मुलरलाई मेसीको हस्ताक्षर

बार्सिलोना : एक वर्षमै गर्ड मुलरका दुई पुराना विश्व कीर्तिमान तोडेपछि बार्सिलोनाका अर्जेन्टिनी फुटबल सुपरस्टार लिओनेल मेसीले जर्मनीका यी महान् खेलाडीलाई आफ्नो हस्ताक्षर गरेको टिसर्ट पठाएका छन् । यसक्रममा मेसीले मुलरप्रति कृतज्ञतासहितको व्यक्तिगत सन्देश पनि पठाएको जनाइएको छ ।
मेसीले सन् २०१२ मा क्लब र राष्ट्रका लागि ९१ गोल गर्दै मुलरको नाममा रहेको ४० वर्ष पुरानो कीर्तिमान ६ गोल बढी गरेर सुधार गरेका थिए । गत सिजन मेसीले क्लबका लागि ७३ गोल गर्दै मुलरकै नाममा रहेको एक सिजनमा सर्वाधिक क्लब गोलकर्ताको कीर्तिमान तोडेका थिए । एक वर्षमा ९१ गोल गरेकै मुख्य कारण मेसी सन् २०१२ का लागि फिफा वर्ष खेलाडी घोषित भएर यो अवार्ड सर्वाधिक चारपटक हात पार्ने पहिलो खेलाडी बने ।
पछिल्लोपटक फिफा वर्ष खेलाडी घोषित भएको दुई दिनपछि मेसीले मुलरप्रति सद्भाव व्यक्त गर्दै उनको नाममा बार्सिलोनाको ‘होम’ टिसर्टमा हस्ताक्षर गरेर पठाएका हुन् । ‘मुलरका लागि, मेरो सम्मान र प्रशंसा, अनि सँगसगै अंकमाल पनि,’ हस्ताक्षरित टिसर्टमा मेसीले उल्लेख गरेका छन् । बार्सिलोनाका अध्यक्ष सान्द्रो रोसेलले पनि बायर्न म्युनिखका समकक्षी कार्ल–हेन्ज रुमिनेगेलाई पत्र पठाउँदै मुलरले सो क्लबमा रहेर बनाएको कीर्तिमानको कोसेढुंगाप्रति आभार व्यक्त गर्दै उनको कीर्तिमान ‘एउटा आकर्षण र मेसीका लागि लक्ष्य’ बनेको बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया