मनाङ–मस्र्याङ्दी च्याम्पियन

archaryकाठमाडौं, १६ चैत । लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी आर्चरी क्लबले अन्तरसमाज धनुषवाण प्रतियोगिताको उपाधि हात पारेको छ । थकाली सेवा समितिको आयोजनामा बालाजुस्थित समितिको कार्यलयमै भएको खेलमा मनाङले समग्रमा १ सय ६१ अंक बनाएर उपाधि जितेको हो ।

खेलको निर्धारित १५ डोरमा मनाङ र म्याग्दी मगर समाजले समान १ सय ४९ अंक बनाएपछि थपिएको एक डोरमा मनाङले १२ अंक थपेपछि उपाधि हात पारेको हो । म्याग्दीले भने थपिएको एक डोरमा ११ अंक मात्र बनाउँदै १ अंकले पछि पर्दै समग्रमा १ सय ६० अंक बनाएको थियो । मनाङको जितमा ओङगेल गुरुङले २९ स्कोर, नोर्बु गुरुङ र कमल गुरुङले समान २७–२७ स्कोर, चित्रलाल हिराचनले २५ स्कोर, शरद गुरुङले २३ स्कोर र छिमी गुरुङले १८ स्कोर बनाएका थिए । म्याग्दी समाजका लागि भने कुमार पाइजाले २८ स्कोर, सुभाष पाइजाले २७ स्कोर, रूपक पुनले २६ स्कोर, राम पुनले २४ स्कोर, श्रीप्रसाद पुनले २३ स्कोर र जुलुम पुनले २१ स्कोर बनाए ।
प्रतियोगितामा मनाङका ओङगेल गुरुङले सर्वोत्कृष्ट धनुर्धर घोषित भए भने म्याग्दीका राम पुन विशिष्ट धनुर्धर भए । त्यस्तै प्रतियोगितामा नेपाल–जापान सम्पर्क समिति १ सय ४७ अंक बनाएर तेस्रो भयो । प्रतियोगिताका विजेतालाई पूर्वमन्त्री ओमकार गौचनले पुरस्कार प्रदान गरे । प्रतियोगितामा च्याम्पियन मनाङले पुरस्कार स्वरूप २० हजार रुपियाँ प्राप्त गर्‍यो भने दोस्रो भएको म्याग्दी मगर समाजले १५ हजार र तेस्रो भएको नेपाल–जापान सम्पर्क समितिले १० हजार रुपियाँमा चित्त बुझायो । विभिन्न १२ टिमले सहभागिता जनाएको प्रतियोगिता ५ दिनसम्म चलेको थियो ।

प्रतिक्रिया