तेन्दुलकरले एक दिवसीय क्रिकेट छाडे

मुम्बई, ९ पुस । क्रिकेट इतिहासका सबैभन्दा लोकप्रिय व्यक्तित्व लिटल मास्टर सचिन तेन्दुलकरले एक दिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ४ सय ६३ एकदिवसीय खेल खेलेका सचिनले यो अवधिमा ४९ शतकसहित १८ हजार ४ सय २६ रन प्रहार गरे । यी सबै तथ्यांकमा क्रिकेटको कीर्तिमानकै रूपमा रहेका छन् । उनको अन्तिम एकदिवसीय खेल एसियाकपमा पाकिस्तानविरुद्ध थियो जहाँ उनको अद्र्धशतकीय पारीमा भारत विजयी भएको थियो ।

‘म एक दिवसीय ढाँचाको खेलबाट सन्न्यास लिएको घोषणा गर्छु,’ आइतबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस क्रममा विश्वविजयी भारतीय टोलीको सदस्य हुनु मेरा लागि सबैभन्दा गर्वको विषय हो ।’ तेन्दुलकरले सन् १९८९ मा गुजरनवालामा पाकिस्तानसँँग खेल्दै एक दिवसीय खेलमा डेब्यु गरेका थिए । उनी सो खेलमा शून्यमा आउट भएका थिए । उनले नवौँ एक दिवसीय खेलमा पहिलोपटक अद्र्धशतक प्रहार गरेका थिए । उनले सन् १९९४ मा न्युजिल्यान्डसँगको खेलमा ४९ बलमा ८२ रन प्रहार गरेका थिए । उनले पहिलो शतक ७८औँ एकदिवसीय खेलमा प्रहार गरेका थिए ।
उनको एकदिवसीय जीवनमा महत्त्वपूर्ण पाटा भने सन् १९९८ मा सारजहाँमा त्रिकोणीय शृंखलामा लगातार शतक प्रहार गर्नु, सन् २००३ को विश्वकपमा सबैभन्दा धेरै रन प्रहार गर्नु र २०१० मा दक्षिण अफ्रिकाविरुद्ध दोहोरो शतक प्रहार गर्नु रहे । भारतले तीन दशकमा सबैभन्दा महत्त्वपूर्ण सफलताको रूपमा २०११ को विश्वकप जित्दा सचिन टोलीका सदस्य थिए । मुम्बईमा श्रीलंकासँग भएको फाइनल खेल नै यिनले भारतमा खेलेको अन्तिम एकदिवसीय खेल हो । गत १६ मार्चमा बंगलादेशसँग प्रहार गरिएको शतक उनको खेलजीवनको एकसयौँ शतक थियो । पाकिस्तानसँगको ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि टोली घोषणा गर्नुअघि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले सचिनको सन्न्यासको विज्ञप्ति सार्वजनिक गरेको थियो । एजेन्सी

प्रतिक्रिया