जितसँगै इंग्ल्यान्डलाई अग्रता

कोलकाता : तेस्रो म्याचमा सात विकेटले विजयी हँुदै इंग्ल्यान्डले भारतविरुद्धको चार टेस्ट म्याचको श्रृंखलामा २–१ ले अग्रता लिएको छ । खेलको पाँचौ तथा अन्तिम दिन जितका लागि प्राप्त ४१ रनको लक्ष्य इंग्ल्याण्डले तीन विकेटको क्षतिमा पूरा गर्‍यो । इयान वेलले नटआउट २८ रन बनाए भने प्रारम्भिक ब्याट्सम्यान निक कम्पटनले पनि खेल सकिनु अघि ९ रन जोडे । ८–३ को स्थितिमा वेल र कम्पटनबीच चाँैथो विकेटका लागि अविजित ३३ रनको साझेदारी भयो । कप्तान एलेस्टर कुक एक र जोनाथन ट्रट तीन रनमा पवेलियन फर्किंदा केभिन पिटरसन डक आउट भए । बलिंगतर्फ रविचन्द्रन आश्विनले दुई तथा प्रज्ञान ओझाले एक विकेट लिए ।
यस अघि आश्विनले नटआउट ९१ रनको योगदान गरे पनि भारतले दोस्रो इनिङमा  २४७ रनमात्र जोड्न सक्यो । १५७ बलको सामना गरेका आश्विनले १५ चौका प्रहार गरे । पहिलो इनिङमा २०७ रनले पछि परेको भारत आश्विनकै कारण इनिङ हारबाट जोगिएको थियो । दोस्रो इनिङमा पनि भारतलाई कमजोर स्थितिमा पुर्‍याउनेक्रममा जेम्स एन्डरसन र स्टिभन फिनले समान तीन विकेट लिए भने ग्रिम स्वानको नाममा दुई विकेट रह्यो । (एजेन्सी)

प्रतिक्रिया