निगमको नोक्सानी घट्यो

oilकाठमाडौं, ९ चैत । नेपाल आयल निगमको मासिक नोक्सानीमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भएको गिरावट र पेट्रोलियम आपूर्तीमा भएको कमीका कारण निगमको नोक्सानी घटेको हो ।

निगमका अनुसार भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार अहिले निगमको मासिक नोक्सानी ३६ करोड ३८ लाख रुपियाँमा झरेको छ । अघिल्लो एक मार्चमा आइओसीले पठाएको मूल्य सूची अनुसार १५ दिन अघि निगमको नोक्सानी ७३ करोड २८ लाख रुपियाँ थियो ।
आइओसीको बक्योता बढी भएपछि करिब दुई साता यता पेट्रोलियमको आपूर्तीमा भएको कटौती अहिले नोक्सानी कमी हुनुको मूख्य कारण हो । बढी पेट्रोलियम आयत गर्दा भइरहेको नोक्सानी आपूर्ती कटौती भएपछि कमी भएको र पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत गिरावट आएकाले निगको मासिक नोक्सानी करिब ५१ प्रतिशतले घटेको छ । अहिले पनि साविक अनुसार पेट्रोलियम भने आपूर्ती नभएको जनाइएको छ ।
नया सूचीअनुसार एलपी ग्यासमा निगमलाइ प्रति सिलिन्डर ५ सय १३ रुपियाँ नोक्सानी छ भने कुल नोक्सानी ६६ करोड ७१ लाख रहेको जनाएको छ । यस्तै, डिजेलमा प्रति लिटर एक रुपियाँ १७ पैसा र कुल नोक्सानी ७ करोड ९१ लाख रहेको छ । ग्यास र डिजेलमा भने कुल नोक्सानी अहिले कमी आएको छ ।
यस्तै, अहिले निगमलाई पेट्रोलमा प्रति लिटर ६ रुपियाँ ६३ पैसा नाफा छ भने कुल नाफा ११ करोड ९३ लाख रहेको छ । मट्टितेलमा प्रति लिटर ९ रुपियाँ १७ पैसा र कुल नाफा २ करोड ७५ लाख छ । साथै, आन्तरिक हवाइ इन्धनमा प्रति लिटर २० रुपियाँ २४ पैसा तथा कुल नाफा ६ करोड ७ लाख रहेको छ भने अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा प्रति लिटर २४ रुपियाँ ९७ पैसा तथा कुल नाफा १७ करोड ४८ लाख रुपियाँ रहेको जनाइएको छ ।
नयाँ मुल्य सूचीअनुसार निगमको नोक्सानीमा केही कमी आएकाले अब एक/दुई दिन भित्रै पेट्रोलियम आयात सहज हुने निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले विगतको भन्दा मासिक नोक्सानीमा केही कमी आएको तथा बक्योता रकम तिर्न सरकारले ऋण दिने निर्णय गरेकाले आपूर्ती सहज हुने विश्वास व्यक्त गरे । तर, ग्यासमा अहिले भइरहेको नोक्सानी कमी नभएसम्म कुल नोक्सानीमा भने कमी आउन नसक्ने उनको भनाइ छ । ग्यास र डिजेलमा भइरहेको नोक्सानीकै कारण आइओसीको बक्योता बढेकाले सहज आपूर्तीमा समेत असर पुगेको निगमको ठहर छ । करिब दुई साता अघिदेखि राजधानीलगायत मुलुकभर पेट्रोलियमको सहज आपूर्ती हुन नसक्दा उपभोक्ता अभाव झेल्न बाध्य छन् । बक्यौता तिर्न नसक्दा पेट्रोलियम आपूर्तीमा भएको समस्याका कारण अभाव चर्कंदै गएपछि सरकारले आपूर्ती सहज बनाउन निगमलाई एक अर्ब रुपियाँ दिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया