पिएसजी क्वार्टरफाइनलमा

मिलान : नकआउट चरणमा प्रवेश गरेका चारवटै स्पेनिस क्लबमध्येको एक भ्यालेन्सियालाई पाखा लगाउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । दोस्रो लेगमा बुधबार राति १–१ ले बराबरी खेल्दै पिएसजी १८ वर्षपछि यो उपलब्धि हात पार्न सफल भएको हो । यी दुई टोलीबीचको पहिलो लेगमा पिएसजी २–१ ले विजयी भएको थियो ।
इंग्लिस क्लब चेल्सीको पूर्वप्रशिक्षक कार्लोस एन्सेलोटीको प्रशिक्षणमा रहेको पिएसजीले घरेलु मैदानमा खेलिएको पछिल्लो खेलमा निकै संघर्ष गर्नुपर्‍यो । डु अर डाईको परिस्थितिमा उच्च मनोबलमा देखिएको भ्यालेन्सियाले दोस्रो हाफमा अग्रता हासिल गरेको थियो । जोनासले पिएसजीलाई स्तब्ध बनाउने प्रयास गरे पनि एजिक्वेल लाभेजीले बराबरी गोल फर्काएका थिए ।
कार्ड प्रतिबन्धका कारण पिएसजी जाल्टन इब्राहिमोभिक र मार्को भेराटीविनै उत्रिएको थियो । यसै कारण खेलमा भ्यालेन्सियाले बलियो पकड जमाएको थियो । तर, पिएसजीको गोलकिपरको सानदार प्रदर्शन र आफ्नै कमजोर फिनिसिङका कारण स्पेनिस क्लब क्वार्टरफाइनल यात्रा तय गर्नबाट चुक्यो । ‘हाइप्रोफाइल’लाई भित्र्याएर विश्व क्लब फुटबलमा सशक्त आगमनको संकेत गरिरहेको पिएसजीमा भेट्रान मिडफिल्डर डेभिड बेकह्यामको समेत उपस्थिति रहेको छ ।
अन्तिम आठमा पुगेपछि प्रशिक्षक एन्सेलोटीले यस प्रतियोगिताको विजेता बन्न निकै कठिन हुने बताए । नकआउट चरण पुगेका स्पेनिस क्लबमध्ये रियल म्याड्रिड अघिल्लो चरण प्रवेश गरिसकेको छ भने बार्सिलोना बाहिरिने सँघारमा छ । मालागाको यात्रा पनि कठिन देखिएको छ । बुधबार राति नै भएको अर्को प्रिक्वार्टरफाइनल खेलमा स्कटिस क्लब सेल्टिकलाई हराउँदै इटालियन क्लब युभेन्ट्सन क्वार्टरफाइनल पुग्यो । साविक घरेलु लिग विजेता रहेको इटालियन क्लब घरेलु मैदानमा खेलिएको दोस्रो लेगमा २–० ले विजयी हुँदै समग्रमा ५–० ले अगाडि रह्यो । पहिलो लेगमा युभेन्टस ३–० ले विजयी भएको थियो । युभेन्ट्सको जितमा अलेसान्द्रो मात्री र फाबियो क्वाग्लिआरेल्लाले गोल गरे । घरेलु लिगमा सानदार प्रदर्शन गर्दै शीर्षस्थानमा रहेको युभेन्ट्स बुधबार राति नियमित पाँच खेलाडीलाई बेन्चमा राख्दा कम्तीमा बराबरीको नतिजा निकाल्ने योजनामा देखिएको थियो । (एजेन्सी)

प्रतिक्रिया