सरस्वतीको आत्महत्या पुन:पुष्टि

काठमाडौं, २४ पुस । अनामनगरस्थित कृष्ण प्रसाइंको घरमा मृत अवस्थामा भेटिएकी सरस्वती सुवेदीको पोस्टमार्टम रिपोर्ट झुन्डिएरै आत्महत्या गरेको भनेर आएको छ । मृतक सुवेदीको दोस्रोपटक गरिएको पोस्टमार्टम गरिएको हो ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा यसअघि गरिएको पोस्टमार्टममा पनि झुन्डिएरै आत्महत्या गरेको रिपोर्ट आएको थियो । आफन्त तथा महिला अधिकारवादीले सुवेदीलाई हत्या गरिएको दाबी गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा दोस्रोपटक पोस्टमार्टम रिपोर्ट लिइएको थियो । दोस्रोपटकको पोस्टमार्टम भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।
सुवेदीलाई प्रसार्इं परिवारले हत्या गरेको भनिएपछि महिला अधिकारवादीको दबाबमा प्रहरीले प्रसाईंसहित उनकी पत्नी सावित्रा र छोरा प्रक्षेपणलाई १५ पुसमा पक्राउ गरेको थियो । अनुसन्धानका लागि भन्दै उनीहरूलाई प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरेर हिरासतमा राखेको थियो ।
३१ वर्षीय सुवेदी सात वर्षदेखि प्रसाईंका घरमा घरेलु कामदारका रूपमा कार्यरत थिइन् । ३० मंसिरमा पाँचतले घरको सिरान तलास्थित बाथरुममा उनलाई प्रहरीले मृत फेला पारेको थियो । प्रसार्इं परिवारले सुवेदीले आत्महत्या गरेको बताए पनि सुवेदीका आफन्तले हत्या गरेको दाबी गरेका थिए ।
ढेगनी हत्यामा आठलाई जन्मकैद
चितवन, २३ पुस । माडीमा जिउँदै जलाएर हत्या गरिएकी ढेगनी महतोको हत्यामा संलग्न आठलाई जन्मकैद भएको छ ।

जिल्ला अदालतका न्यायाधीश भोलानाथ चौलागार्इंको एकल इजलासले हत्यामा संलग्न विक्रम महतो, उनकी पत्नी विक्रमीया, छोरीहरू मञ्जु, लक्ष्मी, सन्जु, कृष्णकुमारी, ज्वाइँ विक्रम र झाँझी जुगेश्वर महतोलाई जन्मकैदको सजाय सुनाएको हो ।
बोक्सीको आरोपमा जिउँदै जलाएर हत्या गरिएकी बघौडा–२ की महतोको हत्या प्रकरणमा झाँक्री महतोसहित आठको संलग्नता रहेको अदालतले पुष्टि गरेको छ । ५ फागुन ०६८ एकल महिला महतोलाई बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो ।

प्रतिक्रिया