चितवन हात्ती महोत्सवको तयारी अन्तिम चरणमा

चितवन, ३ पुस । स्थानीय पर्यटकीय क्षेत्र सौराहा र जिल्लाकै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ११ पुसदेखि हुन लागेको चितवन हात्ती महोत्सव एवं अन्तर्राष्ट्रिय हात्ती दौडको तयारी अन्तिम चरणमा पुगेको छ । नवौं संस्करणमा आयोजना हुन लागेको प्रतिस्पर्धामा १६ विदेशी र ८ घरेलु टोलीको सहभागिता रहेको सोमबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘संरक्षणका लागि एकता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा बेल्जियम, चीन, बेलायत, इटाली, अस्ट्रेलियालगायत १६ टिम छन् भने सौर्य दैनिक पत्रिका, बुद्ध एयर, हाम्रो बजार, मनकामना दर्शन प्रा.लि., माउन्ट एभरेस्ट, रोयल स्टयाग, होटल बाराही, चितवन राष्ट्रिय निकुञ्ज, द एक्सप्लोर नेपाल विभिन्न प्रायोजन–प्रवद्र्धन सोझेदारका रूपमा रहेका छन् ।

प्रतियोगितामा यसअघि २० समूहको सहभागिता हुने गरेको भए पनि यसको आकर्षण बढेका कारण नवौं संस्करणमा चारवटा विदेशी टिम थपिएको प्रतियोगिता आयोजक मूलसमितिका संयोजक एवं क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रकुमार बिष्टले जानकारी दिए ।
महोत्सवको विशेष आर्कषणका रूपमा रहेको छावाहरूबीचको रोमाञ्चकारी फुटबलमा चार समूहले सहभागिता जनाउने भएको बिष्टले जानकारी दिए । गौरीशंकर डेभलपमेन्ट बैंक, किष्ट बैंक, लायन्स र रोटरी क्लब इन्टरनेसनलको समूहले हात्तीको छावाबीचको फुटबलमा सहभागिता जनाउने उनले बताए । दुई वर्ष अघिदेखि समावेश गरिएको हात्तीको सुन्दरी प्रतियोगितामा यस वर्ष पाँच हात्तीबीच प्रतिस्पर्धा हुने क्षेत्रीय होटल संघका महासचिव सुमन घिमिरेले बताए ।
यसैगरी, पर्यटकबाहक टाँगा र गाडाको दौडमा पनि १०–१० समूहको प्रतिस्पर्धा हुँदैछ । विगतमा गरिँदै आएको डुंगा दौड प्रतियोगिता भने यसपटक हटाइएको छ । बछौलीको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको मैदानमा हुने हात्ती महोत्सवको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । बाहय पर्यटक आउने अहिले अफसिजन भए पनि यस वर्ष सौराहा आउने पर्यटकको संख्यामा वृद्धि भएको क्षेत्रीय होटल संघका निर्वतमान अध्यक्ष शंकर संैजुको दाबी छ । ६ करोड आर्थिक कारोबार गर्ने लक्ष्य बोकेको यस प्रतियोगिताका लागि २५ लाख रुपैयाँ खर्च हुने महोत्सवको आर्थिक समिति संयोजक दीपक भट्टराईले जानकारी दिए । प्रतियोगिताको सह–आयोजकमा बछौली गाविस, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बाघमारा मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन, युनाइटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड, सौराहा पर्यटन व्यवसायी समूह, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहा र सौराहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

प्रतिक्रिया