएको र लगत्तै आफूलगायत सिडिओ पन्तसहितको टोलीले कारागार पुगेर जानकारी लिएको बताएका छन् । जानकारी पाएर पनि सिडिओ चुप लागेर बसेका कारण घटना भएको भन्दै घटनामा सिडिओ नै दोषी भएको आरोप मण्डलले लगाए ।
‘जेलर, प्रशासन, सहयोगी, चौकिदारलगायतले खुलेआम कैदीबन्दीबाट रकम असुलेको, रक्सी, गाँजालगायत निषेधित पदार्थ भित्र छिराएर बिक्रीवितरण गरेको विषयमा उनलाई जानकारी भएको होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यति बुझेर पनि रोकथामका लागि प्रयास नगर्नु कमजोरी हो ।’
कारागारभित्रबाट पठाइएको पत्रको प्रतिलिपिसहित जारी गरिएको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको मागसमेत गरिएको छ । झडपमा हेटौंडाका राजेन्द्र लामा, गाईघाटका विनोद भट्टराई, मोरङ उर्लाबारीका राजेश्वर लिम्बू, राजविराजका टिंकु सिंह, झापाका ज्ञानु राई, इलामका टिलेन शेर्पा र विकेश चौधरी घाइते भएका थिए ।

प्रतिक्रिया