काठमाडौं, ११ चैत । रानीपोखरी कर्नर टिम (आरसिटी)लाई २–० ले हराउँदै थ्री–स्टार राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ । सुपर एटको आफ्नो पाँचौँ खेलमा विजयी भएपछि थ्री–स्टारले दोस्रो स्थानको मनाङ– मस्र्याङ्दीसँगको अंक दूरी पाँच अंकमा कायम राख्यो ।
शनिबार नै भएको अर्को खेलमा मच्छिन्द्रलाई ३–० ले हराएर मनाङ–मस्र्याङ्दी एक खेल कम खेलेको न्युरोड टिम(एनआरटी)लाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो । मनाङ र थ्री–स्टार दुबैले अब दुई/दुई खेल खेल्न बाँकी रहेको छ । यी दुई टोलीभन्दा एक खेल कम खेलेको एनआरटी शीर्षस्थानको थ्री–स्टारभन्दा सात अंकले पछि रह्यो । २० खेलपछि थ्री–स्टारको ४२ अंक रहेको छ भने मनाङको ३७ अंक छ ।
सुपर एटमा दुई हार, एक जित र एक बराबरीको नतिजापछि शनिबार जित दिलाउन थ्री–स्टारका लागि विजय गुरुङ र फेमी जोसुआले गोल गरे । पहिलो खेलमा मनाङ विजय भएपछि दबाबमा परेको थ्री–स्टारले आक्रामक सुरुआत गर्दै तेस्रो मिनेटमै अग्रता लिएको थियो । ‘क्लोज रेन्ज’बाट विजयले सहजै गोल गरे । मध्याह्नअघि नै थ्री–स्टारले अग्रता दोब्बर बनायो ।
फेमीले गरेको फ्रिकिकमा बल विपक्षी डिफेन्डरमा डिफ्लेक्ट हँुदै गोल भएको थियो । पहिलो हाफको इन्जुरी समयमा फेमीले हेडमार्फत गरेको प्रहार कोमल खवासले गोल लाइनबाट क्लियर गर्दा थ्री–स्टार गोलअन्तर बढाउनबाट चुकेको थियो ।
दोस्रो हाफको सुरुआतमै आरसिटीले गोलअन्तर घटाउने अवसर पाए पनि अमर डंगोलले क्लोज रेन्जबाट गरेको प्रहार साइड बारको नजिकैबाट गयो । खेलभर प्रभाव जमाएको थ्री–स्टारले अन्तिम समयमा गोल थप्ने अवसर पाएको थियो तर विष्णु गुरुङले वन भर्सेस वनमा गरेको प्रहार साइड बारमा लागेर फर्किएको थियो ।
लिगको सिंगल राउन्ड समाप्त हुँदा सात अंकले अग्रता लिए पनि सुपर एटमा कमजोर सुरुआत गरेपछि थ्री–स्टार उपाधि जित्ने सम्भावनामा धर्मर बनेको थियो यद्यपि उसका निकटतम प्रतिद्वन्द्वीले उक्त अवसरलाई सदुपयोग गर्न सकेनन् ।
मच्छिन्द्र, आर्मीलगायतका टोलीले खराब प्रदर्शन गरेपछि त्यसबाट प्रशस्त राहत बटुल्दै थ्री–स्टार उपाधिको नजिक पुगेको छ । सुपर एटको पहिलो खेलमा नेपाल पुलिससँग पराजित भएको उसले मनाङसँग बराबरी खेल्नुअघि एनआरटीसँग हार बेहोरेको थियो भने फ्रेन्ड्सलाई हराएको थियो ।
थ्री–स्टारले सुपर एटका बाँकी खेलमा आर्मी र मच्छिन्द्रसँग प्रतिस्पर्धा गर्नेछ । थ्री–स्टारले अब कम्तीमा एक खेल जितेमा ७५ लाख रुपियाँ उपाधि राशि रहेको यो प्रतियोगिता जित्नेछ । आफ्ना दुबै खेलको हारको नतिजामा समेत थ्री–स्टारले उपाधि जित्ने सम्भावना राम्रो रहेको छ ।
पछिल्लो खेलमा थ्री–स्टारसँग बराबरी खेलेपछि उपाधि होडमा थप धर्मर बनेको मनाङले शनिबार मच्छिन्द्रविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै थ्री–स्टारविरुद्धको दबाबलाई कायम राखेको थियो । मनाङको जितमा विदेशी खेलाडी सिकोले दुई गोल गरे भने कप्तान अनिल गुरुङको नाममा एक गोल रह्यो । २८औँ मिनेटमा अनिलले मनाङलाई अग्रता दिलाएका थिए । सुपर एटमा निकै राम्रो प्रदर्शन गरिरहेका सिकोले ४८ र ८७औँ मिनेटमा गोल थपे । थ्री–स्टारविरुद्ध पछिल्लो खेलमा १–१ ले बराबरी हँुदा सिकोले नै गोल गरेका थिए ।
सिंगल राउन्डको अन्तिम केही खेलमा कमजोर प्रदर्शन गरेपछि उपाधिको प्रतिस्पर्धात्मक होडबाट केही तल झरेको मच्छिन्द्र सुपर एट सुरु हुनुअघि शीर्षस्थानको थ्री–स्टारभन्दा आठ अंकले पछि रहे पनि यस चरणमा उसको प्रदर्शन कमजोर रह्यो ।
प्रतिक्रिया