रेसमान्डुमा समर र निखिल पहिलो

काठमाडौं, २० फागुन । समर मानन्धर र निखिल ठकुरी रेसमान्डु (मोटरबाइक रेस) मा शनिबार पहिलो भएका छन् । रेस दुई समूहमा विभाजन गरी खेलाइएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको रेसमा समर १९८ देखि २५० सीसीसम्ममा पहिलो भएका हुन् । सेन विल्सन मोक्तान दोश्रो तथा सुजित ताम्राकार तेस्रो भए । नेपाल पर्वतीय खेलकुद महासंघको संयोजनमा नेपाल अटोमोबाइल खेलकुद संघ

(नासा) द्वारा आयोजित रेसको १९८ सीसीसम्ममा निखिलले बाजी मारे । स्वर्ण खड्का दोस्रो तथा विप्लप श्रेष्ठ तेस्रो स्थानमा रहे ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले समान नगद पुरस्कार जिते । पहिलोले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार जिते । दुवै समूहमा गरी ५४ प्रतिस्पर्धी सहभागी थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य मनबहादुर न्यौपाने, नासाका अध्यक्ष दशरथ रिसाललगायतले पुरस्कार प्रदान गरे । यसअघि रेसको राखेप सदस्य–सचिव युवराज लामाले उद्घाटन गर्दै राखेप र सरकारले दक्षिण एसिया र एसियामा नेपाललाई माउन्टेन स्पोर्टस् (पर्वतीय खेलकुद)को केन्द्र बनाउने उद्देश्यका साथ पर्वतीय खेलकुद महासंघ गठन गरेको जानकारी गराए । सदस्य–सचिव लामाले मेचीदेखि महाकालीसम्म यस्तो कार्यक्रम आयोजना गर्न नासा लागिपर्नुपर्ने सुझाव दिए । स्याकर कम्पनीका अध्यक्ष सौरभ ज्योतिले मोटर स्पोर्टस्मा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया