एनसेलका २० टावरमा माओवादी आक्रमण

Ncellकाठमाडौं, २१ चैत । नेकपा–माओवादी निकट सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले काठमाडौंको बालाजु र भक्तपुर गरी एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त बनाई दिएको छ ।
निष्काशित मजदुरहरुको आक्रमणबाट ८१ वटा साइटमा सम्पर्क विच्छेद भएका छन् ।
बालाजुमा ध्वस्त गरिएका टावरबाट सानो भर्‍याङ, ठूलो भर्‍याङ, ककनी, टोखा, नुवाकोटदेखि रसुवासम्मका सबै साइट टावरहरु निष्कृय भएका छन् । भक्तपुर नयाँ ठिमीका मूख्य टावर ध्वस्त हुँदा काभ्रे, सिन्धुपाल्चोक हुँदै नेपाल चीन सीमाना तातोपानीसम्मका ६२ वटा साइट निष्कृय भएका छन् ।
नेकपा–माओवादी निकट मजदुरहरुको आक्रमणबाट यसअघि १४ वटा मूख्य टावहरु ध्वस्त भएका थिए । आक्रमणबाट क्षतिग्रस्त भएका टावरहरु एनसेलले अहिलेसम्म मर्मत गर्न सकेको छैन ।
नेपाल स्याटलाइट टेलिकम ‘हेलो नेपाल’बाट निष्काशित ८७ जना कर्मचारीहरुलाई विनासर्त पुनःवाहालीको माग राखेर मजदुरहरु मंसिर–२० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।
सन् २०११ मा हेलो नेपाललाई बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले खरिद गरेपछि अहिले टेलियासोनाको नेपाल मूख्यालय एनसेलमा पनि आन्दोलन सुरु भएको थियो ।
गत सोमबार कलंकीस्थित एनसेल सेन्टरमा मजदुरहरुले आक्रमण गर्दा ३ करोड बराबरको क्षति भएपनि टेलियासोनेराले सो घटनालाई सार्वजनिक गरेको छैन ।
बुधबार ध्वस्त भएका २० वटा टावरबाट सञ्चालित ८१ वटा साइटहरु निष्कृय हुँदा दैनिक आम्दानी हुने करोडौं रकम टेलियासोनेरालाई घाटा भएको छ । टावर मर्मत गर्न मात्रै करिव ३ करोड लाग्ने आन्दोलनरत मजदुरहरुको भनाई छ ।
माग पुरा गर्न दवाव दिने उद्देश्यले मजदुरहरु टावर र एनसेलका सेन्टरहरु ध्वस्त गर्न बाध्य भएको मजदुरहरुले बताएका छन् । अझै पनि सुनुवाई नभए नेपालबाटै टेलियासोनेरालाई धपाउन बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया