बन्दहडताल अन्त्यको आग्रह

fncci-adकाठमाडौं, २४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघले बन्द हडतालको राजनीति सदाका लागि अन्त गर्नुपर्ने बताएको छ । बन्दले दैनिक कमाइ गरी जीवनयापन गर्नुपर्नेदेखि आमनागरिक र उद्योग व्यवसायमा नकारात्मक असर पर्ने भन्दै महासंघले सदाका लागि बन्द हडताल अन्त्य गनुपर्ने बताएको हो ।

अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्रलाई गति दिन, नेपालमा लगानीका सम्भाव्यताका विषयमा अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीसँग छलफल गर्न, नेपालसँगको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघले दोस्रो अन्तर्राष्ट्रिय व्यापार मेला २५ फागुनदेखि गर्न लागेको पनि जनाएको छ ।
यो वर्षको मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान, भुटान, अमेरिका, जर्मन, आदि देशका प्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ । मेलामा स्वदेशी एवं विदेशी करिब ३ सयभन्दा बढी स्टलमार्फत विभिन्न स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने पनि महासंघले जनाएको छ ।
महासंघले यस्तो मेला हरेक वर्ष गर्ने लक्ष्य राखेको छ । मेलामा ३ क्षेत्रअन्तर्गत १९ वटा वस्तुलाई विशेष प्रवद्र्धन गरिने भएको छ । त्यस्ता वस्तुमा अलैँची, अदुवा, मुसुरो दाल, चिया, मह, चाउचाउ, जडीबुटी तथा सुगन्धित तेलहरू, हस्तकला तथा औद्योगिक उत्पादनतर्फ हाते कागज, चाँदीका गहना, फलाम तथा स्टिलका उत्पादन, पस्मिना तथा काठका उत्पादन र सेवा क्षेत्रतर्फ पर्यटन, श्रमजन्य, सूचना, स्वास्थ्य सेवा, शिक्षा, इन्जिनियरिङ, जलविद्युत् रहेका छन् ।
प्रत्यक्ष रूपमा मेलाको दुई लाखभन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिब १५ करोड रुपियाँको कारोबार हुने अपेक्षा महासंघको छ ।

प्रतिक्रिया