जितसँगै थ्रीस्टार दोस्रो स्थानमा

काठमाडौं, १ पुस । छिमेकी प्रतिद्वन्द्वी जाउलाखेल युथ क्लबलाई ४–१ ले पराजित गर्दै थ्रिस्टार क्लब रेडबुल ए डिभिजन लिग फुटबलको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । थ्रिस्टारलाई जित दिलाउने क्रममा सन्तोष साहुखलले ह्याट्रिक गरे । अर्को तर्फ निरस प्रदर्शनका बाबजुद यति हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लबको १६ अंक छ भने दोस्रो स्थानमा रहेको १५ अंकसहित थ्रिस्टार दोस्रो तथा समान १४ अंक भएका मनाङ मस्र्याङ्दी तेस्रो र आरसिटी चौँथो स्थानमा छन् ।

निरस प्रदर्शनका बाबजुद ५१औँ मिनेटमा सबीन्द्र श्रेष्ठको क्रसमा हेड गर्दै अफ्रिकी खेलाडी चिकोले मनाङलाई जित दिलाए । हिमालयनका सबैभन्दा प्रभावशाली खेलाडी गणेश खड्काले मनाङसँगको खेलमा पनि त्यत्तिकै उत्कृष्ट मुभ बनाएका थिए । उनको क्रसमा धीरज तामाङ गोल गर्नबाट चुके । अन्तिम मिनेटमा धीरजको उत्कृष्ट प्रहारलाई मनाङका गोलरक्षक एमानुएलले बचाएका थिए ।
अर्को खेलमा थ्रीस्टारलाई अग्रता दिलाउने क्रममा ह्यामस्ट्रिङको चोटसँग संघर्ष गरिरहेका अनील ओझाले तेस्रो मिनेटमा विराज महर्जनको क्रसमा गोल गरे । १०औँ मिनेटमा सन्तोष साहुखलले अफसाइड ट्रयाप विट गर्दै गोल गरे । २७ औँ मिनेटमा विक्रम लामालाई लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोषले गोल गरे । उनको पहिलो प्रहार गलत भएपछि पहेँलो कार्डसहित दोस्रो पटक प्रहार गर्न लगाइएको थियो । दोस्रो पटक पनि उनले गोल गरे । ३६आँै मिनेटमा सन्तोषले लिगको दोस्रो व्यक्तिगत ह्याट्रिक गरे । यसको लगत्तै जावलाखेलका जुमा बेन्लले गोल गरे । दोस्रो हाफमा जाउलाखेलले लगातार दबाब दिए पनि गोल गर्न भने सकेन ।

प्रतिक्रिया