दोस्रो टेस्टमा भारत इनिङले विजयी

Cricketहैदराबाद, २३ फागुन । दोस्रो म्याचमा एक इनिङ र एक सय ३५ रनले विजयी हुँदै भारतले अस्ट्रेलियाविरुद्धको चार म्याचको टेस्ट शृंखलामा २–० ले अग्रता लिएको छ । पहिलो इनिङमा २ सय ६६ रनले पछाडि परेको भ्रमणकारी टोली अस्ट्रेलिया चौथो दिन मंगलबार लन्च समयअगावै एक सय ३१ रनमा अलआउट भयो । अस्ट्रेलियालाई सस्तैमा समेट्नेक्रममा स्पिनरद्वय रविचन्द्रन आश्विनले पाँच र रविन्द्र जडेजाले तीन विकेट लिए ।

दोस्रो इनिङमा पनि अस्ट्रेलियाको प्रदर्शन कमजोर रह्यो । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे पनि चौथो दिन ७४–२ को स्थितिबाट खेल थालेको अस्ट्रेलियाले ५७ रन मात्र थप्न सक्यो । पाहुना टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान एड कोवानले सर्वाधिक ४४ रन जोडे । फिलिप ह्युज शून्य, सेन वाट्सन ९, कप्तान माइकल क्लार्क १६ र विकेटकिपर म्याथ्यु वेडले १० रन बनाए । पहिलो टेस्टमा डेब्यु गर्दै सानदार प्रदर्शन गरेका मोजेज हेनरिक्सले भने यस टेस्टमा पाँच रन(५,०) मात्र जोडे । सुरुआती विकेटका रूपमा २६ रन जोडेर डेभिड वार्नर आउट भएपछि अस्ट्रेलिया कुनै पनि समय सम्हालिन सकेन ।
पहिलो टेस्टमा १२ विकेट लिएका आश्विनले यस टेस्टको पहिलो इनिङमा एक विकेट मात्र लिए पनि दोस्रोमा २८ ओभर बलिङ गर्दै १२ मेडन राखेर ६३ रन खर्चिएर विकेटसँगै सानदार सफलता हात पारे ।
२३७–९ को स्थितिमा अप्रत्याशितरूपमा इनिङ समाप्तिको घोषणा गरेको अस्ट्रेलिया चेतेश्वर पुजारा र मुरली विजयको सानदार प्रदर्शनपछि आफ्नो ‘हाइ रिक्स्ड डिसिजन’मा नराम्रोसँग विफल भयो । यसमा बलरमाथि विश्वास गरेको अस्ट्रेलियाविरुद्ध पुजाराको २ सय ४ र विजयको १ सय ६७ रनको योगदानसँगै यी दुईले दोस्रो विकेटका लागि ३ सय ७० रनको साझेदारी गरेपछि भारतले पहिलो इनिङमा ५ सय ११ रन जोडेको थियो । दोहोरो शतक बनाएका प्रारम्भिक ब्याट्सम्यान पुजारा म्यान अफ दि म्याच भए । तीन वर्षअघि अस्ट्रेलियाविरुद्ध खेलेर टेस्ट क्रिकेटमा डेब्यु गरेका पुजाराले यसबीचमा ११ म्याच खेल्दै चार शतक (दुई पटक दोहोरो शतक) र एक अर्धशतक बनाएका छन् ।
भारतको पछिल्ला दुवै जितमा स्पिनरको प्रदर्शन सानदार रहेको छ । दुई टेस्टका कुल ४० विकेटमध्ये स्पिनरले ३४ विकेट लिएका छन् । घरेलु मैदानमा आश्विनले ११ टेस्टमा आठौँ पटक पाँच विकेट पूरा गरेर लोभलाग्दो सफलता कायम राखे । दुई वर्षअघि मात्र टेस्ट क्रिकेटमा डेब्यु गरेका आश्विनले २७ इनिङ खेल्दै ८१ विकेट लिएका छन् । शृंखलाअन्तर्गत तेस्रो म्याच १४ मार्चमा मोहालीमा सुरु हुनेछ । चेन्नाइमा भएको पहिलो टेस्टमा भारत आठ विकेटले विजयी भएको थियो ।
भारतमा धोनीको इतिहास
हैदराबादमा मंगलबार सम्पन्न टेस्टमा अस्ट्रेलियालाई हराएपछि महेन्द्रसिंह धोनी टेस्ट क्रिकेटमा भारतका सर्वाधिक सफल कप्तान बनेका छन् । टेस्ट कप्तानका रूपमा २२ आँै जित निकालेर धोनीले सौरभ गांगुलीको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । धोनीले ४५ टेस्टमा भारतको कप्तानी गरिसकेका छन् । ४९ खेलमा भारतको नेतृत्व गरेका गांगुलीले त्यसक्रममा २१ जित हात पारेका थिए । धोनीले यसबीचमा टिममा रहेका सवैजनालाई यस सफलताको श्रेय जाने बताए ।

प्रतिक्रिया