गौरीशंकर संरक्षण क्षेत्रमा बढ्यो तस्करी

दोलखा, २१ माघ । गौरीशंकर संरक्षण क्षेत्रबाट चीनतिर चोरीनिकासी बढेको छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र वन फँडानी र चोरीतस्करी बढेपछि तस्करका लागि नयाँ रुट पनि सञ्चालन भएको छ ।

संरक्षण क्षेत्रमा रूख कटानी र जंगली जडिबुटी चोरीनिकासी बढेसँगै चीनमा निर्यात पनि बढेको छ । दोलखाको बिगु ठिङ्साङबाट बहुमूल्य काठ, जडिबुटी र वन्यजन्तु तस्करी बढेको हो । संरक्षण क्षेत्र आयोजनाले प्रभावकारी काम गर्न नसक्दा चोरीतस्करी बढेको स्थानीयको गुनासो छ ।
वन मन्त्रालय र मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले गठन गरेको दुईवटा छानबिन समितिको प्रतिवेदनमा समेत संरक्षण क्षेत्रले प्रभावकारी रूपमा काम गर्न नसक्दा तस्करी बढेको उल्लेख छ । बिगुको ठिङ्साङ क्षेत्रबाट सबैभन्दा बढी तस्करी हुने गरेको स्थानीयको भनाइ छ । सिन्धुपाल्चोकको घोर्थली र बिगुको सिमानामा पर्ने ठिङ्साङबाट बाह्रबिसे र खासातिर तस्करी हुने गरेको छ । स्थानीयका अनुसार त्यस क्षेत्रबाट बहुमूल्य धुपीका काठ, जडिबुटी र वन्यजन्तुको सिकार हुने गरेको छ ।
यसअघि पनि दोलखाको कुरी, श्यामा, रामेछापको गुम्देल, चुचुरे, सिन्धुपाल्चोकको फुल्पिङकट्टी, लिस्तीमा वन फँडानी भएको थियो । त्यस क्षेत्रको वन फँडानी अझै नियन्त्रणमा आउन सकेको छैन । ‘तस्करी हुने ठाउँमा चेकपोस्ट नै छैन,’ बिगुका छिरिङ शेर्पाले भने, ‘जिल्ला वन कार्यालयको रेन्जपोस्ट हटेपछि संरक्षण क्षेत्रले केही व्यवस्था गरेको छैन ।’
गौरीशंकर संरक्षण क्षेत्रका विभिन्न क्षेत्रमा वन फँडानी र तस्करी बढेको गुनासो आएपछि वन मन्त्रालय र मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले दुईवटा छानबिन समिति गठन गरेको थियो । दुवैको प्रतिवेदनले संरक्षण क्षेत्रले प्रभावकारी रूपमा काम गर्न नसक्दा तस्करी बढेको उल्लेख गरेको छ । संरक्षण क्षेत्र लागू भएको तीन वर्ष बितेको छ ।
गौरीशंकर क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण साहले बिगु क्षेत्रमा तस्करी बढेको जानकारी आएको बताए । जिल्ला वन र सुरक्षा निकायसँगको समन्वयको कमीले तस्करी बढेको उनले स्वीकार गरे । तस्करी नियन्त्रणका लागि स्थानीयसँग मिलेर संरक्षण क्षेत्रले काम गरिरहेको र केही दिनमै तीनै जिल्लाका सुरक्षा निकाय र जिल्ला वनसँग संयुक्त छलफल गरेर काम गर्ने उनले बताए ।
बिगुवासीले प्रहरी चौकीको माग गरेपछि सिडिओ कालीप्रसाद पराजुली, दोलखा प्रहरी प्रमुख ओम अधिकारीसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ ।

प्रतिक्रिया