चुनावतिर दलहरु


maoचुनावी तयारीसागै  आन्तरिक विवाद चुलियो

काठमाडौं, १५ चैत । चुनावी तयारीमा अन्य दलभन्दा अगाडि देखिएको एमाओवादीभित्र आन्तरिक विवाद पनि सँगसँगै चुलिएको छ । मधेसीमूलका नेताले केन्द्रीय समितिमा आफ्नो समुदायका ७५ सदस्य नपुर्‍याइए चुनावमा पार्टीले गम्भीर परिणाम भोग्ने चेतावनी शीर्ष नेताहरूलाई दिएका छन् ।
एमाओवादीले अघिल्लै साता चुनावी तयारीका लागि उपाध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा घोषणापत्र लेखन समिति र महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा उम्मेदवार छनोट समिति बनाएको थियो । उसले कार्यकर्तालाई चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिइसकेको छ ।
आगामी चुनावमा मधेसी मोर्चासहित अघिल्लो सत्ता गठबन्धनका दलहरूसँग तालमेल गर्ने रणनीति पनि एमाओवादीको छ । यसका लागि उसले पटक–पटक मधेसी मोर्चासित छलफलसमेत गरेको थियो । तैपनि, त्यसले औपचारिकता भने पाइसकेको छैन ।
संविधानसभाको अघिल्लो चुनावबाट सबैभन्दा ठूलो दल बनेको एमाओवादीलाई पार्टी विभाजनका कारण शाख कायम राख्न गाह्रो छ । त्यसैले पनि उसले मधेसी मोर्चासमक्ष तालमेलको पासो फालेको अनुमान गरिएको छ । एमाओवादीसित चुनावी तालमेल गर्नेबारे मधेसी मोर्चाभित्र भने विवाद देखिएको छ ।
चुनावी तयारीसँगै पार्टीभित्र चुलिएको आन्तरिक विवादले पनि एमाओवादी नेतृत्वलाई चुनौती थपेको छ । आइतबार गरिएको केन्द्रीय समिति विस्तारमा आफूहरूले उठाउँदै आएका मागको सम्बोधन नभएको भन्दै मधेसी नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् । केन्द्रीय समिति विस्तारप्रति असन्तुष्ट नेताहरूले मंगलबार छुट्टै भेला गरी आºनो माग सम्बोधन गर्न दबाब दिने र नभए मधेसमा अलग पार्टी खोल्नेसम्मको विकल्पमा अग्रसर हुने निर्णय गरेका थिए ।
मंगलबार नयाँबानेश्वरको थापागाउँस्थित केन्द्रीय सदस्य रामरिझन यादवको निवासमा बसेको एमाओवादीका मधेसी नेताहरूको छुट्टै बैठकले माग सम्बोधन नभए तराई कम्युनिस्ट पार्टी गठन गर्नेसम्मको निष्कर्ष निकाले पनि बुधबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने उनीहरूले आºनो माग सम्बोधनका लागि दबाब दिन लागिएको तर
नयाँ पार्टी खोल्ने तयारी नभएको बताएका थिए ।
एमाओवादीले चुनावमा मधेसी मोर्चासँग तालमेल गर्ने उद्घोष गरेका बेला पार्टीका मधेसी नेतामा असन्तुष्टि चुलिएको हो । अघिल्लै साता एमाले परित्यागको घोषणा गरेका पोलिटब्युरो सदस्य रामचन्द्र झालाई एमाओवादीमा प्रवेश गराउने तयारी पनि पार्टीभित्रको असन्तुष्टिकै कारण असफल भएको थियो ।
मधेसीमूलका एमाओवादी नेताहरूको भेलाले ३ सय ९९ सदस्यीय केन्द्रीय समितिमा एक पदाधिकारीसहित कम्तीमा ७५ जना मधेसी नेतालाई ल्याउन दबाब दिएका छन् । महाधिवेशनले ६ जनासमेत गरी विस्तारित गरिएको ३ सय ९९ सदस्यीय केन्द्रीय समितिमा २७ जना मात्रै मधेसी नेता छन् । नयाँ गठन हुने पार्टीको नेतृत्व केन्द्रीय सदस्य प्रभु साहले गर्ने उनीहरूले मोटामोटी तय गरेका थिए । तर, बुधबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा उनीहरूले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गर्ने समाचारको भने खण्डन गरे । नयाँ गठन हुने पार्टीको नेतृत्व गर्ने भनिएका प्रभु साह भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।
उनीहरूले पार्टीमा मधेसीलाई उचित स्थान दिनुपर्ने माग पार्टी नेतृत्वसँग राखेको र पार्टीले त्यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका थिए । ‘पार्टीको नेतृत्वमा मधेसलाई पनि उचित र सम्मानजनक स्थान दिनुपर्छ भन्ने माग गरेका हौँ,’ पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य विश्वनाथ साहले भने, ‘नयाँ पार्टी बनाउने भन्ने समाचारको भ्रममा नपर्न हामी अनुरोध गर्छा ।’ केन्द्रीय सदस्य विश्वनाथ साह, रामकुमार यादव, श्रवण यादव, रामकुमार शर्मा र रामरिझन यादवले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका थिए ।
लोकतन्त्रवादीसित तालमेलको तयारी

काठमाडौं, १५ चैत । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन र निर्वाचन आयोगमा पदाधिकारी नियुक्त भएपछि नेपाली कांग्रेस चुनावमा केन्द्रित भएको छ । चुनावमा लोकतान्त्रिक शक्तिसित तालमेल गर्ने योजना पनि उसले बनाएको छ ।
०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि अधिकांश समय सत्तामा रहेको कांग्रेस गएको संविधानसभा चुनावमा दोस्रो पार्टीमा सीमित भएको थियो । त्यो पीडालाई भुलाउँदै आफूलाई स्थापित गर्न पनि उसले आगामी चुनावमा लोकतान्त्रिक शक्तिहरूसित तालमेल गर्ने रणनीति बनाएको एक नेताले बताए ।
कांग्रेस नेतृत्व अहिले चुनावी माहोल तयार पार्न राजधानीबाहिर केन्द्रित भएको छ । मंगलबार मात्रै शीर्ष नेतृत्वले पोखरा पुगी चुनावी तयारीमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए । अघिल्लो चुनावमा एमाओवादी ठूलो दल बनेका कारण संविधान नबनेको जिकिर गर्दै कांग्रेस नेताहरूले अबको चुनावमा लोकतान्त्रिक शक्तिहरूबीच तालमेल गर्नुपर्नेमा जोड दिँदै आएका छन् । पोखराको सभालाई सम्बोधन गर्दै सभापति सुशील कोइरालाले ‘लोकतन्त्रलाई सुदृढ गर्न लोकतान्त्रिक शक्तिबीच एकता आवश्यक भएको’ बताएका थिए ।
चुनावबाट आºनो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी कांग्रेस नेताहरूले गर्दै आएका छन् । यद्यपि, चुनावमा आºनो पक्षमा माहोल बनाउन नेता–कार्यकर्तालाई एकढिक्का बनाउनुपर्ने चुनौती कांग्रेस नेतृत्वसमक्ष छ । डा. शेखर कोइराला, सुजाता कोइराला, गगन थापासहित करिब दुई दर्जन प्रभावशाली नेताहरू अहिले पनि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले पार्टी नेतृत्वको पनि आलोचना गरिरहेका छन् ।
पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने अब पार्टी नेतृत्वको विरोध गर्नुको साटो चुनावमा होमिनु पार्टी र नेताका लागि हितकर हुने बताए । ‘प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने विषयमा केही साथीको फरक मत थियो,’ प्रवक्ता बडुले भने, ‘तर, आवश्यक निर्णय लिन नेतृत्वलाई जिम्मेवारी दिँदै चुनावमा जाने सहमति भइसकेपछि यसमा विरोध गर्नुभन्दा निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’
चुनावको रणनीति, महासमिति बैठकसहितका विषयमा छलफल गर्न
कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक डाकेको छ । प्रवक्ता बडुका अनुसार बैठकमा चुनावको तयारी, महासमिति बैठक, चुनावमा लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्नेसहित विषयमा छलफल हुनेछ ।
‘देश अब निर्वाचनमा केन्द्रित भइसकेपछि चुनावको विषयमा रणनीति तय गर्न केन्द्रीय समिति बैठक बोलाएका हौँ, सबै विषयमा छलफल हुन्छ,’ प्रवक्ता बडुले सौर्यसँग भने । चुनावी तयारीमा संगठन परिचालन, घोषणापत्र तयारी, नीतिगत र चुनावी रणनीतिक तयारीमा बैठक केन्द्रित हुने उनले बताए ।
बैठकले महासमिति बैठक नवलपरासीमा बस्ने गरी निर्णय लिने प्रवक्ता बडुले बताए । आगामी २६ देखि २९ चैतसम्म बैठक गर्न नवलपरासी जिल्ला कार्य समितिबाट प्रस्ताव आएको उनले बताए । महासमिति बैठकमा चुनावका साथै विधान संशोधन प्रस्तावमा छलफल हुने बडुले बताए ।
मुख्य राजनीतिक शक्ति र जनतासमेत नयाँ चुनावको पक्षमा रहेको भन्दै बडुले सरकारको विषयमा नअल्झी चुनावमा केन्द्रित हुनुपर्ने बताए । ‘चुनावमा जाने सहमति भइसकेको छ, अब सम्पूर्ण राजनीतिक दलको ध्यान चुनावमा केन्द्रित हुनुपर्छ,’ बडुले भने । बाध्यात्मक प्रधानन्यायाधीश नेतृत्वको सरकार बनेको जिकिर गर्दै उनले अहिले सरकारको विरोध गर्नु सन्दर्भमा उपयुक्त नभएको बताए ।
मतभेद थाती राख्दै चुनावमा ध्यान

काठमाडौं, १४ चैत । एमालेले आन्तरिक व्यवस्थापनका सबै कार्यसूची स्थगन गरी चुनावी तयारी थालेको छ । बुधबार बसेको स्थायी समिति बैठकले पार्टीलाई चुनावी तयारीमा लगाउन २६ र २७ चैतमा पोलिटब्युरो र वैशाख पहिलो साता केन्द्रीय कमिटीको बैठक डाकेको छ ।
आन्तरिक व्यवस्थापनसहित १४ वटा एजेन्डामा छलफल गर्न स्थायी समिति बोलाइएको भए पनि पार्टीलाई सम्पूर्ण रूपमा चुनावी तयारीमा लगाउने निर्णय बैठकले गरेको हो । चुनावलाई केन्द्रित गरेर उसले वर्तमान सरकार गठनका विषयमा वरिष्ठ नेताहरूबीच देखिएका मतभेदका विषय पनि तत्काललाई थाती राखेको छ ।
‘चुनाव तयारीका विषयमा भएको राजनीतिक परिस्थितिको पछि समीक्षा गर्नेगरी अहिले सम्पूर्ण रूपमा पार्टीलाई चुनावमा होम्ने निर्णय भएको छ,’ एमाले स्रोतले भन्यो, ‘चुनावी सरकार गठनका विषयमा उत्पन्न मतभेदका विषयमा चुनावपछि मात्रै समीक्षा हुनेछ ।’
चुनावी तयारीका लागि २६ र २७ चैतमा पोलिटब्युरो र २ देखि ५ वैशाखसम्म केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । ‘विकसित पछिल्लो राजनीतिक परिस्थितिका विषयमा स्थायी समितिको बैठक बसेको थियो र यसले सिंगो पार्टीलाई चुनावी तयारीमा सम्पूर्ण रूपले लगाउने निर्णय गरेको छ,’ बैठकपछि महासचिव ईश्वर पोखरेलले भने, ‘निर्वाचनको पूर्वतयारीका सन्दर्भमा गर्नुपर्ने सम्पूर्ण काम गरी निर्वाचनको मिति घोषणा गर्नुपर्छ भन्ने पार्टीको ठहर छ ।’
चुनावको पूर्वतयारीका क्रममा राज्यका तर्फबाट गरिने काम अघि बढाउन एमालेले सरकारसित माग गरेको छ । मतदाता नामावली संकलन र फोटो खिचाउने काममा सक्रियातापूर्वक सहभागी हुन पार्टीका स्थानीय कमिटीलाई निर्देशन पनि एमालेले दिएको छ ।
निर्वाचनको मिति घोषणा हुनुपूर्व निर्वाचन ऐन र कानुन संशोधन, मतदाता नामावली अद्यावधि गर्ने र यसअघि बाबुराम भट्टराईको सरकारले निर्वाचन प्रभावित गर्नेगरी गरेका सरुवा र नियुक्ति बदर गर्नुपर्ने निष्कर्ष एमालेले निकालेको छ । ‘तत्काल निर्वाचन चाहियो भन्ने आवाज आइरहेको सन्दर्भमा जनता निर्वाचनप्रति आतुर छन् भन्ने सन्देश प्रवाहित भएको छ,’ महासचिव पोखरेलले भने, ‘तर निर्वाचन घोषणा हुनुअघि पूर्वतयारीलगायत विषयमा राजनीतिक सहमति कायम गरी चुनावको मिति घोषणा गरिनु आवश्यक छ, हाम्रो पार्टीे चुनावमा होमिइसकेको छ ।’
निर्वाचन बहिष्कारको घोषणा गर्दै आएको नेकपा–माओवादीलगायत दलसँग संवाद गरी चुनावमा सामेल गराउने पहलकदमी पनि आºनै पार्टीले लिने एमालेले जनाएको छ । ‘उनीहरूका मुद्दा पनि संवोधन हुनेगरी सबैलाई चुनावमा सामेल गर्नुपर्छ र त्यसको अगुवाइ पनि एमालेले नै गर्नुपर्छ,’ बैठक स्रोतले भन्यो ।
स्थायी समितिको बैठकले पार्टीका मोर्चा संगठन, मातहतका सम्पूर्ण कमिटी र निकायलाई चुनाव तयारीमा लाग्न र एमालेलाई आउने चुनावबाट पहिलो पार्टीमा उभ्याउनेगरी सक्रिय रहन निर्देशन दिएको छ । स्थायी समिति बैठकले आगामी संविधानसभाले लोकतान्त्रिक संविधान निर्माण सुनिश्चित गर्नुपर्ने भएकाले लोकतान्त्रिक संविधान निर्माणका पक्षधर शक्तिहरूसँग सहकार्यलाई अघि बढाउने पनि निर्णय गरेको छ । तर, निर्वाचन रणनीतिका विषयमा केन्द्रीय कमिटीको बैठकबाट एमालेले अन्तिम निर्णय गर्नेछ ।
एमाओवादी र मधेसी मोर्चाको यसअघिको सत्ता गठबन्धनले जातीय राज्यका पक्षधरहरूको मोर्चा बनाउने उद्घोष गरिरहेका बेला एमालेले बहुपहिचानसहितको संघीयता र लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्ने पक्षमा रहेका शक्तिबीच सहकार्यको नीति अगाडि सार्ने संकेत गरेको हो । स्थायी समिति बैठकले संघीयताका विषयमा असहमति राखी पार्टीबाट राजीनामा दिएका पोलिटब्युरो सदस्य रामचन्द्र झाको राजीनामा अस्वीकृत गरेको छ । झाले ८ चैतमा पार्टीबाट राजीनामा दिएका थिए ।
चुनावी तयारीकै विषयमा बुधबार एमाले उपत्यका समन्वय कमिटीको बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष खनालले निर्वाचनको तयारीका लागि पार्टीको सम्पूर्ण शक्ति र ध्यानकेन्द्रित गर्न निर्देशन दिएका थिए । लोकतान्त्रिक संविधान र बहुपहिचानसहितको संघीयता निर्माणका लागि आगामी चुनावमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्नै पर्ने बताउँदै खनालले चुनावमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
बैठकलाई सम्बोधन गर्दै महासचिव ईश्वर पोखरेलले राजनीतिक निर्णयका आधारमा सम्पन्न भएको परिस्थितिलाई पछि समीक्षा गर्ने गरी आजैबाट आफ्नो सम्पूर्ण ध्यान आगामी संविधानसभाको निर्वाचनलाई केन्द्र बनाएर चुनावमा होमिन निर्देशन दिए ।
निर्वाचन तयारीका लागि एमाले उपत्यका समन्वय कमिटीले २३ चैतमा राष्ट्रिय सभा गृहमा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलालाई पार्टीका अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उपत्यकाको बैठकले निर्वाचन तयारीका क्रममा मतदाताहरूको फोटो खिच्ने र खिचाउने काममा मातहत सम्पूर्ण कमिटीहरूलाई परिचालित हुन विशेष निर्देशन दिएको उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया