अखिल क्रान्तिकारीद्वारा पाँच विद्यालय बन्द

जाजरकोट, २४ पुस । रद्द गरिएको एसएलसी परीक्षा केन्द्र, दल्ली पुन:स्थापना गरिनुपर्ने माग गर्दै एमाओवादी निकट अखिल क्रान्तिकारी जाजरकोटले सोमबारदेखि जिल्लाका पूर्वी क्षेत्रका दुई उच्च माविसहित पाँच विद्यालयमा अनिश्चितकालीन शैक्षिक हडताल गरेको छ ।

क्रान्तिकारीले त्रिभुवन उच्च मावि खगेनकोट दल्ली, भानुभक्त उच्च मावि लहँ, पञ्चभयार मावि खगेनकोट, जानकी मावि खगेनकोट र जुनी बाल संरक्षण मावि लहँमा अनिश्चितकालीन शैक्षिक हडताल गरेको अध्यक्ष देवराज बोहोराले जानकारी दिए । आफ्ना मागप्रति सम्बन्धित निकाय मौन रहिरहे जिल्लाभरिकै पठन–पाठन ठप्प पार्ने अध्यक्ष बोहराले चेतावनी दिए ।
क्रान्तिकारीको हडतालका कारण विद्यालयको पठन–पाठन पूर्णरूपमा प्रभावित भएको छ भने सुनौलो भविष्य बोकेर विद्यालयका बालबालिकाहरू रित्तै फर्कन बाध्य छन् । परीक्षा केन्द्र दल्लीमा ०६८ सालको एसएलसी परीक्षामा व्यापक अनियमितता भएको भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसै वर्षदेखि लाग्ू हुनेगरी दुई वर्षका लागि उक्त परीक्षा केन्द्र रद्द गरिएको परिपत्र केही महिनाअघि जिल्ला शिक्षालाई पठाएको थियो । परीक्षा नियन्त्रण कार्यालयको यो काम सरासर गरिब विद्यार्थीहरूमाथिको अन्याय भएको क्रान्तिकारीको आरोप छ । ‘घरबाट साग सिस्नु खाएरै परीक्षा दिन सकिने केन्द्रलाई रद्द गरिनु गरिब विद्यार्थीको भविष्यमा लात हान्नु जस्तै हो । यस्तो अन्यायपूर्ण कार्य तत्काल फिर्ता लिनुपर्छ । नत्र हामी कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ,’ जिल्ला अध्यक्ष बोहराले भने ।
यता, जिल्ला शिक्षा कार्यालय जाजरकोटले पनि दुई/चार व्यक्तिको कारणले उक्त केन्द्र रद्ध गरिनुभन्दा कायम नै गरिनुपर्ने माग गर्दै पनिकालाई अनुरोध गरेको जानकारी दिएको छ । दुई/चार व्यक्तिका कारण ‘घरपायक केन्द्र’ लाई विस्थापन गरिनु त्यति उचित नहुने कार्यालयको भनाइ छ । आगामी दिनमा उक्त केन्द्रमा अनियमितता हुन नदिने कार्यालयले प्रतिबद्धता जनाएको छ ।
अखिल क्रान्तिकारीको आन्दोलनप्रति कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि ऐक्यबद्धता जनाएको छ । अबको केही समयपछि संयुक्त बैठक बसी थप छलफल गर्ने नेविसंघ अध्यक्ष महेन्द्र शाहले बताए । उनले पनि सम्बन्धित निकायले वास्ता नगरे आन्दोलनलाई सशक्त बनाउने जानकारी दिए ।
गत सालको एसएलसी परीक्षामा अनुगमन गर्न गएका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला शिक्षा अधिकारी गिरमान थापा, तत्कालीन डिएसपी ईश्वर कार्की, जिल्ला शिक्षा समितिका सदस्य केदार शाह र पत्रकार महासंघ जाजरकोटका अध्यक्ष राजेन्द्र कार्कीलगायतको अनुगमन टोलीलाई परीक्षामा ‘कडाइ गरेको भन्दै बास बस्न नदिएर लखेटिएको थियो ।

प्रतिक्रिया