ढुंगाअड्डामा फिटनेस सेन्टर

काठमाडौं : राजधानीको ढुंगाअड्डास्थित तीनथानामा ‘फिटनेस फस्ट’ नामक फिटनेस सेन्टर स्थापना भएको छ । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी लक्ष्मण भट्ट र विनोद वज्राचार्यले मिलेर खोलेको सेन्टरको नेपाली सेनाका पूर्व ब्रिग्रेडियर जनरल डा.मदनमान मल्लले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे । सेन्टरको उद्घाटन गर्दै मल्लले जवान भन्दा पनि ४० वर्ष भएपछि मानिसलाइ व्यायाम जरुरी हुने बताए । व्यायाम नगरेर आम नेपाली रोगी भएको भन्दै निरन्तर व्यायाम गर्न उनले सुझाव दिए । मल्लले भने, ‘काठमाडौंको बाहिरी वातावरण भन्दा फिटनेस सेन्टर भित्रको वातावरण स्वस्थ हुने भएकाले पनि व्यायामले मान्छेलाई साँच्चै स्वस्थ बनाउँछ’ । आर्मी अफिसर्स क्लबमा फिजिकल फिटनेस र कार्डियोलोजी सिकाउँदै आएका भट्ट र शारीरिक सुगठनमा रुची राख्ने वज्राचार्यले नै दैनिक सेन्टरमा आउनेहरूलाई सिकाउने छन् । २० लाखको लागतमा खोलिएको यो सेन्टरमा जिम, लेडिज फिटनेस, एरोबिक्स, साउना, टुडे मिल्क, साइक्लिङ, हौला हुप र योगालगायतका सुविधा उपलब्ध भएको प्रवद्र्धक लक्ष्मण भट्टले बताए । ‘आधुनिक फिटनेस सेन्टरमा हुने सबै सुविधा हाम्रोमा छ ।’ अर्का प्रवद्र्धक विनोदले भने– ‘तीनथाना क्षेत्र आसपासमा अन्य फिटनेस सेन्टर छैन ।’

कुस्ती दोस्रो चरण छनोट सकियो

काठमाडौं : मिसन सागअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा सञ्चालित विशेष प्रशिक्षणको दोस्रो चरणलाई खेलाडी छनोट गर्न नेपाल कुस्ती संघद्वारा आयोजित राष्ट्रव्यापी कुस्ती छनोट प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको ७ तौलसमूहको छनोटमा १६ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा समावेश ५ खेलाडीले दोस्रोमा पनि निरन्तरता पाए भने दुई खेलाडी बाहिरिए । प्रत्येक तौलसमूहमा पहिलो भएका खेलाडी दोस्रो चरणका लागि छानिएका हुन् ।

प्रतिक्रिया