सहकारी अनुगमन तीव्र

कालिकोट : जिल्लामा स्थापना भएका सहकारी संस्थाको डिभिजन सहकारी कार्यालय जुम्लाले अनुगमन तथा निरीक्षण थालेको छ । कालिकोट जिल्लामा सहकारीको संस्थागत क्षमता विकास तालिमका लागि आएको टोलीले सदरमुकामका सहकारी संस्थामा अनुगमन थालेको हो ।

डिभिजन सहकारी कार्यालय जुम्ला कार्यालयका प्रमुख टेकबहादुर बूढा थापाको नेतृत्वमा आएको टोलीले सहकारी संस्थाको निरीक्षण तथा अनुगमन थालेको बताएको छ ।
जिल्लामा गठन भएका सहकारी संस्था सहकारी सिद्धान्त तथा मान्यताविपरीत सञ्चालन भए/नभएका बुझ्न सहकारी अनुगमन थालिएको डिभिजन सहकारी कार्यालय जुम्लाका प्रमुख थापाले बताए ।
उनका अनुसार अहिलेसम्म अनुगमन भएका सहकारी संस्थाले गैरसदस्यसाग कारोबार गरेको र सदस्य दर्ता किताबसमेत राखेका छैनन् । गैरसदस्यसाग कारोबार गर्ने, लगातार दुई वर्षसम्म लेखा परीक्षण नगराउने र साधारणसभासमेत नगर्ने सहकारीलाई पत्राचारसहित सुध्रिन भन्दै सचेत गराउने र अनुगमनपछि सूची निकालेर पाँच सयदेखि एक हजार पाँच सय रुपियाँ जरिवानासमेत भराउने सहकारी प्रमुख थापाले जानकारी दिए ।
यस वर्ष कर्णालीका विभिन्न जिल्लामा अनुगमन गरेर सहकारी संस्थाको सूची तयार पारिने बताइएको छ । कालिकोटमा गतवर्ष सदरमुकामका केही सहकारी संस्था मात्र अनुगमन गरिएको थियो ।
सहकारी अनुगमनका लागि स्थानीयस्तरमा समेत अनुगमन गर्न सरोकारवालाले माग गरे पनि कर्णाली अञ्चलका पाँच जिल्लाका लागि अनुगमन तथा नियमन गर्ने निकाय जुम्लामा हुनुले भौगोलिक विकटताका कारण पहुँच नपुगेको थापाको भनाइ रहेको छ । (सौस)

प्रतिक्रिया