फागुन ७ र दलीय व्यवस्था

मुलुकमा जरा गाडेर बसेको निरंकुशता हटाउन नेपाली जनताले विभिन्नखाले संघर्ष गर्नुपर्‍यो । बेग्ला–बेग्लै कालखण्डमा गरिएका कठोर संघर्षका कारण राजनीतिक रूपले व्यवस्था परिवर्तन भए । १९९७ सालबाट सुरु भएको एकतन्त्रीय राणाशासनविरुद्धको आन्दोलन २००७ साल फागुन ७ गते पूर्ण भयो र जहानियाँ राणा शासनको अन्त्य भयो । यो आन्दोलनलाई सफलतापूर्वक टुङ्ग्याउन नेपाली सपूतले जीवनआहुति गर्नुपर्‍यो । जेल, नेल र प्रवास भोग्नुपर्‍यो । तथापि, एक खालको परिवर्तन आयो र नेपालमा दलीयव्यवस्था अपनाउने परिपाटीको सुरुआत भयो । अर्थात्,२००७ साल फागनु ७ गतेदेखि नेपालमा प्रजातन्त्र स्थापना भयो । जुन प्रजातन्त्रले नेपाली जनतामा राजनीतिक चेतना जगायो र निरंकुशताविरोधी सोचको विकास गर्‍यो । २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था अपहरण गरे पनि जनताको मनमा प्रजातन्त्रप्रति अगाध आस्था जीवित राख्ने काम भयो । यसैकारणले २०३६ साल, २०४६ साल र २०६२।६३ को जनआन्दोलन सफल भएका हुन् । यी सबै आन्दोलनका जगमा २००७ सालको ऊर्जाले काम गरेको छ । अहिले गणतन्त्र आए पनि तत्कालीन अवस्थामा २००७ सालमा भएको प्रजातान्त्रिक आन्दोलनले यसको पृष्ठभूमि तयार गरेको मान्नुपर्छ । प्रत्येक आन्दोलनले आ–आफ्नै खाले विशिष्ट इतिहास रचेका छन् । यही कारणले गर्दा २००७ साल फागुन ७ गतेको प्रजातन्त्र दिवसको पनि विशिष्ट महत्त्व रहेको छ । यो महत्त्वलाई घटाउने काम कहीँ कतैबाट गरिनुहुँदैन ।
नेपाली जनताले विभिन्न कालखण्डमा थुप्रैखाले संघर्ष गरे । तिनै संघर्षहरूका परिणाम अहिले हामी गणतन्त्रमा प्रवेश गरेका छौँ । तर, नेपाली जनताको संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिहरूलाई सुदृढ गर्दै स्थायित्व दिन नेपालीले सकिरहेका छैनन् । विशिष्ट परिस्थितिमा प्राप्त उपलब्धिलाई राजनीतिक पार्टी र त्यसका नेताहरूले गम्भीरतापूर्वक लिएर रक्षा र सम्वद्र्धन गर्न नसक्दा बारम्बार प्रजातन्त्र अपहरण भएको इतिहास हामीसँग छ । अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्र आए पनि यो उपलब्धिको रक्षाका लागि दल र नेताहरूले खासै ध्यान दिएको पाइँदैन । बरु सत्ताका लागि आपसमा झगडा गर्ने र दलीय व्यवस्थाप्रति नै आँच आउने काम गरिँदै छ । दल र दलका नेताहरू असफल हुनु भनेको प्रजातन्त्रलाई अफापसिद्ध गराउनु हो । राष्ट्र, जनता र व्यवस्थाप्रति उत्तरदायी बन्नुपर्ने नेताहरू आफ्नै स्वार्थ र तुष्टि पूरा गर्न तल्लीन हँुदा राजनीति मात्र होइन व्यवस्थासमेत अस्थिर बन्न पुगेको छ । यो अवस्थाबाट मुलुकलाई मुक्त पार्दै उपलब्धिहरूको रक्षा गर्न दल र शीर्ष नेताहरू लाग्नुपर्छ । यसले मात्र प्रजातन्त्रको रक्षा र जनताको उत्थान गर्न सक्छ । अन्यथा हामीले उपभोग गरिरहेको यो स्वतन्त्रता पनि हरण हुन सक्छ ।
आज प्रजातन्त्र दिवस । दिवस दिवसकै रूपमा मात्र सिमित भएको छ । प्रजातन्त्रको मर्म र भावनालाई आत्मसात गर्न कन्जुस्याइँ पनि गरिँदै छ । फागनु ७ गतेको गरिमा र महत्त्वलाई कसैले पनि बिर्सन र असान्दर्भिक ठहर्‍याउन मिल्दैन । यसले नेपाली जनतालाई राज्यका सबै अंगमा पहुँच राख्नसक्ने र दलीयपद्धतिप्रति आफैँ निर्णय गर्न सक्ने बनाएको हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलन नै जनतामा राज्यव्यवस्था सुम्पने सफल र ऐतिहासिक आन्दोलन थियो । अहिले पनि त्यसैको निरन्तरता हामीले उपभोग गरिरहेका छौँ । तसर्थ, दलीयव्यवस्था, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको जननी फागनु ७ गते नै हो । नेपालको इतिहासले स्थापित गरेको यो दिनलाई सम्झेर दल र शीर्ष नेताहरूले सत्ता लोभबाट मुक्त हँुदै प्राप्त उपलब्धि रक्षा खातिर जुट्नुपर्छ । फागनु ७ गते प्रजातन्त्र दिवस मनाउनुको सार्थकता पनि यही हुनेछ । प्राप्त उपलब्धिको रक्षा गर्दै दलीय व्यवस्थाको मूल्य, मान्यता र पद्धतिमा कायम रहूँ यही नै अहिलेको प्रमुख दायित्व हो ।

प्रतिक्रिया