घोर्ले भीर वनमा डढेलो

इलाम, ७ चैत । जिल्लाको पश्चिमी गाविस गजुरमुखीस्थित वनमा भीषण आगलागी भएको छ । गजुरमुखी–९ स्थित घोर्ले भीर सामुदायिक बनमा आईतबार रातिदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

वन क्षेत्र बस्तीभन्दा टाढा रहेकाले डढेलो निभाउन स्थानीय र प्रहरी सोमबार ढिलो मात्रै पुगेकाले नियन्त्रणमा समस्या भएको प्रहरी चौकी गजुरमुखीले जनाएको छ । राति नै डढेलो सुरु भए पनि अपरान्ह मात्रै वन समूहका पदाधिकारी, प्रहरी तथा उपभोक्ताले निभाउने प्रयास थालेको स्थानीय शारदा अधिकारीले जानकारी दिईन् ।
आगलागीले सोमबार साझसम्ममा करिब ६० रोपनी क्षेत्रफलको जलेर नष्ट भएको वन उपभोक्ता समितिका अध्यक्ष शिवकुमार राईले जानकारी दिए । ‘करिब दुई सय २० हेक्टर क्षेत्रफलमा फैलिएको वनमा लागेको डढेलोका कारण सयौंको संख्यामा साललगायतका अन्य महत्वपूर्ण वनस्पति र पशु–पंक्षी जलेर नष्ट भएका छन्,’ अध्यक्ष राईले भने ‘चाडै डढेलो नियन्त्रण गर्न नसके अझै बढ्ने निश्चित छ ।’

प्रतिक्रिया