पैसा तिर्न नसक्दा बिचल्ली

चितवन, १६  मंसिर । घरको छतबाट खसेर गम्भीर घाइते भएका बिरामीको अस्पतालमै बिचल्ली परेका छन् । अस्पतालमा औषधि र क्यान्टिनको पैसा तिर्न नसक्दा रत्ननगर–३ लौरीघोलका भक्तबहादुर बोटे काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल ट्रस्टमा बिचल्लीमा परेका हुन् । उपचारका क्रममा किनेको औषधि, क्यान्टिनमा खाएका खाजा–खानाको पैसा तिर्न नसक्दा बोटेको बिचल्ली भएको हो ।
अस्पतालले उपचारको खर्च मिनाहा गरे पनि क्यान्टिन र औषधि पसलको पैसा तिर्न नसक्दा अस्पतालले बिरामीको डिस्चार्ज गरे पनि बिरामी निकाल्न नपाएको भाइ दीपक बोटेले जानकारी दिए । क्यान्टिनमा १७ हजार, औषधि पसलमा नौ हजार र क्यान्टिनले धेरै उधारो भएपछि खान नदिएपछि अस्पताल बाहिरको पसलमा खाएको खाना/खाजाको अरू आठ हजार रुपियाँ तिर्न बाँकी रहेको बताइएको छ ।
हेटौँडास्थित मालिका प्याकेजिङ उद्योगमा काम गर्दै आएका बोटे १४ जेठमा भाडामा बसेको घरबाट खसेर घाइते भएका हुन् । मेरुदण्ड भाँचिएका बोटेलाई आर्थिक अभावका कारण घरपरिवारले घरमै राखेका थिए । बिस्तरामा कोल्टेसमेत फेर्न नसक्ने बोटेको शरीरभरि घाउ भएपछि भरतपुर अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको उपचारमा सघाउँदै आएका रत्ननगरका शंकर दर्नालले जानकारी दिए । दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका बोटेको उपचारका क्रममा चन्दा संकलनबाट मात्रै एकलाख खर्च भइसकेको र अरू सहयोग संकलनका लागि सहयोगीको खोजी भइरहेको उनले जानकारी दिए ।
बोटे कार्यरत कम्पनीले २२ हजार रुपियाँ उपचारका लागि सहयोग गरेको अरू सबै चन्दाबाट सहयोग गरिएको उनले बताए ।
बोटेको उपचार नहुने देखेपछि उनका पत्नीलेसमेत छाडिसकेको र दुईवटा बच्चाको पनि बिचल्ली भएको छ । सुष्मा कोइराला मेमोरियल ट्रस्टबाट बिरामीलाई निकाल्न सके थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज र भरतपुर अस्पतालमा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाउन पहल भइरहेको छ ।

प्रतिक्रिया