धर्ती फाट्दा खाटैसहित मान्छे गायब

Sinkhole_swallowsफ्लोरिडामा घरभित्रको बेडमा सुतिरहेका एक व्यक्ति एकाएक गायब भएका छन् । बेडमुनिको जमिन एक्कासि धस्सिएर बीस फुट गहिरो खाडलमा खसेका उनी अझै भेट्टिएका छैनन् ।
सुरक्षाकर्मी खाडलभित्रबाट ३६ वर्षीय जेफरी बुसलाई निकाल्ने प्रयासमा लागिपरेका छन् तर उनको निधन भइसकेको अनुमान गरिएको छ । अधिकारीहरूले केही समयलाई खोजीकार्य स्थगित गरेका छन् । घरमुनिको कति जमिन धस्सिएको हो भन्ने पत्ता लगाएपछि पुन: सुचारु गर्ने योजना उनीहरूको छ । हिल्सबोरी काउन्टीका फायर चिफ रोजर फ्लोरिडाका केही ठाउँमा यसरी जमिन धस्सिनु सामान्य भएको बताउँछन् । जेफरीका भाइ जेरेमीले उक्त रातको वर्णन गरे– ‘बिहीबार राति मैले ठूलो विस्फोटसहित केही खसेको आवाज सुनेँ, जेफरी मद्दतका लागि चिच्याइरहेका थिए । म त्यहाँ पुगेर हेर्दा खाट जमिन तल धस्सिइरहेका थियो । खाट र जेफरी दुवै गायब थिए । त्यहाँ हाम फालेर निकै खोजेँ तर उनलाई भेट्टाउन सकिनँ ।’
फ्लोरिडा गुफा तथा कन्दराहरूमा बसेको क्षेत्र भएको र ती गुफामा पानीको कटान बढ्दै जाँदा जमिन धस्सिने सम्भावना बढेको फायर चिफ रोजर बताउँछन् । उनका अनुसार बचाउका लागि सुरक्षाकर्मी भित्र पुग्दा घरको अतिरिक्त हिस्सा पनि जमिनमा धसिइरहेको थियो । जेफरी भेट्टिने आशमा सुरक्षाकर्मीले खाडलमा क्यामेरा र आवाज सुनिने यन्त्र फिट गरेका छन् भने थप मानिसलाई जोखिमको जोगाउन वरिपरिका घर पनि खाली गराएका छन् । (एजेन्सी)

प्रतिक्रिया