मनाङ रोकिँदा थ्री–स्टार शीर्षस्थानमा

काठमाडौं, ६ पुस । उपाधि दाबेदारमध्येको एक मनाङ–मस्र्याङ्दी क्लब जावलाखेलद्वारा बराबरीमा रोकिएको दिन बिहीबार लगातार छैटौँ जित हात पार्दै थ्री–स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
‘ए’ डिभिजन लिग नवप्रवेशी हुनका बाबजुद स्तरीय प्रदर्शन गरिरहेको मध्यपुर युथ एसोसिएसनविरुद्ध दोस्रो हाफमा गोल गरी थ्री–स्टार २–० ले विजयी भयो र रानीपोखरी कर्नर टिम (आरसिटी)लाई एक अंकले पछि पार्दै शीर्षस्थानमा पुग्यो । निर्धारित समयको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा जावलाखेलका लागि जुमा बेन्लीले गोल गरेपछि मनाङ अंक बाँड्न बाध्य मात्र भएन, लिगको अंक–तालिकामा चौथो स्थानमा झर्‍यो ।
सात खेल खेलिसकेका थ्री–स्टारको १८, आरसिटीको १७, मछिन्द्रको १६ र मनाङको १५ अंक छ । पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि मध्यपुर थ्री–स्टारले ७१औँ मिनेटमा गरेको आकर्षक गोलमार्फत पछि पर्‍यो । सञ्जीव साएस थाले डी–बक्सभित्रबाट ‘स्विच’ गर्दै निकालेको फ्री बलमा एदरेमी अविओदिनले आउटसाइड एजबाट पहिलो बारमा गरेको प्रहार सानदार लयमा रहेका मध्यपुरका गोलरक्षक विकेश कुथुले गोल हुनबाट रोक्न सकेनन् । त्यसपछिको केही समय मध्यपुर अनियन्त्रित देखियो र सोहीबीचमा सन्तोष साहुखलमार्फत थ्री–स्टारले गोल गरी अग्रता दोब्बर बनायो ।
७५औँ मिनेटमा मध्यपुरका रक्षकहरूको ठूलो कमजोरीलाई अवसरमा बदल्दै साहुखलले गोल थपेका थिए । मध्यपुरका खेलाडीले डी–बक्सभित्रबाट बल क्लियर नगर्दा करिब आधा मिनेट बल थ्री–स्टारले विपक्षी गोलरक्षकको क्षेत्रमा खेलाएको थियो । बल केही समय दुवै खेलाडीको खुट्टामा अल्झिए पनि साहुखलले गोल गर्नुअघि विजय गुरुङले गरेको प्रहार मध्यपुरका गोलरक्षक कुथुबाट रिबाउन्ड भएको थियो ।
यता खेल जिते पनि थ्री–स्टारका लागि सन्तोष साहुखलको सामान्य गल्ती आउँदो खेलमा महँगो हुने देखिएको छ । गोल गरेपछि ‘सेलिब्रेसन’ गर्ने क्रममा दर्शकदीर्घातर्फ फर्किएर अमर्यादित काम गरेको भन्दै उनलाई पहेँलो कार्ड देखाइएको थियो, जसले उनी मच्छिन्द्रविरुद्ध थ्रीस्टारको आगामी खेलमा खेल्न पाउने छैनन् । लिगको पहिलो खेलमै सरस्वती क्लबविरुद्ध हार बेहोरे पनि थ्री स्टारले त्यसयता लगातार जित हात पारिरहेको छ ।
बिहीबार नै भएको अर्को खेलमा कार्डको प्रतिबन्धका कारण नियमित कप्तान अनिल गुरुङविना नै मैदानमा उत्रिन बाध्य मनाङले ६८औँ मिनेटमा अग्रता लिएको थियो । नवीन न्यौपानेले गरेको कर्नर प्रहारमा रक्षक एम्बिल स्टिफनले हेडमार्फत गोल गरेपछि खाता खोल्नका लागि भइरहेको मनाङको लामो प्रयास सफल भएको थियो । खेलभर रक्षात्मक देखिएको जावलाखेलले ८९औँ मिनेटमा काउन्टर अट्याकमा गोल गरेर लगातार केही खेलको पराजय टुंग्याउँदै अंक लिन सफल भयो । काउन्टर मुभमा जावलाखेलका फर्वार्ड बेन्लीले मनाङका रक्षक स्टिफनलाई बिट गर्दै गरेको प्रहार साइड बारमा ठोक्किँदै गोल भएको थियो ।

प्रतिक्रिया