एस अन्तरकलेज छात्र फुटबल

काठमाडौं :    आयोजक एस उच्च माध्यमिक विद्यालय र टाइम्स इन्टरनेसनल कलेजले प्रथम एस अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा जित हात पारेको छ । च्यासलस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा एसले सेन्ट जेभियर्स कलेजलाई १–० ले पराजित गर्‍यो । सुलभ मगरले निर्णायक गोल गरे । दोस्रो खेलमा टाइम्सले एस ए लेभललाई १–० ले पाखा लगायो । टाइम्सका कप्तान सोनाम शेर्पाले गोल गरे । प्रतियोगिताको राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापाले उद्घाटन गरेका थिए । नकआउट आधारमा सञ्चालित प्रतियोगितामा १० टिमको सहभागिता छ । विजेताले १५ तथा उपविजेताले आठ हजार रुपियाँ पुरस्कार हात पार्नेछन् ।

फादर मोरान स्मृति अन्तरविद्यालय फुटबल
काठमाडौं  : डिफेन्डिङ च्याम्पियन आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीले १७ औँ फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । गोदावरीस्थित घरेलु मैदानमा भएको उद्घाटन खेलमा सेन्ट जेभियर्सले डल्फिनलाई २–१ गोलले पराजित गर्‍यो । विजेता टोलीका लागि दुवै गोल रुपेश यादवले गरे । डल्फिनका सुरेश सिलवालले गोल गरे । अन्य खेलमा पुष्पाञ्जली र लिटिल एन्जल्स (एलए) विजयी भए  । पुष्पाञ्जलीले इडेन गार्डेन स्कुललाई २–० ले हरायो । पाउल सेवा र रुविन कार्कीले गोल गरे । एलएले एलआरआईलाई २–१ ले निरास पार्‍यो । एलएका अभय श्रेष्ठ र अवाज विष्टले १–१ गोल गरे । एलआरआईका रोजन आलेले १ गोल फर्काए ।

मिनी म्याराथनमा रूपक र विशाखा प्रथम
काठमाडौं : प्रथम मिनी म्याराथनको छात्रमा रूपक भट्ट र छात्रामा विशाखा अवाले शनिबार पहिलो भएका छन् । ५ किलोमिटरको प्रतिस्पर्धामा रूपकले २० मिनेट ११ सेकेन्ड तथा विशाखाले २८ मिनेट ३६ सेकेन्ड समय खर्चे । छात्रतर्फ २० मिनेट २६ सेकेन्डमा सुप्रद्धित्त शाह दोस्रो तथा २० मिनेट ४० सेकेन्डमा ब्रम्मी अधिकारी तेस्रो भए । छात्रामा रीतिका भरी दोस्रो तथा प्रमोदिता थपलिया तेस्रो स्थानमा रहे । निर्धारित दूरी रीतिकाले २८ मिनेट ४० सेकेन्ड तथा प्रमोदिताले २८ मिनेट ४९ सेकेन्डमा पूरा गरे ।    (सौस)

प्रतिक्रिया