संसार र जगत्को भिन्नता

सिद्धार्थ गौतम बुद्ध एक दिन रथमा बसेर नगर घुम्दै थिए । उनले एकजना हृष्ट–पुष्ट जवान व्यक्तिलाई देखे । केही समयपछि अर्को व्यक्ति उनको नजरमा पर्‍यो जो एकदम असहाय कमजोर र वृद्ध थियो ।
सिद्धार्थले सारथीसित सोधे– यो के हो ? सारथीले जवाफ दियो– एकजना वृद्ध व्यक्ति हो ।
सिद्धार्थले यस्तो कमजोर र वृद्ध मानिस कहिल्यै देखेका थिएनन् । उनले एक्काइस वर्षको पूरा जीवन राज महलको ऐश्वर्य र सुखमा व्यतित गरेका थिए । आफ्नो महलबाट बाहिर आएको उनको यो पहिलो अवसर थियो । आश्चर्यचकित हुँदै उनले फेरी प्रश्न गरे– तिमीले भनेको यो वृद्धको तात्पर्य के हो ?
सारथीले भन्यो– उमेर ढल्किँदै जान्छ, रोगका कारण शरीर ढल्दै गएपछि व्यक्ति वृद्ध हुन्छ । जुनसुकै युवा पनि एक दिन अवश्य नै बूढो हुन्छ ।
तब के म पनि बूढो हुन्छु ?– सिद्धार्थले हतप्रभ हुँदै सोधे ।
रथ अगाडि बढ्यो । अलिपरतिर केही व्यक्ति एउटा शवलाई काँधमा बोकेर जाँदै थिए ।
सिद्धार्थले सोधे– यो के हो ? यसलाई कहाँ लैजाँदै छन् ?
‘जलाउन’
किन ?
‘किनभने बूढो भएर अब यसको मृत्यु भयो’ सिद्धार्थले आश्चर्य हुँदै सोधे– अनि के मरेपछि व्यक्तिलाई जलाइन्छ ?
हो, जलाइन्छ, अरू कुनै तरिका नै छैन ।
म मरेपछि…… तब के हुन्छ ?
के हुन्छ ? सांसारिक परम्परा अनुसार तपाईंको देहलाई पनि जलाइन्छ ।
यसबाट बुद्धलाई ठक्कर लाग्यो । त्यसै बखत उनले प्रतिज्ञा गरे
– मेरो यस प्रकारको मरण हुने छैन, म आफ्नो जीवनलाई यसरी व्यर्थ जान दिने छैन, म जीवित रहने छु, जाग्रत अवस्था प्राप्त गर्नेछु । यो एकै ठक्करबाट बुद्धलाई चेतना आयो । यसको परिणाम हो आज संसारका एक्काइस देशमा बौद्ध धर्म जीवित छ, बुद्धत्व अमर भएको छ । यो सब एकै व्यक्तिको प्रयासले भएको हो ।
यस्तो अवस्थामा पुग्ने एउटै उपाय हो गुरुद्वारा कठोर परीक्षा । हुन सक्दछ तिमीलाई जीवनमा ठक्कर लागोस्….. र, गुरुको चाहना हुन्छ यस्तो तुरुन्तै होस् । किनभने तबमात्रै शिष्यले थाहा पाउने छ, आफ्नो जीवनको वास्तविक लक्ष, वास्तविक उद्देश्य– कुण्डलिनी जागरण ।
गुरु चाहन्छन्– शिष्य दिव्यताको यही मार्गमा अग्रसर होउन् । यस मार्गमा तिमीलाई बूढ्याइँले दु:ख दिने छैन, मृत्युले तिम्रो निकट आउने साहस नै गर्ने छैन । तिम्रो जीवन श्मशानमा गएर खाग हुने छैन । यो क्रिया, यो पथलाई तन्त्र भनिन्छ जसको सहायताले मनुष्य प्रकृतिका साथ सामञ्जस्य स्थापित गरेर एकात्ममय हुन पुग्छ ।
जब उसले प्रकृतिको मूल स्वरूपलाई बुझ्दछ, अनि साधक बन्दछ, अनि ऊ, शिव बन्नजान्छ ….. र यस्तै शिष्यलाई सही अर्थमा साधक बन्न सकोस् प्रकृतिमय बन्न सकोस् भनेर सद्गुरुबाट आशिर्वाद प्राप्त हुन्छ ।
गुरु नै सफलताका स्रोत हुन् । साधक र प्रकृति एकै हो भन्ने पनि बुझ्यौँ । तर, एक अर्को प्रश्न पनि हाम्रा सामु उपस्थित हुन्छ– भौतिक जगत्मा रहेर हामीले कुन तरिकाबाट प्रकृतिलाई आत्मसात् गर्ने । यसको उत्तर वायुपुराणबाट प्राप्त गर्न सकिन्छ । मैले भनिसकेँ– तिमीहरू निन्द्रावस्थामा नै रहन्छौँ । स्वप्नलाई सत्य मानेर सहभागी हुने व्यक्ति जस्तै तिमीहरूका सारा क्रियाकलाप त्यसरी नै चलिरहन्छ ।
जागार्ति वै तत् जगत् ।।
अर्थात् जाग्रत व्यक्ति मात्रै जगत्मा रहन सक्तछ । जगत्को अर्थ हो– दुनियाँ, यसको अर्को अर्थ पनि छ– जाग्रत अवस्था, यसको तात्पर्य हो– निन्द्रामा लीन व्यक्ति जगत्मा रहन सक्दैन ।
यस दुनियाँ बुझाउने अर्को शब्द पनि छ– संसार । संसार शब्द दुईवटा शब्दको संयोगले बनेको छ– सम् ं सार । यसको अर्थ हो जुन अवस्था मेरो प्रकृति अनुरूप छ, त्यही संसार हो । कामुक छ भने उसलाई सुन्दर स्त्री हेर्ने इच्छा हुन्छ, किनभने स्त्री सौन्दर्य उसको प्रकृति अनुरूप छ । त्यसैले त्यही नै उसको संसार हो । संसारमा अरू बस्तु पनि हुन सक्दछ तर, जुन उसको प्रकृतिको समरुप छ, त्यसमा उसलाई प्रसन्नता अनुभव हुन्छ । यसैले उसलाई त्यसै वस्तुमा सारको अनुभव हुन्छ । यस प्रकार ‘सम’ यानि अनुकूलता र ‘सार’ यानि पूर्णता मिलेर उसको लागि संसार बन्दछ ।
तर, यहाँ मैले संसार होइन जगत् शब्द प्रयोग गरेको छु । दुवैको शाब्दिक अर्थ दुनियाँ नै हो । तर, संसार– भ्रम, माया, निन्द्राको अवस्था हो, जगत जाग्रत अवस्थाको परिसूचक हो ।
अनुवाद: शिव ढकाल
तन्त्र–मन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

 

प्रतिक्रिया