ठगी आरोपमा पति–पत्नी पक्राउ

गुल्मी, १६ मंसिर । युवालाई विदेश पठाउने बहानामा ठगी गर्दै हिँडेको आरोपमा प्रहरी एक दम्पतीलाई पक्राउ गरेको छ ।
अर्खले– ८ भाडगाउँका ५८ वर्षीय धनीश्वर पन्थी र उनकी पत्नी ४८ वर्षीया रामप्यारी पन्थीलाई प्रहरीले पक्राउ गरेको हो । रामप्यारीलाई प्रहरीले शुक्रबार घरबाटै पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार राति पति धनीश्वरलाई रुपन्देहीको मुर्गियाबाट पक्राउ गरेको हो ।
उनीहरू दुवैले विभिन्न प्रलोभन देखाउँदै लाखौँ रकम ठगी गरेको प्रहरीले जनाएको छ । गुल्मीसहित विभिन्न जिल्लाका युवालाई विदेशमा राम्रो जागिर लगाइदिने भन्दै उनीहरूले ७० लाख रुपियाँभन्दा बढी रकम ठगी गरेको उजुरी प्रहरीमा परेको छ । उजुरीका आधारमा पक्राउ परेकी रामप्यारीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया