कांग्रेससित प्रधानमन्त्रीको उम्मेदवार माग

काठमाडौं, १० मंसिर । नेकपा एमालेले सात दिनभित्रै सहमति जुटाउनुपर्ने बाध्यता भएको भन्दै प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ । शुक्रबार राष्ट्रपतिले सहमतिमा प्रधानमन्त्रीको नाम चयन गर्न एक हप्ताको समय दिएपछि शनिबार बसेको दुई दलको बैठकमा एमालेले कांग्रेसलाई यस्तो आग्रह गरेको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष झलनाथ खनालले आºनो दलको दाबी नहुने भन्दै छिट्टै उम्मेदवार घोषणा गर्न कांग्रेस नेतालाई आग्रह गरेका थिए । ‘आवश्यक तयारी हाम्रो पनि हुनुपर्छ भन्न्ने हो । सात दिनभित्रै सहमति गर्नुपर्ने बाध्यता छ,’ कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सौर्यसँग भने, ‘एमालेले अबको सरकारमा दाबी नगर्ने भएपछि कांग्रेसले छिटो नाम देओस् भन्ने उसको अपेक्षा छ ।’
शीर्ष नेता सहभागी छलफलमा कांग्रेस नेताले भने अन्य दलसँग पनि सहमति जुटाउनुपर्ने र आºनै पार्टीबाट समेत निर्णय गराउनुपर्ने भएकाले नाम तोक्न केही दिन लाग्ने बताएका थिए । ‘एमाओवादी, मधेसी मोर्चालाई पनि सहमति गराएर नाम तोक्ने पक्षमा हामी छौँ,’ प्रवक्ता बडुले भने, ‘प्रमुख शक्तिबीचको सहमति भएपछि नाम तोक्नेछौँ ।’ बैठकमा कांग्रेस नेताले वरिष्ठ नेता शेरबहादुर देउवा राजधानी फर्किएपछि केन्द्रीय समिति बैठक बसेर उम्मेदवारको निर्णय लिने बताएका थिए ।
राष्ट्रपतिको आह्वानपछि धुलिखेलमा कांग्रेस, एमाले, मधेसी मोर्चा, १६ देशका राजदूतबीचको छलफलले सहमतिका लागि आधार खोलेको विषयमा चर्चा भएको जानकारी बडुले दिए । राजदूतहरूले समेत अब दलबीच सहमतिको वातावरण बन्ने विश्वास लिएको उनले बताए । ‘अब दललाई चुनावमा जाने विषयमा पनि बाटो खुलेको छ,’ बडुले भने । एमाले मुख्यालय बल्खुमा बसेको बैठकमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष खनाललगायत नेता सहभागी थिए ।
दुई दलको बैठकले राष्ट्रपतिको आह्वान सकारात्मक र स्वागतयोग्य भएको निष्कर्ष पनि निकालेको छ । ‘बारम्बारको प्रयत्नबाट पनि राजनीतिक र संवैधानिक समाधान नआएपछि राष्ट्रपतिज्यूले यही मंसिर ८ गते राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि संविधानसम्मत रूपमा मंसिर १४ गतेसम्मको समय–सीमा तोकी गर्नुभएको आह्वान सकारात्मक र स्वागतयोग्य छ,’ बैठकपछि कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष खनालले संयुक्त जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले राजनीतिक दलहरूलाई निश्चित समयभित्र सहमति कायम गर्दै राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठन गरी समस्याको समाधान गर्न प्रेरित गर्नेछ ।’
कांग्रेस, एमालले राष्ट्रपतिको कदमलाई सकारात्म रूपमा लिँदै सहमतिमा आउन एमाओवादी, मधेसी मोर्चा र प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘सम्माननीय राष्ट्रपतिज्यूबाट भएको आह्वानलाई सकारात्मक रूपमा ग्रहण गर्दै राजनीतिक सहमतिका लागि अग्रसर हुन एमाओवादी, मधेसी मोर्चासम्बद्ध दललगायत सरकारमा रहेका र नरहेका राजनीतिक दल एवं प्रधानमन्त्रीलाई हामी आह्वान गर्दछौँ ।’
बडुले आफूहरूको जोड सहमतिमा निकास खोज्ने रहेको भन्दै दलहरूले एकताले नै राजनीतिक संकट समाधान हुने बताए ।

प्रचण्डले उम्मेदवार मागे
राष्ट्रपतिको आह्वानपछि बसेको प्रमुख तीन दलको बैठकमा एमाओवादीले कांग्रेस, एमालेसँग सहमतीय सरकारको उम्मेदवार माग गरेको छ । दलहरूबीच मंसिर १४ गतेसम्म सहमति जुटाउनै पर्ने बाध्यताबीच एमाओवादी, कांग्रेस र एमालेबीच भएको बैठकमा एमाओवादीले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्न माग गरेको हो ।
कांग्रेस, एमालेसँग एमाओवादीले निर्वाचनको मिति र संवैधानिक निकास कसरी निकाल्ने भन्ने विषयमा पनि प्रस्ताव ल्याउन भनेको छ । बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले प्रधानमन्त्रीको उम्मेदवार, चुनावको मिति र राजनीतिक एवं संवैधानिक निकासका निम्ति स्पष्ट भए सहमति गर्न सहज हुने बताए । दुई दलको प्रस्तावपछि मात्रै कसरी अघि बढ्ने भन्नेमा बाटो तय हुने दाहालको भनाइ थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले नियमित छलफल गरी जसरी पनि १४ गतेसम्म सहमतिमा पुग्नुपर्ने बताए । ‘जसरी पनि सहमतिमा पुग्नै पर्छ,’ खनालले भने, ‘सहमतिका लागि भोलि–पर्सि पनि छलफल गर्छौं ।’
कांग्रेस उप–सभापति रामचन्द्र पौडेलले वैशाखमा चुनाव गर्ने र संवैधानिक संकटलाई कसरी हल गरेर अघि बढ्न सकिन्छ भन्नेबारे छलफल भएको जानकारी दिए ।
कड्किए प्रधानमन्त्री
तीन दलको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपतिको प्रस्तावमा छलफल नै हुन सक्दैन भन्दै कड्किएको स्रोतले बतायो । ‘प्रधानमन्त्री राष्ट्रपतिको कदमबारे छलफलै हुन सक्दैन भनेर आक्रोशित हुनुभयो,’ स्रोतले भन्यो, ‘तर, प्रचण्डले दलगत अडान भए पनि छलफल गर्न छाड्न नहुने बताउनुभयो ।’
स्रोतका अनुसार प्रचण्डले दलका अडान भए पनि सहमतिको विकल्प नभएको बताएका थिए । बैठकमा प्रचण्डले भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउनु उपयुक्त हुने प्रस्ताव गरेका थिए । तर, कांग्रेस एमालेले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

प्रतिक्रिया