लुंगी लगाएर संविधानसभा छिरेँ

Shanta-Chaudharyम जन्मिँदै कम्लहरी बनिसकेकी रहिछु । बुझ्ने उमेरकी हुँदा आमा–दिदीहरू कम्लहरी अनि बुबा र दाजु कमैया हुनुहुन्थ्यो । आफूलाई पनि भावीले कम्लहरी बस्नै जन्म दिएभैँm लाग्यो । जन्मिएँ पनि जमिनदारकै जग्गामा, दाङ जिल्ला । जमिनदारले आश्रयका लागि बनाइदिएको त्यो झुपडीमा जन्मिने सबै कमैया या कम्लहरी हुन्थे, म मात्रै कसरी अछुतो रहन सक्थेँ । देख्थेँ– दिनभरि जमिनदारकोमा काम गरेर घर फर्किएकी मेरी आमा साँझ जंगलतिर जानुहुन्थ्यो अनि एक मूठो कर्कलो लिएर आउनुहुन्थ्यो । हामी कम्लहरी बस्न जान नसक्ने छोराछोरीको पेट भराइदिनुहुन्थ्यो । आफूचाहिँ पटुका कसेर सुत्नुहुन्थ्यो । कामले थाकेर आएकी आमा भोकै सुत्दा बालकै भए पनि मलाई बेस्सरी रुन मन लाग्थ्यो । अनि, जमिन्दारलाई गाली गर्थें मनमनै– ‘मरुन्जेल काम लगाएर पनि पेटभरि खान नदिने असत्ती †’

आमाको पीडा बुझेर होला, ममा भित्रभित्रै विद्रोही स्वभाव पलाउन थालेछ । तर, मन विद्रोही हुँदैमा मुक्ति पाउने अवस्था थिएन । आठ वर्ष लागेको सालको माघीमा वर्षको सात सय रुपियाँ र एकजोर कपडा दिने सर्तमा मेरो कम्लहरी जीवनको सम्झौता भयो । अघिल्लो दिनसम्म बिहान सात बजेसम्म सुत्ने बालिका भोलिपल्टदेखि बिहान चारै बजे उठेर आँखा मिच्दै जमिनदारको दैलो पोत्न पुगिसक्नुपर्ने । त्यसपछि जुठो भाँडा माझ्यो, घर आँगन बढार्‍यो अनि घाँस काट्न जंगल जान तयार । खाजा पनि नखाई घाँस ल्यायो, आफूले चाहिँ जमिनदारका छोराछोरीलाई नरुचेको बाँकी भात खानुपर्ने । कस्तो बाध्यता †
जमिनदारका छोराछोरी झोला बोकेर स्कुल जाँदा मलाई पनि पढ्ने रहर जाग्थ्यो । पूरा नहुने रहर पालेर मात्रै के गर्नु † सफाचट् भएर विद्यालय जानु एउटा असम्भवप्राय: सपना मात्रै थियो मेरा लागि । कहिलेकाहीँ मालिकहरू घरमा नभएका बेला उनीहरूका छोराछोरीको स्कुलब्याग बोकेर फुरुंग पर्दै मनको चाहना मेटाउँथे । जमिनदारको छोराछोरीलाई अलिकति ठेस लागे पनि बाबुआमा सुमसुम्याउन आइपुग्थे । मैले चाहिँ आफूले सक्नेभन्दा ठूलो भारी बोकेर हिँड्नुपर्दा पनि दया देखाउँदैनथे । बरु उल्टै कहिले काम बिगारेको आरोपमा तोकेको सात सय रुपियाँ तलब पनि कटाइदिन्थे । कुटाइ, गाली त कति हो कति † सम्झिँदा पनि आङ सिरिंङ हुन्छ । वार्षिक सात सय रुपियाँमा बेचिएकी दास न थिएँ म । बेचिएको मान्छेले पशुभन्दा पनि तल्लो श्रेणीको नारकीय जीवन जिउन बाध्य हुनुपर्ने रहेछ ।
काम गर्न साह्रै गाह्रो भएको दिन साँझ घरमा आएर आमासँग रुन्थेँ । ‘के गर्नु छोरी, यस्तो तैले मात्रै भोग्नुपरेको होइन । म, दिदीहरू अनि छिमेकतिर पनि हेर त, सबैले यस्तै भोग्नुपरेको छ’, भन्दै रुनुहुन्थ्यो आमा । सोच्थेँ– ‘मान्छेलाई जुनी दिने भगवान् नै फरक–फरक रै’छन् ।’

पुर्खादेखिकै भूमिहीन कमैया थियौँ हामी । आफ्नै खेतीपाती गर्न जग्गा थिएन । बाहिर गएर कमाउन पढाइ छैन, घाँसदाउराभन्दा बढीको सीप हातमा छैन । जति नै कष्ट भए पनि दासी जीवन स्वीकार्नुको विकल्प थिएन । यद्यपि, कम्लहरीमध्ये म अलि खरो स्वभावकी थिएँ । जमिनदारका परिवारले बिनागल्ती पनि गाली वा कुटपिट गरे सहनै सक्दिनथेँ । त्यही विद्रोही स्वभावको बदलामा म जहिल्यै कम ज्याला पाउने कम्लहरी भएँ । ‘कामभन्दा धेरै मुख लाग्छे’ भनेर हप्काउँथे । साथीहरूले हजार रुपियाँ तलब पाउँदा मलाई जम्मा सात सय दिन्थे । साथीहरूले एक मुरी धान पाउँदा मैले १५ पाथीमा धानमा चित्त बुझाउनुपथ्र्यो ।
आमाको भोको पेटले मलाई बाल्यकालदेखि नै विद्रोही बनाएको थियो । अर्कातिर, दिदीले जमिनदारबाट बलात्कृत हुनुपरेको थियो । त्यसरी जन्मिएको बच्चाको बाबुसमेत देखाउन पाइनन् उनले । कारण उही थियो, निर्धो कम्लहरी हुनु । परिवारभित्र देखिएका यिनै घटनाका कारण आफ्नो सुरक्षाका लागि पनि कडा स्वभावको हुन जरुरी थियो मैले । कैयौँ पटक आपैँmले पनि शारीरिक असुरक्षाको अवस्था सामना गरेकी छु । त्यसैले हरेकचोटि सचेत भएर बस्थेँ । एक्लै काम गर्नुपर्दा कोही जबर्जस्ती गर्न आए प्रतिरक्षाका लागि लाठी वा केही हतियार नजिकै राख्थेँ जहिल्यै । पानी लिएर आउँदा एउटा घैँटो कोखामा अर्को टाउकोमा राख्थ्यौँ । मेरा साथीहरू पानी बोकेर आउँदा धेरै पटक बलात्कृत भएका थिए । त्यसैले म सकेसम्म एक्लै पानी बोक्न जान्नथेँ । सम्झन्छु– कस्तो पीडादायी जीवन भोगेँ मैले † शारीरिक श्रमका लागि बेचिएकी त थिएँ नै, अर्कोतिर मानसिक त्रासमा पनि जकडिनुपर्ने ।
०४५ सालदेखि कम्लहरी बस्न थालेकी हुँ । बाल्यकाल कम्लहरी बनेरै बित्यो, किशोरी भएँ कम्लहरी नै थिएँ, बिहे पनि कमैयासँगै भयो । दिदीलाई परेको समस्यापछि छोरी सुरक्षित हुन्छे भनेर म कम्लहरी बसेसँगैको घरमा कमैया बस्ने केटासँग आमाले बिहे गराइदिनुभयो । १५ वर्षकी थिएँ बिहे हुँदा । जमिनदार अनि उनीहरूका छोराहरूले राम्रो नजरले हेर्दैनन् भन्ने बुझेपछि म पनि बिहेको लागि राजी भएँ । बिहेपछि दुईवटा सन्तान पनि कम्लहरी जीवनमै जन्माएँ ।

१८ वर्षपछि अर्थात् ०६३ सालमा म कम्लहरीबाट मुक्त भएकी हुँ । त्यति बेला वार्षिक चार हजार रुपियाँ तलब तोकिएको थियो । विष्णुप्रसाद अधिकारी थिए, म बसेको घरका जमिन्दार । त्यस बेला कम्लहरीका अधिकारबारे गाउँमा छलफल चल्न थालेको थियो । जमिन्दारले छलफलमा सहभागी भएको थाहा मात्रै पाए हामीले काम छोड्नुपथ्र्यो । मलाई पहिलेदेखि हामी कम्लहरी जुट्न सके दु:खका दिनबाट पार पाउन सकिन्छ भन्ने लागिरहन्थ्यो । त्यसैले कम्लहरीहरूका अधिकारबारे भएका छलफलमा लुकेर सहभागी हुन थालेँ ।
भोलिपल्ट छलफलमा जानु छ भने अघिल्लो दिन नै दुई भारी घाँस काट्थेँ । एक भारी जंगलमा लुकाउँथे । एक भारी लिएर घर आउँथे । भोलिपल्ट जंगल जाने बहाना बनाएर छलफलमा पुग्थेँ, फर्किंदा हिजो काटेको घाँसको भारी बोकेर आउँथे । कहिले घरमा छोराछोरी बिरामी छन् भन्ने बहाना पारेर छलफलमा जाने गर्न थालेँ । तर, आफू कमैयामुक्तिको आन्दोलनमा लागेको कुरा लामो समयसम्म छिपाउन सकिनँ । उनीहरू ‘कि काम गर, कि छोडिदे’ भन्न थालेँ । मैले पनि सोचेँ, ‘एउटा चराले त चारा खोजेर आफ्ना बचेराको पेट भर्छ, मैले पनि यो नारकीय जीवन त्यागेर आफ्ना छोराछोरी हुर्काउन किन नसकुँला ।’ त्यसपछि आफ्नै खुसीले ०६३ सालको माघीपछि कम्लहरी जीवन त्यागेँ ।

म स्कुलको मुखै नदेखेकी मान्छे । राजनीतिबारे केही ज्ञान थिएन । तर, नौमहिने सरकारका क्रममा एमालेले देखाएको छविका कारण त्यही पार्टी मन पथ्र्यो । कांग्रेसीका घरमा कम्लहरी बसेकाले मनका कुरा खोल्न सक्दिनथेँ । कम्लहरी जीवन त्यागेपछि थुप्रै दल मलाई घरमै बोलाउन आए । यद्यपि, एमाले छोड्न मन लागेन । कम्लहरी आन्दोलनमा सक्रिय हुँदै पार्टीको सदस्यता लिएँ, दाङ जिल्लाबाट । संविधानसभाको चुनावताका सक्रिय रूपमा काम गरेँ । यद्यपि, मलाई पार्टीका धेरै सैद्धान्तिक कुराको ज्ञान थिएन । संविधानसभाको परिणाम घोषणा भइसकेपछि सभासद्हरूको छनोटमा मेरो नाम पनि परेछ । पत्यारै लागेन । त्यसैले कसैलाई पनि भनिन । शान्ता चौधरी नामका साथीहरू पार्टीमा अरू पनि थिए । म नै हुँ भन्ने निक्र्योल आपैँmले कसरी गर्न सक्थेँ र ? एक सातापछि केन्द्रीय कार्यालयबाट खबर आएपछि बल्ल पत्यार लाग्यो ।
सभासद् भएपछि काठमाडौं आउने खर्च पनि ऋण लिनुपरेको थियो । लुंगी र ब्लाउजबाहेक अरू कपडा थिएनन् मसँग । पहिलो दिन संविधानसभा भवनमाा लुंगी र ब्लाउज लगाएरै गएकी थिएँ । केही साथीले ‘सोमत नभएकी’ भन्दै कुरा पनि काटे । पछि पार्टीकै एक महिला सभासद््सँग पैसा सापटी लिएर एक जोर साडी किनेँ । मलाई आफ्नो नाम लेख्न पाँच मिनेट लाग्थ्यो । सभासद् भएपछि पढ्न सिकेँ । अँग्रेजी पनि पढेँ । कम्प्युटर चलाउन जानेँ । अहिले आफ्नो जीवनका उतारचढावलाई समेटेर एउटा किताब लेख्दै छु । संविधानसभाले विश्वास गरेर प्राकृतिक स्रोतसाधन समितिको सभापति पनि बनायो ।
जीवनको ३२ वर्षको अवधिमा भोगेका अनुभूति सम्झिँदा कहिलेकाँही मैले एकै जन्ममा दुईटा जुनी
फेरेभैँm लाग्छ । कुन तहमा थिएँ, घाँस दाउरा अनि साहूको जुठोभाँडो मात्रै बुझ्थेँ । अहिले देशको अवस्था बुझ्न सक्ने भएकी छु । एक समय जमिनदारको दासी थिएँ, अहिले तिनै जमिन्दार सम्मानले बोलाउँछन् । जीवनमा आएको परिवर्तन सपनाजस्तो लाग्छ आपैँmलाई ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया