काठमाडौं : गोल्डेनगेट इन्टरनेसनल कलेज काठमाडौंका युनिभर्सिटी च्याम्पियन मदनकृष्ण कायस्थले ललितपुरमा सम्पन्न सहकारी कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । उनले यामाहा मोटरसाइकल पुरस्कार पाए । उनले फाइनल लेगका दुवै खेलमा जित हात पारे । यसअघिका ६ भेटमा मदनले मनीषलाई एकपटक मात्र हराएका थिए । यी दुईबीच विगतका दुई खेल बराबरीमा सकिएको थियो । यसअघि प्रतियोगिताको फाइनलसम्मको यात्रामा मदनले पूर्व नेपाल च्याम्पियन शुरवीर लामा, भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्ण थापा तथा नीरज निरौलालाई पराजित गरेका थिए । तर, अन्य खेलभन्दा फाइनल खेल अलि फरक रह्यो ।
नेसनल डेभलपमेन्ट सहकारी ललितपुरका फिडेमास्टर मनीषले ५० हजार रुपियाँ पुरस्कार पाए । उता लिग चरणमा अपराजित रहँदै पहिलो हुन सफल दर्पण साकोस दमकका नीरज निरौला टाइब्रेकरमा फेरि एकपटक चुक्न पुगेपछि प्रतियोगिताको चौथो स्थानमा चित्त बुझाउन बाध्य भए । ललितपुरका युवा राजन पुरी तेस्रो स्थानमा रहँदै २५ हजार हात पार्न सफल भए भने नीरजले १५ हजार प्राप्त गरे । तेस्रो स्थानका लागि भएको खेलको पहिलो लेगमा कालो गोटीबाट नीरजलाई हराएपछि हौसिएका राजनले दोस्रो चरणको मध्यमा मन्त्री खुवाउन पुगेपछि तुरुन्तै खेल त्याग गरे ।
विजयी खेलाडीलाई नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले पुरस्कार प्रदान गरे । ललितपुर महोत्सव, ललितपुर स्पोर्ट्स क्लब तथा ५६औँ राष्ट्रिय सहकारी दिवस २०६९ ललितपुर मूल आयोजक समितिको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १ सय ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
खेल क्षेत्रबाटै मोटरसाइकल चोरी
अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजूको खेल भवनमुनि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको छ । खाइजूका अनुसार उनको बा २९ प २५१४ नम्बरको मोटरसाइकल हराएको प्रहरीलाई पनि जानकारी गराइसकेका छन् । नेपालका पहिलो अन्तर्राष्ट्रिय आर्बिटर खाइजूको यसअघि चोभार ओपन चेस प्रतियोगिताका दौरान ल्यापटपसहितको ब्याग लुटिएको थियो । (सौस)
प्रतिक्रिया