आयोजनामै दंग पर्न नपरोस

nepali-teamकाठमाडौ, १९ फागुन । लगातारको असफलता, कमजोर प्रदर्शन, नियमित प्रतियोगिताको आयोजना र पनि दर्शकमाझ लोकप्रिय । नेपाली फुटबलका पछिल्ला केही वर्षयताको वास्तविकता यही नै हो । पछिल्लो सस्करणको फाइनल चरणमा निराशाजनक प्रदर्शन गरेको नेपालले पाँचौँ एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल चरणमा खेल्ने अपेक्षासहित घरेलु मैदानमा छनोट खेलको आयोजना गरेको छ । समूह डिमा नेपालले प्यालेस्टाइन, बंगलादेश र उत्तरी मरिना आइज्ल्यान्डको सामना गर्नेछ । समूहमा शीर्षस्थान पाउने टोलीले आगामी वर्ष माल्दिभ्समा हुने प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउने छ भने दुई उत्कृष्ट रनर अप पनि अन्तिम चरणमा छनोट हुनेछन् ।

कुनै अप्रत्याशित परिणाम नआए नेपालले जितसहित छनोट चरणको खेल सुरु गर्नेछ । शनिबार नेपालले नर्थन मारिना आइज्ल्यान्डसँग सामना गर्नेछ । ओसियाना समूहबाट पहिलोपटक एसियाली समूहमा खेल्न आएको नर्थन आइज्ल्यान्डविरुद्ध नेपालले फराकिलो गोल अन्तरको जित हात पार्ने अनुमान गरिएको छ । आइज्ल्यान्डका प्रशिक्षक कु लुवाम खेनले समेत आफ्ना टोलीको लक्ष्य जित्ने नभई राम्रो र जुझारु खेल्ने मात्र भएको बताएका छन् । आइज्ल्यान्डको पहिलो अफिसियल प्रतियोगिता हो ।
तथापि छनोट चरणका बाँकी दुई खेलमा नेपाली टोलीका लागि पक्कै सहज हुनेछैन । प्रतियोगितामा सहभागी हुने प्यालेस्टाइनी टोली सबैभन्दा बलियो मानिएको छ । अन्य प्रतिद्वन्द्वीले पनि प्यालेस्टाइन बलियो भएको जनाइसकेका छन् । प्रतिद्वन्द्वी बंगलादेशसँगको खेल नेपालका लागि मुख्य परीक्षण हुनेछ ।
पछिल्लो साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच भेट हुँदा सागर थापाको अविश्वसनीय गोलले नेपाल १–० ले विजयी भएको थियो । त्यसपछि नेपालमा भएको मैत्रीपूर्ण खेलमा यी दुई टोलीबीच १–१ गोलको बराबरी भएको थियो । यसपटक पनि नेपाल र बंगलादेश बराबरका मानिएका छन् ।
छुट्टै राज्य नभए पनि एएफसीबाट अथोरिटी पाएको प्यालेस्टाइनले पहिलोपटक वरियता पाउने क्रममा सन् १९९९ मा १ सय ९१ औँ स्थानमा रहेको थियो । त्यसको सात वर्षपछि १ सय १५ औँ स्थानमा उक्लनबाट प्यालेस्टाइनले फुटबलमा गरेको प्रगति प्रस्ट हुन्छ । सन् २०१२ का लागि भएको ओलम्पिक छनोटमा प्यालेस्टाइनले थाइल्यान्डसँग टाइब्रेकरमा पराजयको सामना गरे पनि थाइल्यान्डले अवैध खेलाडी खेलाएको कारण प्यालेस्टाइनले अर्को चरणमा बहराइनसँग खेल्ने अवसर पाएको थियो । बहराइनसँग अवे गोलको आधारमा प्यालेस्टाइन बाहिरिएको थियो । एसियाली फुटबलमा डार्कहर्सको रूपमा उदाएको प्यालेस्टाइनले एएफसी च्यालेन्ज कपमा केही महत्त्वपूर्ण खेलाडी भने गुमाएको छ । रइद फारेस, हातिम दाहिद, इस्माइल अमाउरलगायत आधा दर्जन प्रमुख खेलाडीको इन्जुरी भने प्यालेस्टाइनका लागि महँगो सावित पनि हुन सक्नेछ । भारतसँग हालसालै भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका अस्राफ नुमान नै हेर्न लायक खेलाडी हुनेछन् ।
जहाँसम्म नेपाली टोलीको कुरा छ , फरवार्ड लाइन नै नेपालको सबैभन्दा कमजोर पक्ष रहेको छ । भरत खवासबाहेक अन्य खेलाडीको पछिल्लो समयको फर्म हेर्दा कुनै पनि आधारमा नेपाली टोलीले विश्वास गर्न कठिन हुनेछ ।
एएफसी च्यालेन्ज कपमा नेपालको प्रदर्शन मिश्रित रह्यो । यसकारण वितगकै आधारमा नतिजाको अनुमान गर्नु भने गतल हो । तथापि, पहिलो संस्करणमा सेमिफाइनलको यात्रा तय गरेको नेपाल त्यसपछि झनै कमजोर देखियो । पहिलो संस्करणमा पाँच गोल गरेका प्रदीप महर्जन दोस्रो संस्करणमा जमेनन् । तेस्रो संस्करणमा पनि अन्तिम चरणमा छनोट नभएको नेपाल चौथो संस्करणको खेलमा भरत खवासले गरेको एउटै गोलमा अन्तिम चरणको यात्रा तय गर्न सफल भयो । तथापि, फाइनलमा घरेलुभूमिमा निराशाजनक प्रदर्शन गदै नेपालले तीनवटै खेलमा हार बेहोर्‍यो ।
यसपटक समूह डिमा प्यालेस्टाइन बलियो मानिएको छ भने त्यसपछि नेपाल र बंगलादेश समान हैसियतका मानिएका छन् । पाकिस्तानसँगको पहिलो मैत्रीपूर्ण खेलमा अस्वाभाविक परीक्षण गरेर आलोचित नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफान्स्की अन्तिममा टोलीमा समर्थकले चाहेअनुसारको परिवर्तन गर्ने हिम्मत गरेनन् । लामो समयदेखि टोलीमा रहेका खेलाडीले नै सायद बढी प्राथमिकता पाउनेछन् । उनीहरूका लागि विगतमा बिग्रिएको छवि सुधार्ने यो अन्तिम अवसर भने हुन सक्नेछ ।

प्रतिक्रिया