नेतृत्वद्वारा आत्मालोचनापछि निर्णय अनुमोदन

काठमाडौं, २७ मंसिर । एमाले केन्द्रीय कमिटीले स्थायी समिति र पोलिटब्युरो बैठकका निर्णय मंगलबार अनुमोदन गरेको छ । स्थायी समितिले अधिकार क्षेत्र नाघेर कार्यविभाजनको निर्णय गरेको भन्दै केन्द्रीय सदस्यहरूले गरेको गुनासोप्रति पार्टी नेतृत्वले आत्मालोचना गरेपछि मंगलबारको बैठकले ती निर्णय अनुमोदन गरेको हो ।
स्थायी समितिले युरोप इन्चार्जमा अरुण नेपाललाई हटाएर भीम रावललाई र राज्यव्यवस्था विभाग प्रमुखमा राजेन्द्र पाण्डेलाई हटाएर अष्टलक्ष्मी शाक्यलाई ल्याउने निर्णय गरेको थियो । यस्तै, अध्ययन तथा अनुसन्धान विभाग खडा गरेर घनश्याम भुसाललाई त्यसको प्रमुख बनाउने निर्णय पनि गरेको थियो । सोमबार सुरु केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले स्थायी समितिले अधिकार क्षेत्र नाघेर निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका थिए । पार्टी त्यागेका आदिवासी जनजाति नेताहरूका ठाउँमा अन्यलाई जिम्मेवारी तोक्ने निर्णय पनि स्थायी समितिले गरेको थियो ।
‘कार्यविभाजनका विषयमा निर्णय लिँदा पार्टी स्थायी समितिले पर्याप्त ध्यान पुर्‍याउन सकेन भन्ने कुरालाई आत्मसात गर्दै स्थायी समिति र पोलिटब्युरो बैठकका निर्णयहरू अनुमोदन गरिएको छ,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सौर्यसँग भने, ‘अब निर्णय गर्दा व्यक्तिका रुचि बुझेर मात्र कार्यविभाजन गर्न नेतृत्वको ध्यानाकर्षण भएको छ ।’ केन्द्रीय कमिटी बैठकमा व्यक्तिको रुचि नबुझी कार्यविभाजन गरेको भन्दै नेतृत्वको आलोचना भएको थियो ।
स्थायी समितिले कार्यविभाजनको निर्णय गरी अन्तरपार्टी निर्देशनसमेत जारी गरेको भन्दै केन्द्रीय सदस्यहरूले बैठकमा असन्तुष्टि जनाएका थिए । ‘कार्यविभाजन गर्न केन्द्रीय कमिटीले अनुमति दिएपछि मात्र स्थायी समितिले त्यस्तो निर्णय गर्न सक्थ्यो, अधिकार नै नभएका विषयमा निर्णय गरी कार्यविभाजन गर्ने र नयाँ विभागसमेत गठन गर्ने काम भएको छ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बैठकमा भनेका थिए, ‘निर्णयलाई अन्तरपार्टी निर्देशन दिने अधिकार पनि केन्द्रीय कमिटीलाई मात्र छ ।’
स्थायी समितिको निर्णय अनुमोदनकै विषयमा बैठक दुई दिनसम्म लम्बिएपछि पार्टी अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार मात्र छलफल हुने एमालेले जनाएको छ । राजनीतिक विषयमा प्रवेशै नगरे पनि मंगलबारको बैठकमा बोल्ने केही सदस्यले वैशाखमा संविधानसभा चुनाव सुनिश्चित गर्ने र आन्दोलनको व्यवस्थित तयारी गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए ।

प्रतिक्रिया