नेपालद्वारा माल्दिभ्स सहजै पराजित

Nepali-Cricate-Teamकाठमाडौं, १४ चैत । माल्दिभ्सलाई ७६ रनले पराजित गरी नेपालले मंगलबारदेखि घरेलु भूमिमा सुरु एसियाली क्रिकेट परिषद् (एसिसि) टि–ट्वान्टी एलिटकपको चौथो सस्करणमा विजयी सुरुआत गरेको छ । मंगलबार भएका अन्य खेलमा साविक विजेता अफगानिस्तानसँगै साबिक उपविजेता हङकङ र युएइ पनि विजयी भए ।

समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले पहिला ब्याटिंग गर्नेक्रममा निर्धारित २० ओभर खेल्दै १७१ रन जोडेको थियो । सामान्य प्रतिद्वन्द्वीका रूपमा रहेको माल्दिभ्सले जवाफमा ९५ रनमात्र जोड्न सक्यो ।
माल्दिभ्सविरुद्ध सहज जित हात पार्नेक्रममा कप्तान पारस खड्काले दुई तथा शक्ति गौचन, मन्जित श्रेष्ठ, वसन्त रेग्मी र सन्जम रेग्मीले समान एक विकेट लिए । आफ्नौ सयौं अन्तर्राष्ट्रिय म्याचमा पारसले व्यक्तिगत दोस्रो र तेस्रो ओभरमा विकेट लिएका थिए । इनिङको चौथो ओभरमा पारसले माल्दिभ्सको पहिलो विकेट लिएका थिए । पाँचौँ ओभरमा नेपालले पहिलो स्पिन आक्रमणका रूपमा शक्तिलाई उतार्दा उनको सुरुआती ओभरमा रनआउट गरी विकेट हात पारेको नेपालका लागि पारसले छैटाँै ओभरमा पनि विकेट दिलाए ।
यसअघि नेपालले प्रदिप ऐरीको आक्रामक ब्याटिंगसँगै सानदार सुरुआत गरे पनि मध्यक्रमले सुस्त प्रर्दशन नगर्दा अपेक्षित लक्ष्यसम्म पुग्न सकेन । नेपालले ६ ओभरमा ७८ रन जोडेको थियो । टोलीले ८० रन जोड्दा पहिलो विकेटका रूपमा प्रदिप आउट भएपछि नेपालले लगातारको स्पिन आक्रमणसामु करिब १० ओभरसम्म ‘बाउन्ड्री’मार्फत रन लिन सकेन । १६ आंै ओभरमा शरद् भेवाकरले चौका प्रहार गरी ‘चौका/छक्का’को खडेरी चिरेका थिए ।
२१ बलमा अर्धसतक पूरा गरेका ऐरीले ५९ रन जोडे । उनले २६ बल खेल्दै आठ चौका र चार छक्का प्रहार गरे । स्विप गर्न खोज्दा उनी सातांै ओभरको तेस्रो बलमा बोल्ड भएका थिए । इनिङको पहिलो ओभरमा एकछक्का र एक चौकासहित १० रन जोडेका प्रदिपले तेस्रो ओभरमा लगातार बलमा एक चौका र दुई छक्कासहित पुन चौका प्रहार गरेका थिए । ‘ओपनरकै रूपमा पठाउँदा सुरुमा केही डर पनि लागेको थियो, दबाव पनि थियो । तर, आफ्नो खेल प्रदर्शन गर्छु भन्नेमा विश्वस्त थिएँ,’ खेलपछि प्रदिपले भने । उनी पहिलोपटक सिनियर टिमबाट प्रारम्भिक ब्याट्सम्यानका रूपमा उत्रिएका हुन् । उनका अतिरिक्त टोलीका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले २६, शरद् भेष्वाकरले ३६ र मन्जित श्रेष्ठले २० रनको योगदान गरे ।
समूह एकै अर्को खेलमा हङकङले मलेसियालाई छ विकेटले पराजित गर्‍यो । कसिलो बलिंगपछि १०४ रनको लक्ष्य पछ्याएको हङकङले १२ ओभरमा लक्ष्य भेटायो । हङकङको जितमा प्रारम्भिक ब्याट्सम्यान इरफान अहमदले ३९ बलमा १० चौका र छ छक्कासहित ८७ रनको योगदान गरे ।
समूह ‘बी’ अन्तर्गतको खेलमा अफगानिस्तानले ओमनलाई ४४ रनले पराजित गर्‍यो । १५१ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १०६ रनमा समेटियो । बलिंगतर्फ अफगानिस्तानका लागी कप्तान मोहम्मद नावीले चार विकेट लिए भने आफताब आलम र फजल रहमानको नाममा समान दुई विकेट रह्यो । १४ औं ओभरमा नावीले तीन विकेट लिएपछि ओमान सम्भावित जितबाट टाढा देखिएको थियो । यसअघि अफगानिस्तान १८.५ ओभरमा अलआउट हुँदा प्रारम्भिक ब्याट्सम्यान करिम सदिकले ४६, नाबीले ३२ र नाजिबुल्लाह जर्दानले २९ रनको योगदान गरे । सोही समूहको अर्को खेलमा कुवेतबाट कठिन चुनौती पाए पनि पूर्व उपविजेता युएइले १७३ रनको लक्ष्य १८.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको कठिन परीक्षा आज
समूहकै सबैभन्दा कठिन प्रतिद्वन्द्वीका रूपमा रहेको हङकङसग नेपालले बुधबार प्रतिस्पर्धा गर्दै छ । समूहको आफ्नो पहिलो खेलमा विजयी भएका यी दुवै टोली बुधबार जित निकाल्दै सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाउने प्रयासमा हुनेछन् । साविक उपविजेता हङकङ नेपालसगको भिडन्तमा भने प्राय पराजित हुने गरेको छ । पछिल्ला दुई टि–ट्वान्टी भिडन्तमा नेपालले हङकङलाई पराजित गरे पनि उसको चुनौती सधँै निकै कठिन हुने गरेको छ ।

प्रतिक्रिया