चिराइतोबाट ६ करोड

इलाम : इलामका किसानले यो वर्ष चिराइतो बिक्रीबाट पाँच करोड ७५ लाख १५ हजार दुई सय रुपियाँ भित्र्याएका छन् ।

यहाँका किसानले चालु आर्थिक वर्षमा ७१ हजार आठ सय ९४ किलोग्राम चिराइतो उत्पादन गरेका हुन् । उनीहरूले उत्पादन गरेको चिराइतो प्रतिकिलो सात सय रुपियाँमा बिक्री भइरहेका छन् । विगत एक दशकदेखि व्यावसायिक जडीबुटी खेतीमा लागेका यहाँका किसानले यो वर्ष जिल्लाकै अर्थतन्त्र उकास्ने गरी चिराइतो उत्पादन गरेका हुन् ।
अघिल्लो वर्ष जिल्लामा १२ हजार ६ सय ५० किलोग्राम चिराइतो उत्पादन भएको जिल्ला वन कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष प्रतिमन १९ हजार रुपियाँको भाउमा चिराइतो बिक्री भएको थियो ।
सात वर्षदेखि उच्च पहाडी तथा जडीबुटी उत्पादक संस्थाको प्राविधिक सहयोगमा जिल्लाका लेकाली क्षेत्रका विभिन्न गाविसमा चिराइतोको व्यावसायिक खेती गरिँदै आइएको छ । माइमझुवा, माबु, जमुना, जोगमाई, प्याङ, नयाँबजार, सुलुबुङ, माई–पोखरी, फुतप्पा, पुवामझुवा, चमैता, एकतप्पा, गोर्खे, सुम्बेकलगायत गाविसमा व्यावसायिक रूपमा चिराइतो खेती गरिँदै आएको संस्थाका संयोजक धनबहादुर खाम्दाकले बताए ।
जिल्लाका करिब १० हजार किसानद्वारा २६ हजार ६ सय २८ रोपनी क्षेत्रफलमा व्यावसायिक चिराइतो खेती गरिँदै आइएको छ । त्यस क्षेत्रका किसानलाई जडीबुटी खेतीका लागि जिल्ला वन कार्यालय इलामले परिचयपत्रको समेत व्यवस्था गरेको छ । कालो ओखतीका रूपमा चिनिने चिराइतोको डाँठ औषधिको प्रयोगका लागि बिक्री गरिन्छ । त्यसको वीज भने बिउका लागि प्रयोग गरिन्छ । किसानले यो वर्ष वीज बिक्री गरेर मात्रै ७१ लाख ८९ हजार चार सय रुपियाँको हात पार्न सफल भएका छन् । उनीहरूले एक हजार सात सय ९७ मन वीज बिक्री गरेको छन् । नेपालमा चिराइतोको प्रशोधन कारखाना नभएकाले किसानले उचित मूल्य पाउन सकेका छैनन् । (सौस)

प्रतिक्रिया