सुनको मूल्य आठ महिनायताकै न्यून

Goldकाठमाडौं, ११ फागुन । बिहीबार सुनको मूल्य गत आठ महिनायताकै न्यून बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवयासी संघले बिहीबारका लागि सुन प्रतितोलाको ५५ हजार ७ सय रुपियाँ तोकेको हो । यो अघिल्लो दिनको तुलनामा १३ सयले कम हो । बुधबार सुन प्रतितोलामा दुई सय रुपियाँले घटेर तोलाको ५७ हजार रुपियाँ पुगेको छ । तीजको समयमा सुनको मूल्य बढेर प्रतितोलाको ६२ हजार रुपियाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार ओरालो लागेपछि नेपालमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा गिरावट आएकाले नेपालको आन्तरिक बजारमा पनि सोहीअनुसार गिरावट आएको बताए । ‘बिहीबार एकै दिन अन्तर्राष्ट्रिय बजारमा १६ सय ६ अमेरिकी डलर प्रतिऔँसबाट ४६ डलर घटेर १५ सय ६० प्रतिऔँस पुगेको छ,’ उनले भने । अन्तर्राष्ट्रिय रूपमा सेयर बजारमा सुधार हुँदै गएपछि सुनका लगानीकर्ता सेयर बजारतर्फ ढल्किएकाले सुनको मूल्यमा कमी आएको उनले जानकारी दिए । खासगरी अन्तर्राष्ट्रिय सेयर बजारमा एसएन्डपी ५०० परिसूचकमा भएको सुधारका कारण लगानीकर्ता सेयर बजारतर्फ आकर्षित भएका हुन् । सुनका लगानीकर्ता सेयर बजारतर्फ आकर्षित भएपछि बजारमा सुनको आपूर्ति बढ्न गई माग र आपूर्तिको सिद्धान्तअनुसार सुनको मूल्य घट्न गएको हो । यता केही दिनयता अमेरिकी डलरको स्थान विस्तारै मजबुत हुँदै गएको छ । यसले पनि सुनको मूल्य घटाउन सजिलो बनाएको संघका निवर्तमान अध्यक्ष शाक्यले बताए ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपियाँले घटेको छ । बुधबार एक हजार ७० रुपियाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर प्रतितोला एक हजार ४० रुपियाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही समयअगाडि भारतले सुनको आयात उच्च भएको जनाउँदै सुन आयातमा भन्सार शुल्क बढाएर ४ प्रतिशतबाट ६ प्रतिशत पुर्‍याएको थियो । भारतको सुन आयातमा कर बढाएलगत्तै नेपालले पनि सुन आयातमा भन्सार शुल्क बढाएको थियो । भारतमा सुनको भन्सार बढाएपछि त्यसकै हाराहारीमा नेपालमा पनि भन्सार शुल्क वृद्धि भए पनि त्यसको असर भने स्थानीय बजारमा परेको थिएन । सुनको भन्सार बढाएकै दिनदेखि उल्टो नेपालमा भने सुनको मूल्य घट्न थालेको एक सुन व्यवसायीले बताए । नेपालको स्थानीय बजारमा ६२ हजार प्रतितोलासम्म पुगिसकेको सुनको मूल्य बिहीबार घटेर ५५ हजार ७ सय रुपियाँसम्म पुगेपछि स्थानीय बजारमा सुनको माग बढ्ने अड्कल व्यवसायी गर्न थालेका छन् ।
नेपालमा पनि तरल राजनीतिक अवस्थाका कारण लगानीको वातावरण खुम्चिँदै जाँदा सुनमा लगानी गर्ने एवं सुनको धितोमा कर्जा लगानी गर्ने बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा २१ अर्ब २१ करोड ३१ लाख रुपियाँ ऋण प्रदान गरेका छन् । वाणिज्य बैंकले गत आवमा ६ सय २२ अर्ब ५३ करोड ७४ लाख ऋण प्रवाह गरेकामा ३ दशमलव ४१ प्रतिशत कर्जा सुनचाँदीको धितोमा प्रवाह गरेका हुन् । अघिल्लो वर्ष ५१ दशमलव ३ प्रतिशतले सुनचाँदी धितो कर्जामा वृद्धि भए पनि गत आवमा भने ३५ दशमलव ७ प्रतिशतले मात्र बढेको छ ।

प्रतिक्रिया