दबाबबीच नेपाल फेरि निराश

footballकाठमाडौं, २२ फागुन । दबावपूर्ण प्रदर्शन गर्नु र त्यसैबीच गोल सामना गरेर स्तब्ध बन्नु नेपाली राष्ट्रिय फुटबल टिमको प्राय: खेलमा नियति बन्ने गरेको छ । राजधानीमा जारी एसियाली फुटबल महासंघ(एएफसी) च्यालेन्जकप छनोटअन्तर्गत समूह ‘डी’को खेलमा सोमबार नेपालविरुद्ध उत्रिएर २–० ले विजयी हुँदा दक्षिण एसियाली टोली बंगलादेश निकै भाग्यमानी टोली दरियो भने घरेलु टोली फेरि अर्को पटक गोल गर्न नसकेर एउटा ठूलो प्रतियोगितामा छनोट नहुने सम्भावना बलियो भयो ।

दर्शकले भरिपूर्ण दशरथ रंगशालामा भएको खेलमा दोस्रो मिनेटदेखि नै आक्रमणको शृंखला सुरु गरेको नेपाल २८ औँ मिनेटमा पेनाल्टीमार्फत गरिएको गोलमा पछि परेको थियो र दबाव सामना गरिरहेकै बेला काउन्टर एट्याकमा ५७ औँ मिनेटमा गोल गरेर बंगलादेश २–० ले अगाडि रहेको थियो । यस्तोमा बंगलादेशका गोलकिपर साहिदुल आलमको सानदार प्रदर्शन, केही अवसरमा कमजोर फिनिसिङ र केहीमा बारमा बल लागेर फर्किनु नेपाली टोलीले सफलता हात पार्न नसक्नुका उल्लेख्य कारण बने ।
दोस्रो मिनेटमा भोला सिलवालले गरेको क्रसमा गोलकिपर साहिदुलबाट बल रिबाउन्ड भएपछि प्राप्त मौकामा जगजित श्रेष्ठले गरेको प्रहार उनै साहिदुलले सानदार बचाउ गरे । त्यसको दुई मिनेटपछि जगजितले गरेको कर्नर प्रहारमा भरत खवासले बल फ्लिक गरेर अवसर सिर्जना गरे पनि रोहित चन्द गतिलो देखिएको उक्त अवसरमा बल फ्रेममा प्रहार गर्न विफल रहे । २८ औँ मिनेटमा विराज महर्जनले डी बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा बंगलादेशका स्ट्राइकर रोनीले गोल गरे । त्यसलगत्तै नेपालले खेल बराबरी गर्ने अवस्था देखिए पनि राजु तामाङले गोलकिपरअगाडि बढेको मौकामा गरेको प्रहार गोलकिपर साहिदुलले नै उफ्रिएर सानदार क्लियर गरे ।
पहिलो हाफमा नेपाल थप दुई अवसरमा निराश बन्यो । इन्जुरी समयमा जगजितले गरेको कर्नर प्रहारमा भरत खवासले हेडमार्फत गरेको प्रहार फस्ट बारको टप कर्नरमा लागेर बाहिरियो । त्यसको केही मिनेटअघि मात्र सागर थापाले नियन्त्रणबाहिर देखिएको बंगलादेशको गोलपोस्टमा सिक्स यार्ड नजिकैबाट गोल गर्न नसक्दा नेपाल गोल गर्ने थप अर्को अवसरमा विफल बनेको थियो ।
दोस्रो हाफमा आक्रमणलाई थप सशक्त बनाएको नेपाल ५० औँ मिनेटमा अनिल गुरुङ खालीपोस्टमा गोल गर्न खोज्दा लडेपछि खेलमा फर्कन गरिरहेको मिहेनत खेर जानेक्रम कायमै रहन पुग्यो । त्यसलगत्तै भरतले गरेको प्रहार बारमा लागेर फर्कियो । आफ्नै एरियामा अधिकांश समय बल घुमिरहेका बेला ५७ औँ मिनेटमा बंगलादेशले काउन्टर एट्याकमा गोल गरी घरेलु टोलीलाई थप निराश बनाएको थियो । रोनीले वन भर्सेस वनमा सहजै गोल गरे ।
पहिलो गोल ‘गुड’ थियो र दोस्रो गोल ‘लक्की,’ जितपछि बंग्लादेशका डच प्रशिक्षक डे क्रायफले भने, ‘नेपालले राम्रो खेल्यो, अवसर पनि पाएको थियो तर यो फुटबल हो, यसमा यस्तै हुन्छ ।’ विशाल घरेलु दर्शकसामु खेल्दा आफ्नो टोलीका केही खेलाडी सुरुको १५/२० मिनेट निकै निराश बनेको बताउँदै क्रायफले पछि डटेर प्रदर्शन गरेको बताए । बंगलादेशको प्रशिक्षकका रूपमा क्रायफको यो दोस्रो खेल हो भने पहिलो जित । यता नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले आफ्नो टोली ‘बिग अनलक्की’ भएको प्रतिक्रिया दिए ।
हारपछि नेपाल दुई खेलबाट तीन अंक जोड्दै दोस्रो स्थानमा छ । दुई खेलबाट तीन अंक जोडेको बंगलादेश तेस्रोमा छ । त्यति नै खेल खेलेको प्यालेस्टाइन छ अंक जोडेर शीर्षस्थानमा छ । सोमबार भएको पहिलो खेलमा नर्दर्न मारियाना आइल्यान्डलाई ९–० ले पराजित गरेर प्यालेस्टाइनले छनोट हुने सम्भावना बलियो बनायो । समूहको आ–आफ्नो अन्तिम खेलमा प्यालेस्टाइन र नेपाल तथा बंगलादेश र नर्दर्न आइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । समूहको विजेता छनोट हुनेछ भने दोस्रो स्थानमा रहने टोलीको सम्भावना कायम रहनेछ ।

प्रतिक्रिया