अपराजित आरसिटी फेरि शीर्षमा

काठमाडौं, ८ पुस । सानदार लयमा रहेको मच्छिन्द्र क्लबलाई अघिल्लो खेलमा पराजित गरेपछि उच्च मनोबलमा देखिएको रानीपोखरी कर्नर टिम (आरसिटी) शनिबार सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–१ ले पराजित गर्दै जारी सहिद स्मारक ए डिभिजन लिगको अंकतालिकामा पुन: शीर्षस्थानमा उक्लिएको छ ।

आठौँ चरणसम्म अपराजित यात्रालाई कायम राखेको आरसिटी निकटतम प्रतिद्वन्द्वी थ्रीस्टारलाई दुई अंकले पछि पारेर शीर्षस्थानमा उक्लिएको हो । आठ खेलपछि आरसिटीको ६ जित र दुई बराबरीसहित २० अंक छ भने सात खेल खेलेको थ्रीस्टारले १८ अंक जोडेको छ । थ्रीस्टारले आइतबार मच्छिन्द्रसँग प्रतिस्पर्धा गर्दै छ ।
कार्डले प्रतिबन्ध भोगेपछि मच्छिन्द्रविरुद्धको खेलमा दर्शकदीर्घामा सीमित भएका विदेशी खेलाडी ओलावालेले आरसिटीका लागि शनिबार दुई गोल गरे । थप गोल भने अमर डंगोलको नाममा रह्यो । ‘क्लिन फिनिसिङ’को नमुना देखाइरहेको आरसिटी फर्वार्डद्वय अमर र ओलावालेको प्रदर्शनबाट मुख्यरूपमा प्रेरित छ । खेलको सुरुवातबाटै आक्रामक देखिएका ओलावालेले १९औँ मिनेटमा खेलको पहिलो गोल गर्नुअघि सुरुको १० मिनेटमा एकपटक अफसाइड ‘ट्रयाप’ बिट गरे पनि गोलपोस्टको प्रेmममा बल प्रहार गर्न सकेनन् । रक्षापंक्ति कमजोर देखिएको एपिएफविरुद्ध ओलावालेले रक्षक भीम श्रेष्ठलाई बिट गरी आरसिटीविरुद्ध अग्रता दिलाएका थिए । अग्रतासँगै आरसिटीले लगातार आक्रमण गर्‍यो र रक्षात्मक बन्न खोज्दा एपिएफ ५८ औं मिनेटपछि १० खेलाडीमा सीमित हुन पुग्यो । अमरलाई फल गरेपछि एपिएफका रक्षक सुदिप सिख्राकार खेलमा दोस्रोपटक पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिन बाध्य बने । अन्तिम १० मिनेटसम्म आरसिटीले गोल थप्न नसके पनि त्यसपछि भने दुई मिनेटमा दुई गोल गर्‍यो । ८४औँ मिनेटमा अमरले काउन्टर अट्याकमा गोल गरे भने त्यसको एक मिनेट लगत्तै ओलावालेले गोल थपे । ९०औँ मिनेटमा टोपबहादुर विष्टले रिबाउन्डमा गोल गरे पनि एपिएफ बराबरीबाट समेत टाढा भइसकेको थियो । तर, इन्जुरी समयमा अमर डंगोलले व्यक्तिगत दोस्रो पहेँलो कार्ड पाएपछि भने आरसिटी जितका बाबजुद केही खिन्न हुन पुग्यो ।
साबिक विजेता नेपाल पुलिसविरुद्ध शानदार प्रदर्शन गर्दै जित हात पारेपछि एपिएफ विगतका संस्करणभन्दा यसपटक केही फरक देखिने अनुमान गरिए पनि अन्तत: रेलिगेसनकै लागि संघर्ष गर्नुपर्ने स्थितिमा पुगेको छ ।
शनिबार भएको अर्को खेलमा बौद्ध क्लबलाई ४–१ ले पराजित गर्दै न्युरोड टिम (एनआरटी) अंकतालिकामा छैटौँ स्थानमा उक्लियो । एनआरटीलाई जित दिलाउने क्रममा अकिनले दुई तथा लक्ष्मण रुचाल र सेगुन अकिनाडेले एक एक गोल गरे । ४७औँ मिनेटमा राज अधिकारीको गोलमार्फत खेललाई १–१ को स्थितिमा ल्याइपुर्‍याए पनि बौद्ध दोस्रो हाफमा थप तीन गोल बेहोर्न पुग्यो । बौद्धका गोलकिपरले फल गरेपछि ५०औँ मिनेटमा प्राप्त पेनाल्टीमा सेगुनमार्फत गोल गर्दै एनआरटीले खेलमा दोस्रोपटक अग्रता लिएको थियो । यसपछि भने बौद्ध खेलमा फर्कने छाँट पनि देखिएन । यस हारसँगै बौद्धको रेलिगेसनमा पर्ने सम्भावना बढेर गएको छ । आठौँ चरणको खेल खेलिसक्दा बौद्धले मात्र एक अंक जोडेको छ । बौद्धले ३–१ ले अग्रता लिनुका बाबजुद फ्रेन्ड्स क्लबविरुद्धको खेलमा अन्तत: ३–३ को बराबरीमा सीमित भएर एक अंक लिएको थियो ।
पुलिस रोकियो, आर्मी विजयी
कैलाली : धनगढीमा जारी प्रथम महिला लिग फुटबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लब विजयी भयो भने नेपाल पुलिसले सुदूरपश्चिमविरुद्ध बराबरी खेल्यो । मध्यपश्चिमाञ्चलविरुद्धको खेलमा आर्मी ४–२ ले विजयी भएको हो । विजयी टोलीका लागि कृष्णा खत्री, दीपा अधिकारी र भुजंग राईले गोल गरे । यता पराजित टोलीका तर्फबाट सपना गोले र लक्ष्मी थापाको नाममा गोल रह्यो । नेपाल पुलिस र सुदूरपश्चिमाञ्चलबीच गोलरहित बराबरी भएको हो ।

प्रतिक्रिया