राष्ट्रपतिद्वारा एक साता थप

 

काठमाडौं, १५  मंसिर । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समय–सीमा सात दिन थप गरेका छन् । बिहीबार एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताको आग्रहमा राष्ट्रपतिले समय–सीमा थपेको शीतलनिवासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक सातामा कुनै सहमति जुटाउन नसकेका दलका नेतालाई राष्ट्रपति यादवले नै बिहीबार बेलुका ६ बजे शीतलनिवास बोलाएका थिए । बिहीबार ४ बजेपछि राष्ट्रपतिले दिएको समय सकिएको थियो । राष्ट्रपतिसँग छलफल गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट राजेन्द्र महतो शीतलनिवास पुगेका थिए ।
छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले सात दिनमा सहमतिको प्रयास गरिए पनि सहमति नजुटेको भन्दै केही दिन समय थप्न आग्रह गरिएको बताए । ‘राष्ट्रपतिले दिनुभएको समयमा सहमति हुन सकेन’ खनालले भने, ‘सहमति नजुटेपछि राष्ट्रपतिज्यूलाई समय थपका लागि आग्रह गर्ने सहमति भयो ।’ राष्ट्रपतिबाट थप गरिने समयमा दलीय सहमति जुटाई प्रधानमन्त्री चयन गर्ने खनालले बताए । उनले भने, ‘थप गरिएको समयमा हामी सहमतिमा पुग्छौँ ।’
राष्ट्रपतिले दिएको सात दिनमा पनि दलहरूले सहमतिका आधारमा प्रधानमन्त्रीको नाम चयन गर्न नसकेका हुन् । दलहरूले राष्ट्रपतिको कदमलाई संवैधानिक कि असंवैधानिक भन्नेमै एक हप्ताको समय खर्चिए । सत्तारूढ दल एमाओवादीले राष्ट्रपतिको आह्वानलाई कहिले सकारात्मक त कहिले असंवैधानिक भनिरह्यो । तैपनि, सहमतिको प्रक्रियामा एमाओवादी सामेल भइ नै रह्यो ।
विपक्षी नेपाली कांग्रेस, एमालेसहितका दलले भने मुलुकलाई निकास दिनका लागि भन्दै राष्ट्रपतिको आह्वानको स्वागत गरेका छन् । पार्टीका छुट्टाछुट्टै र विपक्षी दलको संयुक्त बैठकले आह्वानलाई सकारात्मक भएको निष्कर्ष निकाल्यो । तर, मुख्य तीन दलबीच भने राष्ट्रपतिको आह्वानपछि जम्मा एकपटक मात्रै छलफल भएको थियो । राष्ट्रपतिले नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) बमोजिम बिहीबार अपराह्न ४ बजेसम्म राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनको उपयुक्त प्रस्ताव सिफारिस गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री बन्ने दौडधूपमा कांग्रेस सभापति कोइराला अगाडि बढे । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, आºनै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवासमेतलाई भेटी प्रधानमन्त्री बन्ने कसरत गरे । एमाओवादी अध्यक्षले संविधानका विषयमा सहमति जुट्ने अवस्थामा मात्रै कोइरालालाई समर्थन गर्ने वचन दिए । तर, आºनै पार्टीबाट औपचारिक निर्णय भने गराउन सकेनन् । मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुरसम्मलाई भेटे पनि कोइरालाले आश्वासन मात्रै पाए । एमालेले सरकारमा दाबी नगरी कांग्रेसको उम्मेदवार स्विकार्ने जनाए पनि अरू दल खुलेर कोइरालाको पक्षमा लागेनन् ।
तर, दलबीच सहमतिको प्रधानमन्त्रीमा नाम जुटेन । सामूहिक छलफलमा केन्द्रित नभए पनि दलहरूले आन्तरिक छलफल जारी रहेको भन्दै केही दिन समय थपका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णयमा दलहरू पुगे । राष्ट्रपतिलाई गत मंगलबार भेट्ने क्रममा दाहालले अबको प्रधानमन्त्री कोइराला नै हुन् समेत भने । कोइरालाका नाममा सहमति भइसकेको दाबी गर्दै दाहालले मन्त्रिपरिषद्को खाकामा सहमति गर्न मात्रै केही दिनका लागि समय थप्नुपर्ने आग्रह राष्ट्रपतिसँग गरेका थिए ।
यता, कांग्रेस, एमालेले पनि बुधबार सहमतिको प्रयास भइरहेको भन्दै केही दिन म्याद थपका लागि आग्रह गर्ने निर्णय गरे । राष्ट्रपतिले गत जेठमा संविधानसभा स्वत: समाप्त भएदेखि नै दलहरूलाई सहमतिका लागि आग्रह गर्दै आएका छन् । कहिले छुट्टै त कहिले सामूहिक रूपमा शीतलनिवास बोलाई दर्जनाँपटक सहमतिका लागि आग्रह गरे पनि दलहरू आºनै अडानमा कायम रहे । दलहरू बिहीबारसम्म कुनै सहमति हुने नदेखिएपछि राष्ट्रपति यादवले नै प्रमुख दलका शीर्ष नेतालाई बिहीबार बेलुका शीतलनिवास बोलाएका थिए । गत १४ जेठमा संविधानसभा समाप्त हुँदै गर्दा प्रधानमन्त्रीले मंसिर ८ गतेका लागि चुनाव घोषणा गरेपछि दलहरूको दूरी बढेको हो ।

प्रतिक्रिया