नोबेल एकेडेमीमा ई–लर्निङ

Nobelकाठमाडौं : डेढ दशकअघि स्थापना भएको नोबेल एकेडेमीले यसै शैक्षिक सत्रदेखि ई–लर्निङको व्यवस्था गर्न लागेको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरेर यस किसिमको पठनपाठनको व्यवस्था गर्न लागेको विद्यालयले जनाएको छ ।
यसका लागि विद्यालयले छुट्टै भौतिक पूर्वाधारको व्यवस्था पनि गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘वर्तमान अवस्थामा विद्यार्थीहरू प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ भन्ने मान्यताबाट प्रेरित भएर हामीले नेपालमै पहिलोपटक कक्षा कोठामा ई–लर्निङ पद्धतिको थालनी गरेका हौँ,’ विज्ञप्तिमा उल्लेख छ । ई–लर्निङअन्तर्गत विद्यार्थीले वल्र्ड प्याड नामक छुट्टै डिभाइसमार्फत आफ्ना शैक्षिक सामग्री फेला पार्न/पढ्न सक्नेछन् । साथै, कक्षामा पढाइएका विषयवस्तुहरू घरमा गएर हु–वहु पुन:अध्ययन गर्न सक्नेछन् ।
अमेरिकी कम्पनीबाट निर्मित यो ट्याब्लेटमा हाल नेपाली पाठ्यक्रमअन्तर्गत विज्ञान र गणित विषयहरू समावेश छन् । आगामी वर्षमा अन्य विषयहरू थप गर्दै लगिने विद्यालयले जनएको छ । साथै ५ कक्षाभन्दा माथिल्ला कक्षाहरूमा पनि यस किसिमको पद्धति विस्तार गर्दै लगिने विज्ञप्तिमा उल्लेख छ । अर्थविद् तथा विद्यालयका प्राचार्य चिरञ्जीवी नेपालबाट शनिबार ई–कक्षाको विधिवत् उद्घाटन गरिएको थियो । (सौस)

प्रतिक्रिया