रामायण, महाभारत र बाइबल

सिंगो पुस्तकका रूपमा मैले सबैभन्दा पहिला आफूले बुझेर पढेको कुन किताब हो, त्यसलाई सम्झिनुभन्दा पनि पहिले म ती कथाहरूलाई सम्झन्छु जसलाई बाल्यकालमा मेरो घर बस्तीपुरमा आएर मलाई ईश्वर बरालकी आमाले सुनाउने गर्नुहुन्थ्यो ।
वास्तवमा कथाको प्रतिपादन नै केटाकेटीलाई फकाउन–फुल्याउनका लागि भएको जस्तो लाग्छ मलाई । यस अर्थमा बालक हुँदा सुनिएका ती कथा नै मैले पढेको प्रथम किताब भनेर भन्न मलाई आपत्ति छैन । तथापि ती कथा अक्षर–ज्ञान भएर पढिएका थिएनन् । सम्भवत: म २–३ कक्षामा पढ्दाताका भने घरमा रहेको ‘स्वस्थानी व्रतकथा’ पढेको थिएँ । यसै समयबीच मेरो घरमा कुलचन्द्र गौतमद्वारा अनूदित तुलसीदासको ‘रामायण’ २–३ प्रति किनेर राखिएको रहेछ । झन्डै ८–१० कक्षामा पुगिसक्दा मलाई सम्पूर्ण रामायण नै करिब कण्ठै जस्तो भइसकेको थियो ।
त्यस्तो त हाम्रो घरमा किताबहरूको अभाव थिएन । मलाई सम्झना छ, त्यही उमेरमा मैले डायमनशमशेरको ‘वसन्ती’ पढेको थिएँ । गाउँको स्कुलमा रहँदाका समयमा पढेको त्यो उपन्यासको कथावस्तु अहिले पनि ताजै छ मेरो मानसपटलमा ।
प्रवेशिका उत्तीर्ण गर्दासम्म म गतिला किताबको भोगी भइसकेको थिएँ । जब ०१८ सालमा प्रवेशिका पास गरेँ, त्यतिखेर मेरो उमेर १४ वर्षको थियो । खास गरेर भारतीय सीमाबाट हल्काराले चिठ्ठीपत्रबाहेक हिन्दी पत्रपत्रिकाहरू पनि लिएर आउँथे, साथै कहिलेकाहीँ फेरिवाला जस्ता पुस्तक बेच्नेहरू पनि आउँथे । यता, पाठशालामा भारत र विशेष गरेर विहार क्षेत्रका शिक्षकहरू प्रायश: थिए । उनीहरूकै लहैलहैमा लागेर मैले फेरिवालासँग केही पुस्तक किनेको थिएँ । त्यतिबेला ती किताबका लागि २–३ रूपैयाँ खर्चिएको हुनुपर्छ मैले । संयोग † ती किताबमध्ये ‘टोल्स्टाय’ लेखिएको एउटा किताब रहेछ त्यहाँ । टोल्स्टाय को हुन् ? मलाई थाहा थिएन । किताबको नाम मलाई याद छ–‘इशाके सिखावन’ । पैसा परेको किताब थियो, बडो जतनसाथ अन्धाधुन्ध पढियो । वास्तवमा ‘इशा’ नै को थिए, मलाई जानकारी थिएन । तर, त्यही पुस्तकको सहायताले प्रवेशिका उत्तीर्ण गर्दा नगर्दै इशा मसिहाबारे थाहा पाउने भइसकेको थिएँ ।
केटाकेटीमै पढिएकाले हो कि कुन्नि, ‘रामायण’ र ‘बाइबल’ मेरा लागि आज पनि बडो प्रिय छन् । पछि यसमा ‘महाभारत’ पनि मिसियो । दन्त्यकथाझैँ पौराणिक ती कथाका प्रत्येक पात्रले मेरो त्यो किशोर मस्तिष्कमा निकै प्रभाव पारे । एक किसिमले म ती पुस्तकहरूको ‘फ्यान’ नै भएँ ।
मैले प्रवेशिका परीक्षा दिएको वर्ष मेरा पिताजी (मित्रलाल गिरी) राजनीतिक कारणले स्वदेशबाट निर्वासित हुनुभयो । सीमापारि भारतमा जयनगर भन्ने सानो बजार थियो, त्यहीँ बस्न लाग्नुभयो । जब प्रवेशिका परीक्षा सकियो म पनि त्यहीँ पुगँे ।
त्यतिबेला भारतको साहित्य जगत् आन्दोलित भएको अवस्था थियो । ‘नई कहानियाँ’, ‘धर्मयुग’, ‘सारिका’ जस्ता पत्रपत्रिका जयनगरमा भेटिन्थे । यता नेपालमा त्यतिखेर ‘रूपरेखा’ नियमित हुने प्रक्रियामा थियो । २–३ वर्षसम्म म तिनै पत्रिकाको सेरोफेरोमा साहित्यिक दृष्टिकोणले हुर्किंदै गएँ । तर, देशको राजनीतिक परिवेश र आफ्नै घरमा समेत परेको त्यो वातावरणको उच्च प्रभावले मलाई पनि अछुतो रहन दिएन । हठात् म पनि राजनीतिमा होमिएँ ।
राजनीतिमा होमिइसकेपछि मेरो पढाइ र अध्ययनको पारा पनि फेरियो । राजनीतिक घटनालाई अध्ययन नगरी हँुदै भएन, तसर्थ त्यतिबेलाको राजनीतिक उथुलपुथलका बीच इतिहास र राजनीति शास्त्रहरू कोट्याउन लागेँ ।
तर, आज एक पूर्णकालीन राजनीतिक व्यक्ति बनिसकेको अवस्थामा पनि पढाइको दृष्टिकोणले साहित्य र संस्कृति नै मेरो प्रमुख अभिरुचिको विषय रहेको छ । ज्यादातर मैले किताब पढ्नुको कारणलाई यही अभिरुचिले पुष्टि गर्छ । कसैले केका निम्ति पढ्नुहुन्छ भनेर अचानक जिज्ञासा राख्ने हो भने मेरो जवाफ यही हुन्छ कि म नितान्त व्यक्तिगत रुचिका कारणले पढ्छु । कुनै उपलब्धिका निम्ति भन्दा पनि आफ्नो मन शान्त, शुद्ध र स्पष्ट राख्नका
लागि पढ्छु । आफ्नै मनको तुलबुल हटाउनलाई पढ्छु ।
राजनीतिको दीर्घकालीन लक्ष्यबारे मलाई कुनै आशंका छैन । त्यसैले त्यस विषयमा नजाऊँ । तर, साहित्यकै विषयमा केन्द्रित हँुदा म, आफैँ पनि साहित्यको विद्यार्थी नै हँु भन्ने लाग्छ । अन्य विषयका किताबको सन्दर्भमा म ज्यादातर गान्धी र माक्र्समा केन्द्रित रहेर अध्ययन गर्ने गर्छु । माक्र्सका सिद्धान्तका प्रयोक्ताका रूपमा मैले लेनिनबारे सम्भवत: अधिकांश किताब पढेको हुँला । किताबै पनि लेखेको छु । माक्र्स–लेनिनबारे मबाटै प्रशिक्षित धेरैजना आज देशका राजनेता (?) बनिसकेका छन् । यो भिन्नै कुरा हो कि तिनले माक्र्स–लेनिनलाई बुझेर या बुझ पचाएर अपव्याख्या गर्दै हिँडेका छन् । यो देख्दा मलाई नेपालको राजनीतिप्रति एक किसिमको वितृष्णा जाग्छ ।
म नख्खु जेलमा रहँदा मेरा काका पञ्चायतका नेता डा. तुलसी गिरीले मलाई एउटा पुस्तक दिनुभएको थियो । इशा ड्युसरले लेखेको त्यो टल्स्कीको जीवनी मेरो राजनीतिक जीवनको आँखै उघारिदिने कृति थियो । त्यो पुस्तकले मलाई लेनिनको पहिलो वास्तविक (?) परिचय दियो । समयान्तरमा लेनिनको विरोधमा अन्य धेरै पुस्तक पढेँ । तर, ती कुनै पुस्तकले मलाई छोएनन् । पछि गएर लेनिनबारे लेखिएका अरू दुईवटा गतिला पुस्तक पढँे । जसमध्ये लेभिनद्वारा लिखित ‘लेनिन: लास्ट स्ट्रगल’ एउटा थियो ।
अब त पुस्तकको जमाना विस्तारै हराउँदै गएजस्तो लाग्छ । पुस्तकको स्थान ‘आइप्याड’ जस्ता अत्याधुनिक विद्युतीय उपकरणको प्रयोगले ओगटिसकेका छन् । हुन पनि समयअनुसार ती अति नै उपयोगी सिद्ध भइसकेका छन् । म पनि कहिलेकाहीँ प्रयोग गर्ने गर्छु ।
एकताका मेरो दिमागमा रोजा लक्जम्बर्गको भूत चढेको थियो । त्यतिखेर म ग्रेजुएसन (बिए) गर्दै थिएँ । रोजाको पुस्तक भारतमा पाइँदैनथ्यो, विदेशमा पनि मुस्किलले पाइने । तर, विदेश जाने भन्ने कोही आफन्त थाहा पाउनासाथ तिनलाई रोजाका पुस्तकहरूको सिफारिस गरिहाल्थेँ । यसै समयबीच नर्वे निवासी मेरा भिनाजु हान्सले रोजाका केही कृति मलाई उपलब्ध गराइदिनुभयो ।
यी साहित्यइतरका पुस्तकका चर्चा अरू बेला गरौँला । अहिले मलाई भन्न मन लागेको विषय खासमा साहित्य नै हो । विशेषत: नेपाली साहित्यमा मेरो पढाइको थालनी डायमनशमशेरको ‘वसन्ती’ बाट भएको भनेर त माथि नै भनिसकियो । लगत्तै मैले विजय मल्लद्वारा लिखित ‘अनुराधा’ भेटेँ । आज ती दिन सम्झँदा मलाई एक किसिमको रोमाञ्चकता पैदा हुन्छ । हाम्रै गाउँकी एउटी दिदी विजया बराल (ईश्वर बरालकी बहिनी) ०१७ सालमा पञ्चायतविरुद्ध कालो झन्डा प्रदर्शन गरेबापत शैलजा आचार्य, गौरी राणा, कुन्दन शर्मासँगै काराबासमा पर्नुभएको थियो । पछि जेलबाट छुटेपछि जब उहाँ बस्तीपुर आउनुभयो तब ‘अनुराधा’ उपन्यास उहाँको साथमा थियो । मैले उहाँबाटै त्यो उपन्यास लिएर पढेँ । त्यो पुस्तकलाई मैले अत्यन्तै मन पराएँ । अन्यथा तिनताका म हिन्दी उपन्यासकै प्रेमी भइसकेको थिएँ । हिन्दी उपन्यासकार यशपाल, प्रेमचन्द, उपेन्द्रनाथ अश्कदेखि लिएर राजेन्द्र यादव, कमलेश्वरलगायत धेरै मेरो प्रिय लेखकका रूपमा मभित्र जमिसकेका थिए ।
त्यही समय हो जब काठमाडौंको पब्लिक साइन्स कलेजमा मेरो एड्मिसन भएको थियो, मलाई त्यहाँ मनको इच्छाविरुद्ध भर्ना गरिएको थियो भन्दा कुनै अत्युक्ति हुँदैन । तर, मैले आफ्नो इच्छाविपरीतको भर्नाबापत बदला नै लिएजस्तो गरेँ । सम्भवत: एक दिनभन्दा बढी म कलेज गएको मलाई सम्झना छैन । कलेज जाने बहानामा म नेपाल–भारत मैत्री संघको पुस्तकालयमा जाने गर्थें । फलामे सिँढी चढेर माथिल्लो तलामा उक्लनुपथ्र्यो, वसन्तपुरमा । भेटिएजति सबै हिन्दी साहित्य मैले त्यही पढिसिध्याएँ । मलाई मात्रै होइन, धेरै साहित्यनुरागीलाई त्यो पुस्तकालयले मलाई जसरी नै पढाएको थियो । अहिले, धेरै वर्षअघिदेखि त्यो पुस्तकालय तत्कालीन आरएनएसी (हालको एनएसी)को बिल्डिङमा आएर बसेको छ ।
पुस्तकप्रति मोह भएकै कारण खासै म कुनै पनि विषयको छनोट गरेर पढ्ने गर्दिनँ । यद्यपि, आख्यान–उपआख्यान भने मलाई विशेष प्रिय छ । आख्यानको प्रेमले गर्दा रुसी र प्रेmन्च लेखकका कथा–उपन्यासप्रति विशेष चाख राख्छु । चेखवका कतिपय कथा मैले दोहोर्‍याइ–तेहर्‍याई अनेकौँ पटक पढेको छु । दुर्भाग्यवश नेपाली भाषामा ती कथाहरूको राम्रा अनुवाद छैनन् । अन्यथा, चेखवको ‘लेडी विथ अ डग’ र ‘डार्लिङ’, बाल्जाकको ‘पेरोगोरिया’ र ‘फेर बेल’, टल्सटोयका वृहतकाय उपन्यास सम्पूर्ण सबैले पढ्नै पर्ने कृति छन् ।
युरोपका यति कुरा गरिसकेपछि नेपाली साहित्यको पनि कुरा गर्नै पर्ने हुन्छ । यताका पुस्तकमा मैले बिपी र पारिजातको नाम छाडेँ भने आफैँमाथि अन्याय गरेको ठहरिन्छ । केशवराज पिँडालीको ‘एकादेशकी महारानी’ एक रोचक कृति छ । त्यसमा राजकुमारी नै भए पनि महिलाको पीडालाई प्रेषित गरिएको छ । महिलाकै विषयमा बिपीको ‘तीन घुम्ती’ मा पनि बहस छ । तर, कथातत्त्वको अभाव छ । कथानक बलियो भएका कथामा भने पुष्करशमशेरको ‘लोग्ने’, देवकोटाको ‘तिज’ उत्कृष्ट लाग्छन् मलाई । पारिजातको ‘शिरीषको फूल’ बेजोडको उपन्यास छ । म स्वयंले त्यस उपन्यासबारे आलोचना लेखेको थिएँ । तर, मेरो आलोचना त्यतिबेला पारिजातको उपन्यासभन्दा पनि त्यसको भूमिकामाथि केन्द्रित थियो, जसको भूमिका शंकर लामिछानेले लेखेका थिए ।
भूमिकाकै प्रसंग उठाउँदा ‘तरुण तपसी’को भूमिका बालकृष्ण समले बडो बिचित्र ढंगले लेखेको सम्झना आउँछ । यस दृष्टिले सम र लामिछाने दुवै उच्चकोटिका बौद्धिक थिए । दुवैले सम्बन्धित कृतिलाई बुझ्ने क्रममा अनौठो कुरा लेखेका छन् । खास गरेर कविता क्षेत्रमा तिनताक ठूलो अन्योल थियो । मोहन कोइराला अत्यन्त ठूला कवि मानिन्थे । मेरा श्रद्धेय गुरु ईश्वर बरालले मोहन कोइरालाका कविताहरूमा टिएस इलियटका छाया देख्नुहुन्थ्यो । गुरुको प्रभावमा परेर मैले पनि मोहन कोइरालाका कवितालाई अथ्र्याउने कोसिस गरेको थिएँ । कोइरालाका कृतिलाई अथ्र्याउने जमर्को गर्दा मैले फ्रान्सका कवि बम्बेयर, बर्लेन, रेम्बो र पार्ललाई समेत उल्लेख गरेको थिएँ । मेरो लेख ‘रहर’ भन्ने पत्रिकामा छापिएको थियो । तर, अहिले त्यो पढ्दा मलाई संकोच लाग्छ । तथापि, बीसको उमेर पनि नटेकी लेखिएको लेख हो भनेर चित्त बुझाउँछु । मुख्य कुरा त अंग्रेजीमा अनुवाद गरिएका फ्रान्सेली कवितालाई बुझ्ने कुरा पनि भएन । दोस्रो, अझ मोहन कोइरालालाई कहाँबाट बुझ्ने ? आज पनि मोहन कोइरालालाई पढ्दा अँध्यारो कोठामा हँुदै नभएको बिरालो खोजेजस्तो हुन्छ मलाई । उनका ५–६ वटा कविता त मलाई पनि कण्ठस्थै छ ।
महान् कृतिहरू सर्वसाधारणका निमित्त पनि पठनीय हुन्छन्, ‘रामायण,’ ‘महाभारत’ र ‘बाइबल’ जस्तै । फरक यति मात्रै हो कि उमेर र अनुभवका साथ मान्छेले अलग–अलग अर्थ लगाउँछन् । यस हिसाबले म पनि नयाँभन्दा पुरानै लेखकको बढी प्रेमी भइआएको छु । लेखनाथ, देवकोटा, सिद्धिचरण, सम झन्झन् प्रिय भएका छन् । अहिलेकै कुरा गर्दा माधव घिमिरेले उसबेला लेखेका ‘गौरी’का कतिपय पंक्ति अत्यन्त मर्मस्पर्शी लाग्छन् । रिमाल, भूपी, काइँला पनि प्रिय छन् । गौतम बन्धुकै कतिपय रचना मलाई मन पर्छ ।
पछिल्ला पुस्ताका कविमा विमल निभादेखि विमल भौकाजीसम्मलाई रुचाउने गरेको छु । तर, यसको अर्थ अन्य कविका कविता रुचाउँदै रुचाउँदिनँ भन्ने होइन । आफूलाई मन परेका कविता किटेरै पनि भन्न सक्छु । अहिले त्यतापट्टि नजाऊँ । यद्यपि, अहिले नेपालीमा खासै गतिलो कविता देख्दिनँ । कहिलेकाहीँ ‘गरिमा’ र ‘मधुपर्क’ किन्ने गरेकै छु । विमल भौकाजीले ‘शारदा’ को पुनप्र्रकाशन थाल्नुभएको थियो । त्यसमा केही साहित्यिक लेख (टिप्पणी) पनि लेखेँ । द्वारिका श्रेष्ठ, मदन रेग्मीजस्ता एक जमानामा कहलिएका कविहरूका काव्य प्रवृत्तिबारे लेखिएका उक्त लेखमाथि आजको आधुनिक कविताको अध्ययन नै नगरी लेखिएको भनेर प्रतिक्रिया पनि आएको थियो । वास्तवमा, जति प्रयास गरेर खोजे पनि अचेलका कवितामा म शास्त्रीय कविताका मिठास भेट्दिनँ । हाम्रा कवितामा संघर्षको अनुभवभन्दा पनि अनुकरणको परिणति ज्यादा बलियो छ जस्तो लाग्छ ।

प्रतिक्रिया